वृद्धभत्ताको सुरुवात गर्ने पुर्ब अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

वृद्धभत्ताको सुरुवात गर्ने पुर्ब अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १८ गते शनिवार ०९:३२

काठमाडौं– पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ। तीन सातादेखि राजधानीको ह्याम्स अस्पतालमा उपचाररत अधिकारीको शनिवार साँझ निधन भएको अस्पतालमा रहेका अधिकारीका सहयोगी महेश विष्टले जानकारी...

काठमाडौं– पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ। तीन सातादेखि राजधानीको ह्याम्स अस्पतालमा उपचाररत अधिकारीको शनिवार साँझ निधन भएको अस्पतालमा रहेका अधिकारीका सहयोगी महेश विष्टले जानकारी दिए। अस्पतालले पनि अधिकारीको निधनको औपचारिक घोषणा गरेको छ। अस्पतालद्वारा जारी विज्ञप्तिमा अधिकारीको ९ बजेर ३५ मिनेटमा निधन भएको उल्लेख छ। अधिकारीको १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

अधिकारीको स्वास्थ्य अवस्थामा विग्रिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिवार साँझ ह्याम्स अस्पताल पुगेका थिए। उनले पनि अधिकारीको स्वास्थ्य अवस्था गम्भीर रहेको र कति घण्टासम्म जिवित रहनुहुन्छ भन्ने एकिन नभएको चिकित्सकले जानकारी गराएको बताएका थिए। 

अधिकारीको उपचारमा संलग्न डाक्टर हेमराज पनेरुले यसअघि अपराह्न पत्रकार सम्मेलन गरेर स्वास्थ्य निरन्तर खस्किँदो रहेको र महत्वपूर्ण अंगले काम गर्न छोडेको बताएका थिए। अधिकारीले २४ घण्टादेखि पिसाब नगरेको बताउँदै बचाउन सक्ने सम्भावना न्यून रहेको डा पनेरुको भनाई थियो।

अधिकारीको फोक्सो र मुटुमा समस्या थियो। उनी निमोनियाबाट पनि ग्रसित थिए। 
गत पुस २३ गतेदेखि अस्वस्थ बनेका अधिकारीलाई सुरुमा ललितपुरको मेडिसिटी अस्पतामा भर्ना गरिएका थियो। थप उपचारका लागि धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल लगिएको थियो। उनको स्वाथ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। पूर्व उपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वासलगायतका समस्या देखिएका थिए ।

को हुन भरतमोहन अधिकरी

बि. स. १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मेका भरतमोहन अधिकारी पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ  हुनुहुन्छ ।

चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरिसक्नुभएका नेता अधिकारीलाई ‘बुढाबुढीलाई भत्ता दिने’ र ‘आफ्नो गाउँ आफैँ बनाऔँ भन्दै गाउँमा बजेट पठाउने’ नेताका रुपमा पनि चिनिन्छ ।

२०५१ सालमा एमालेको नौ महिने शासनका अर्थमन्त्री अधिकारीले पहिलोपटक जेष्ठ नागरिकहरुलाई वृद्धभत्ता दिने र  ‘गाउँ–गाउँमा सहकारी घरघरमा रोजगारी’ कार्यक्रम सुरु गर्नुभएको थियो  । २०१८ सालदेखि कोशी प्रान्तीय कमिटीको सचिव बनेर कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका अधिकारी तेस्रो महाधिवेशनबाट पोलिटब्यूरो सदस्य निर्वाचित हुनुभएको थियो ।

उहाँलाई तत्कालीन माले र माक्र्सवादीलाई एकीकरण गराएर एमाले बनाउने नेताका रुपमा पनि  चिनिन्छ । अधिकारीकै पहलमा सात वटा वाम घटकहरु एक भएर संयुक्त वाम मोर्चा निर्माण गरेपछि २०४६ सालमा पञ्चायतविरुद्धको आन्दोलन सफल भएको थियो । 

२०६१ सालमा उप्रधानमन्त्री रहेकै बेला पूर्व राजा ज्ञानेन्द्रले कु गरेपछि उहाँ पक्राउ परेर ३ महिना घरमै नजरबन्दमा बस्नुभएको थियो । स्वर्गीय अधिकारीले २०७१ को महाधिवेशनबाट पार्टीको कुनै पनि जिम्मेवारी नलिने गरी स्वैच्छिक अवकाशको घोषणा गर्नुभएको थियो । 

वृद्ध भत्ताको सुरुवात

अधिकारी तीनै हुन्, जसले ०५२ सालमा पहिलो कम्युनिस्ट सरकार हुँदा बुढाबुढीलाई भत्ता दिन सुरु गरेका थिए । त्यसबेला १०० रुपैयाँबाट सुरु भएको थियो ।

०५१ मंसिर १४ गते तत्कालीन एमाले नेता मनमोहन अधिकारीको नेतत्वमा अल्पमतको सरकार बनेको थियो । अधिकारी प्रधानमन्त्री बनेको भोलिपल्ट भरतमोहन अर्थमन्त्री भए । ११ गते बजेट ल्याए, जसमा आफ्नो गाउँ आफैं बनाउँ भनेर हरेक गाविसलाई ३ लाख बजेट छुट्याइएको थियो ।

२०५२ असारमा अधिकारीले अर्को बजेट ल्याए, जसमा बृद्धभत्ताको शुरुवात गरिएको थियो । अहिले दुई हजार छ ।

बि.स. २०७४ को चुनावमा वाम गठबन्धनले ५ हजार पुर्‍याउने प्रतिवद्धता जनाएको थियो । तर, केपी शर्मा ओली सरकारले पहिलो वर्षको बजेटमा बृद्धभत्ता नबढाएको भन्दै आलोचना समेत हुन गरेको थियो । अधिकारी स्वयंमले समेत बृद्धबृद्धालाई ढाँटेको भन्दै असन्तुष्टि जनाएका थिए ।

अधिकारीले आफ्नो गाउँ आफैं बनाऔं अभियानका लागि २०५१ मा बजेट छुट्याएका थिए । अर्थतन्त्रको सबै स्वामित्व राज्यले लिनु पर्छ भन्ने एकथरी र सबै बजारलाई नै छाडिदिनु पर्छ भन्ने अर्काेथरी विचारधारको बीचबाट अधिकारीले राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थनीति अंगिकार गर्नुपर्ने मत अघि सारेका थिए ।

प्रकाशित मिति २०७५ फाल्गुण १८ गते शनिवार ०९:३२
प्रतिक्रिया दिनुहोस