कुनै पनि प्रजनन अंगका कोषिकाहरु अस्वभाविक रुपमा बृद्धि हुनुलाई नै महिला प्रजनन् अंगको क्यान्सर मानिन्छ । जस्तै: पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर, योनीको क्यान्सर ईत्यादी रहेका छन ।

महिला प्रजनन अंग क्यान्सरबाट बच्ने उपाय,
१. महिला प्रजनन अंग क्यान्सरबाट बँच्न र सुरुवातमा नै पत्ता लगाउन नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने ।
सुरु अवस्थामा क्यान्सर पत्ता लागे पूर्ण रुपमा निको हुन्छ, पाठेघरको श्रावको परीक्षणबाट पाठेघरको मुखको क्यान्सर हुनु १०–१२ वर्ष अगाडि नै थाहा पाउन सकिन्छ।

२. यस सम्बन्धित लक्षणहरु थाहा पाउने ।
महिला प्रजनन अंगको क्यान्सरका लक्षणहरु सुरुकै अवस्थामा देखिने हुँदा सचेत भएर नियमित परीक्षण गरायो भने सुरुकै अवस्थामै उपचार गरी पूर्ण रुपमा निको हुन सकिन्छ।

३. यदि परिवारमा कसैलाई डिम्बाशयको क्यान्सर छ भने जिनको परीक्षण गराउनु पर्दछ । यो वंशानुगत पनि हुन सक्ने हुनाले सचेत हुनु पर्दछ र जोखिम न्यूनीकरण गर्न सकिन्छ।

४. स्वास्थ्य खानेकुराहरु खाने, नियमित रुपमा व्यायाम गर्ने, समय भन्दा अगाडि र धेरै बच्चा नजन्माउने, धेरै जनासंग यौन सम्पर्क नराख्ने र परिवार नियोजनका अस्थायी चक्कीहरु लामो समयसम्म प्रयोग नगर्ने।

पाठेघरको मुखको क्यान्सर:
संयुक्त राज्य अमेरिकामा मात्र वर्षमा १२,००० नया “पाठेघरको मूखको क्यान्सर” भएका बिरामीहरु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने महिलाहरुमा
यो क्यान्सरको मुख्य कारणमध्ये भाइरस हो, जसलाई ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) भनिन्छ।

लक्षण:
सुरुमा पाठेघरको मुखको कोषिकाहरु अस्वभाविक बृद्धि हुँदा यसका लक्षणहरु नदेखिन सक्छ, विस्तारै ती कोषिकाहरु बृद्धि हुँदै गएपछि लक्षण देखिन थाल्छ।

१. यौन सम्पर्क गर्दा दुख्नु र यौन सम्पर्कपछि रगत देखा पर्नु।
२. महिनावारी सुकिसकेका महिलामा पनि रगत देखा पर्नु ।
३. गन्हाउने पानी बग्नु ।

रोकथाम :

१. नियमित रुपमा पाठेघरको श्राव परीक्षण गराउने ।
२. यो रोगको प्रमुख कारण एच.पि.भी. भाइरस भएकोले यो भाइरसविरुद्ध खोप लगाउन सकिन्छ। यो खोप कुनै पनि महिलाले आफ्नो जीवनमा यौन क्रियाकलाप सुरु हुनुभन्दा अगाडि नै लगाउनु पर्दछ।

डिम्बाशयको क्यान्सर :
महिलाहरुको उमेर वृद्धि संगै डिम्बाशयको क्यान्सरको सम्भावना बढ्दै जान्छ । बच्चा नजन्माएका महिलामा पनि यो क्यान्सर सम्भावना बढ्दै जान्छ ।

लक्षण :
यो रोग सुरुको अवस्थामा पत्ता लगाउन गाह्रो पर्ने हुनाले अरु प्रजनन अंगका क्यान्सरहरुमा जस्तै छिट्टै पत्ता लगाउन सकिँदैन । यो रोग बढी हुदै गएपछि अर्को अंगसम्म फैलन्छ अनि मात्र लक्षण देखा पर्दछ। त्यसैले यसलाई साइलेन्स किलर पनि भनिन्छ ।
१. पेट फुल्दै जानु।
२. पेटमा असहज महसुस हुनु।
३. पिसाबका लक्षणहरु जस्तै छिटा–छिटो वा धेरै पटक लाग्नु।
४. खाना खादा चाडै पेट भरिएको जस्तो हुनु।

यो रोगको लक्षणहरु पेटका साधारण समस्या संग मिल्दोजुल्दो हुने भएकोले बेवास्ता गर्न हुदैन ।

पाठेघरको क्यान्सर :
इस्ट्रोगेन हर्मोनको प्रयोग, मधुमेह, उच्च रक्तचाप, ट्यामोक्सिफेन नामक औषधिको प्रयोग र बढ्दो उमेर प्रमुख कारणहरु हुन । मोटो मान्छेको शरीरमा इस्ट्रोगेनको मात्रा जति बढ्दै गयो यस क्यान्सरको सम्भावना उत्तिकै बढि हुन जान्छ।

लक्षण :
योनीबाट अस्वभाविक रक्तश्राव भएमा सतर्कता अपनाई समयमै जँचाउनु पर्दछ । यो सुरुकै अवस्थामा नै हुने भएकोले चेतावनीको रुपमा पनि लिन सकिन्छ। जसलाई वार्निङ साइन पनि भनिन्छ।

१. योनीबाट अस्वभाविक रक्तश्राव वा महिनावारी रोकिइसकेका महिलामा रगतका थोपाहरु देखिनु।
२. महिनावारी भएको बेलामा अत्याधिक रक्तश्राव हुनु
३. महिनावारी भएको बेला बाहेक पनि रक्तश्राव हुनु।
४. योनीबाट रगत मिसिएको पानी बग्नु।
५. यौन सम्पर्कको बेला दुख्नु।
६. तल्लो पेट दुख्नु।

नेपालमा पनि महिलाहरुमा यस्ता समस्याहरु वृद्धि हुँदै गएको र मृत्यु हुने संख्याहरुमा समेत वृद्धि हुँदै गएकोले समयमा नै सचेत हुन जरुरी छ ।