धनकुटा – सामान्यतया एउटा विवाहमा न्यूनतम कति खर्च हुन सक्छ होला ? अनुमान गर्न सकिन्छ कि ५० हजार, एक लाख, दुई लाख, तीन लाख । तर धनकुटा महालक्ष्मीका एक कृषकले छोराको विवाहमा दुई वटा प्लेन नै चार्टर गर्दा प्लेन र गाडी भाडामा मात्र ७ लाख ५० हजार खर्च गरेका छन् ।

महालक्ष्मी नगरपालिका–८ मुर्तिढुंगा नेता चोकका नगेन्द्र थापाले विवाहमा दुई वटा प्लेन चार्टर गरेर एकमात्र छोरा दिनेश थापाको विवाह सम्पन्न गरेका छन् । बुबा नगेन्द्र र आमा लक्ष्मीमाया कार्की थापाको एकमात्र सुपत्र २९ वर्षीय दिनेश थापाको काठमाण्डौ ठमेल निवासी प्रज्ञा सुवेदीसँग फागुन २९ गते हिन्दू परम्पराअनुसार भव्य विवाह गरिदिएका छन् ।

 

 

 

विवाहमा काठमाण्डौ जन्ती जाँदा आउँदा सीता एयर र बुद्ध एयर चार्टर गरेर ७१ जना जन्ती गएको बेहुलाका बुबा नगेन्द्र थापाले बताउनुभयो । कृषि र व्यापार व्यवसाय गर्दै आएका थापाले छोराको विवाहमा विराटनगरसम्म प्लेनमा आउँदा जाँदा र विराटनगरबाट धनकुटासम्म गाडीमा यात्रा गर्दा झण्डै ७ लाख ५० हजार खर्च भएको थापाले बताउनुभयो ।

 

 

 

थापा दम्पत्तीका एक मात्र छोरा रहेका छन् । बीएस्सी गरेका थापाका छोरा दिनेशले अहिले सुनसरी टेक्निकल कलेजमा फार्मेसीमा एमएस्सी गर्दै छन् । उनी यस वर्ष फार्मेसीमा पूर्वाञ्चल टपर पनि हुन् । यता बुहारी प्रज्ञा सुवेदी भने काठमाण्डौमा नै लक्ष्मी बैंकमा काम गर्दै आएकी छिन् । नगेन्द्र थापा अहिले पनि अलैची कृषकको नामले परिचित छन् । यो खबर उज्यालो अनलाईनका लागि सन्तोष रुचालले लेख्नुभएको छ ।