२३ पुस, काठमाडौं, आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का पाँच वर्षमा पाँच वटा घर, उपत्यकाका विभिन्न स्थानमा जग्गा,एक करोड भन्दा बढी चन्दा, सुपर मार्केटहरुमा एटीएमबाट मात्रै १ करोड ८० लाख भुक्तानी देखिएको छ ।

खड्काविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनको १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ २३ पैसा बराबर सम्पत्ति अवैध भएको अख्तियारको दाबी छ ।

५८ वर्षको उमेर हदका कारण सडक विभागबाट अवकास पाए लगत्तै तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापाको ठाडो प्रस्तावबाट राजनीतिक नियुक्तिका आधारमा २०७१ माघ १२ गते आयल निगमको प्रमुख बनेका थिए ।

आम्दानी विवरण,

सरकारले २ असोज २०७४ मा आयल निगमको भण्डारण स्थल बनाउन विभिन्न ठाउँमा जग्गा खरिद गर्दा अनियमिता गरेको भेटिएपछि खड्कालाई बर्खास्त गरेको थियो । तर, आयल निगममा साढे ३ वर्ष कार्यकारी निर्देशक रहदा अकुत सम्पत्ति आर्जन गरेको अख्तियार अनुसन्धान आयोगले खुलाएको छ ।

१. सार्वजनिक सेवामा प्रवेश गरेदेखि २ चैत २०६९ सम्म १ करोड २० लाख १३ हजार ४९९ रुपैयाँ आन्दानी ।

२. जागिरबाट अवकाश हुँदा २९ लाख २२ हजार ६९८ रुपैयाँ २८ पैसा आर्थिक सुविधा प्राप्त ।

३. पेन्सनबाट १४ लाख ७८ हजार ४८२ रुपैयाँ २४ पैसा ।

४. गाडी बिक्रीबाट ३५ लाख र विप्रेषण आयबाट प्राप्त ८ लाख २६ हजार ९१३ रुपैयाँ ५४ पैसा ।

५. छोरा बुहारीको पारिश्रमिक ११ लाख ४ हजार ३ रुपैयाँ ।

६. २ चैत २०६९ देखि अनुसन्धान अवधिसम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार १५५ रुपैयाँ ४७ पैसा ।

७. जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, घर भाडाबाट १३ लाख ५६ हजार ।

८. ५ करोड ३३ लाख ३६ हजार रुपैयाँ ऋण तथा सापटी

यो सबै जोड्दा उनको आम्दानी ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ ५३ पैसा हुने अख्तियारले जनाएको छ ।

तर, उनले २ चैत २०६९ पछि मात्र पुर्ख्यौली घरबाहेक ३ वटा घर निर्माण तथा खरिद गरेका छन् भने दुई वटा घर खरिदका लागि आंशिक भुक्तानी दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइएको छ ।

खर्च विवरण,

१. घरजग्गा खरिदमा ११ करोड ६१ लाख ४३ हजार २०६ रुपैयाँ ३१ हजार ।

२. १ करोड ६ लाख ४ हजारको शेयर किनेका उनले ऋणको सावाँब्याज भुक्तानीमा ४ करोड २२ लाअ ९६ हजार २३९ रुपैयाँ ९९ पैसा खर्चिएको ।

३. १ करोड २५ लाख ६० हजार सापटी दिएको ।

५. विभिन्न व्यक्ति तथा संस्थालाई १ करोड १७ लाख ७५ हजार चन्दा दिएको ।

६. छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा २५ लाख १४ हजार ६९५ ।

७. गाडी खरिदमा १ करोड १७ लाख ४२ हजार खर्च ।

८. एटीएमबाट सुपरमार्केटहरू १ करोड ८० लाख १६ हजार ४४६ रुपैयाँ ८२ पैसा खर्च

९. ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा उनको खाता भेटिएको, जसमा अहिले २ करोड ७१ लाख ५३ हजार ४२१ रुपैयाँ ६४ पैसा नगद मौज्दात ।

१०. सार्वजनिक सेवामा प्रवेश गरेदेखि २ चैत २०६९ सम्म गरेको खर्च तथा लगानी २ करोड २ लाख ७० हजार ३७१ रुपैयाँ ।

यो सबै जोड्दा उनल २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ ७६ पैसा खर्च तथा लगानी भेटिएको देखिएको छ ।

१८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ २३ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नखुलेको ठहर गर्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । यसका साथै परिवार तथा आफन्तहरुको नाममा समेत सम्पती देखिएको छ ।