काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा सिके राउतका समर्थकले लगाएको नाराकै कारण उनीमाथि सरकारले आशंका नगर्ने बताएका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीसँग बिहान बालुवाटारमा जनकपुर घटनाबारे कुराकानी गर्ने सन्दर्भमा प्रधानमन्त्रीले सो कुरा स्पष्ट पारेका बताए।

 

 

‘जनकपुरमा हिजो भएको  कतिपय प्रस्तुतीबाट प्रश्न बनेको छ। मेरो आज प्रधानमन्त्रीसँग यो विषयमा छलफल भएको थियो। के भएको हो जनकपुरमा भनेर’, प्रचण्डले पोखरामा पत्रकाहरूसँग भने, ‘व्यवहारिक रूपले आफ्नो समूहलाई भएको सहमतिबारे बुझाउने समय प्रक्रियाका कारणले त्यस्तो भएको हो। सरकारलाई कुनै आशंका छैन भनेर प्रधानमन्त्रीले जवाफ दिनु भएको छ।’ आइतबार राउत जनकपुर पुग्दा कार्यकर्ताले स्वतन्त्र मधेशको नारा लगाएका थिए। उनीहरूले जनमत संग्रह माग गरेका थिए।

 

 

प्रधानमन्त्रीले सिके राउतसँग आफ्नो तुलना नगरेको भए हुन्थ्यो भन्ने आफूलाई लागेको प्रचण्डले बताए। ‘पहिला पनि उहाँले तराई मधेसको आमसभामा बोल्नु भएको थियो। मेरा नाम लिएर नेपालमा असाधारण निर्णय क्षमता भएको युद्ध पनि गर्न सक्ने शान्ति पनि गर्न सक्ने लोकतन्त्रको अभ्यास पनि गर्न सक्ने देशको नेतृत्व पनि गर्न सक्ने व्यक्ति त्यस्तो एकमात्रै उहाँमात्रै हो भनेर बोल्ने गर्नुहुन्थ्यो’, प्रचण्डले भने, ‘अस्ति पनि मूलधारमा आउने निर्णय गरेको सन्दर्भमा गरेको निर्णयलाई लिएर मतिर हेरेरै भनि हाल्नुभयो। नभनेको भए पनि हुन्थ्यो भन्ने एउटा कुरा भयो। किनभने तुलनाहरू सबै लंगडो हुन्छ क्या। तुलना चाहिँ ठ्याक्कै भन्ने हुँदैन।’

 

 

उनले तुलना नगरेको भए उचित हुने भए पनि तुलना गर्दा केही नबिग्रिएको बताए। प्रचण्डले सिके राउतसँगको सहमतिले तराईमा बढ्नसक्ने पृथकवादी आन्दोलनको खतरालाई मध्यनजर गर्दै गरिएको बताए। ‘समयमा मूलधारको राजनीतिमा ल्याउन गरेको पहलको उद्देश्यमा शंका गर्नुपर्ने लाग्दैन’, प्रचण्डले भने, ‘भोलि घटनाक्रम सरकारले गरेको सहमतिविपरीत जान थाल्यो भने के गर्ने भन्ने निर्णय गर्ने अधिकार सरकारसँग सुरक्षित नै छ।’ यो खबर सेतोपाटी डटकममा लेखिएको छ ।