पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदमा बन्दी बनाइएका भारतीय वायुसेनाका विङ्ग कमान्डर अभिनन्दन वर्तमानलाई शुक्रबार भारतलाई सुम्पने घोषणा गरेका छन् ।

इमारानले पाकिस्तानले शान्तिको सन्देश दिनका लागि यो कदम उठाएको बताएका छन् । यसअघि भारतले पाकिस्तानलाई बिना शर्त अभिनन्दनलाई रिहा गर्न माग गरेको थियो ।

पाकिस्तानले भारतको मिग २१ लडाकु विमानलाई बुधबार खसालेको थियो । जसमा अभिनन्दन पक्राउ परेका थिए ।

यसअघि, पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरेशीले जिओ टिभीसँगको अन्तरवार्तामा पाकिस्तानी प्रधानमन्त्री इमरान खान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ताका लागि तयार रहेको बताएका थिए ।

पाकिस्तानी प्रधानमन्त्रीले के भने

पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘भारतीय पक्षबाट पाकिस्तानी इलाकामा गरेको वम बर्षाका कारण कुनै मानवीय क्षति वा भौतिक संरचना भएको सूचना पाएका छैनौँ । त्यसैले बदलामा आक्रमण गर्ने सोच राखेनौं ।’ पाकिस्तानी प्रधानमन्त्री खानले भारत सरकार खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमाथि आक्रमण गर्नुको आशय आउँदै गरेको निर्वाचनको नतिजालाई आफ्नो पकडमा पारेको दावी गरे ।

प्रधानमन्त्री खानले भने, ‘भारतीय काश्मिरी जनता पाकिस्तानसँग विवाद गर्न नचाहेपनि पाकिस्तान विरोधी ‘सेन्टिमेन्ट क्याच’गर्न राजनीतिक नेतृत्वले पटक पटक समस्या ल्याएको जानकारी मैले पाएको छु ।’

उनले भारतले पाकिस्तानी भूमिमा धावा खेलेको आफूहरूले हेर्न नसक्ने बताउँदै भने, ‘यदि भारतले एक्सन लिन्छ भने यसको प्रतिकार गर्नु पाकिस्तानको निर्विकल्प उपाय हो ।’

उनले सदनलाई सम्बोधन गर्ने क्रममा भने, ‘म यसै प्लेटफर्मबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई आह्वान गर्न चाहन्छु कि विवादलाई अगाडी नबढाऊँ । तर यसलाई भारतले पाकिस्तानको कमजोरी नसोचोस् ।’