प्रचण्डको आम्दानीको आधारमा अमेरिका त छोडिदिउँ नेपालको निजी अस्पतालमा समेत उपचार खर्च बेहोर्न गाह्रो पर्छ

प्रचण्डको आम्दानीको आधारमा अमेरिका त छोडिदिउँ नेपालको निजी अस्पतालमा समेत उपचार खर्च बेहोर्न गाह्रो पर्छ

इ-परेवा

@Eparewa

२०७५ चैत १५ गते शुक्रबार ०३:४७

अन्नपूर्ण पोष्ट-पत्नी सीता दाहालको उपचार गर्न प्रचण्ड अमेरिका उडेको दिन सामाजिक सञ्जालमा दुइटा फोटो भएको एउटा सन्देश भाइरल भयो। सो सन्देशमा लेखिएको थियो—सामाजिक सञ्जालमा आज देखिएका यी दुई तस्बिरले बताउने कथा यो युगकै सर्वाधिक...

अन्नपूर्ण पोष्ट-पत्नी सीता दाहालको उपचार गर्न प्रचण्ड अमेरिका उडेको दिन सामाजिक सञ्जालमा दुइटा फोटो भएको एउटा सन्देश भाइरल भयो। सो सन्देशमा लेखिएको थियो—सामाजिक सञ्जालमा आज देखिएका यी दुई तस्बिरले बताउने कथा यो युगकै सर्वाधिक शक्तिशाली कथा हो।

तस्बिर १. दुई छाक हातमुख जोर्न नपुगेपछि खाडी मुलुक हिँडेका छोरालाई विमानस्थलमा परसम्म नियाल्दै एक पिता।

तस्बिर २. पहिलो तस्बिरमा देखिएको जस्तै सर्वहारा वर्गको मुक्तिका लागि गरिएको ‘युद्ध’ का प्रमुख पुष्पकमल दाहाल पत्नीको उपचारका लागि अमेरिका जान लाग्दा बिदाइका लागि विमानस्थलमा लामबद्ध कार्यकर्ता।

 

 

 

सन्देशमा प्रयुक्त ‘युग’ शब्द अलि अतिशयोक्तिपूर्ण होला। त्यसको ठाउँमा ‘पुस्ता’ प्रयोग गर्दा अत्युक्ति हुने छैन जसले सामान्यतया २५÷३० वर्षको अवधिलाई इंगित गर्छ। ती तस्बिरले नेपाली समाज र राजनीतिको यति गहिरो विडम्बनालाई चित्रण गरेको थियो कि त्यो विडम्बनाबाट यो समाज मुक्त हुन सकेन भने आउँदो पुस्ताले पनि यो देशको रूपान्तरण देख्न पाउने छैन। हामी टिप्पणीमात्र गरेर बसिरहेका हुनेछौं।

पहिलो तस्बिरमा देखिएका कुपोषित वृद्धको अनुहार समग्र नेपालको दारुण चित्रण थियो। दोस्रो तस्बिर समग्र नेपाललाई त्यो अवस्थामा पुर्‍याउन जिम्मेवार सानो संख्यामा रहेका नेपालीको प्रतिबिम्ब थियो। प्रचण्डको बिदाइका लागि लामबद्ध ती नेपाली तुलनात्मकरूपमा राम्रोसँग खान, लाउन पाएका, पढे, लेखेका भन्न सकिने अनुहारका थिए। म पनि चाहन्छु सीता दाहालको शीघ्र स्वास्थ्य लाभ होस्। उनको जस्तो पीडा कसैले भोग्नु नपरोस्।

 

 

 

 

त्यतिमात्र होइन, प्रचण्डको मुहारमा पनि खुसी देख्न पाइयोस्। निर्दोष मान्छेहरू क्रुर ढंगबाट मारेर, परिवार बिचल्ली पारेर, देशको विकासलाई दसकौंले अवरुद्ध तुल्याउँदै, समाजमा हिंसाको संस्कारलाई संस्थागत गर्दै, गरिबभन्दा गरिब जनताको नाममा सत्तामा पुगेका र ती सबैलाई बिर्सेका प्रचण्डमा पश्चतापले यस्तो विवेक पैदा गरोस्, जसले उनको बाँकी जीवनलाई सुमार्गमा डोर्‍याओस्।

प्रचण्डको आम्दानीको आधारमा भन्ने हो भने उनलाई अमेरिका त कुरै छोडिदिउँ नेपालको निजी अस्पतालमा समेत उपचार खर्च बेहोर्न गाह्रो पर्छ। तर उनी सिंगापुरको महँगो अस्पतालमा गए। अहिले अमेरिकाको सबैभन्दा राम्रोमध्येको एउटा अस्पताल पनि गए। अमेरिका यस्तो देश हो जहाँ स्वास्थ्य बिमा नभएकाहरूका लागि स्वास्थ्य सेवा संसारमै महँगोमध्येमा पर्छ।

 

 

 

 

पहिलो कुरा त, कहाँबाट आयो प्रचण्डसँग ती सबैको बिल तिर्ने पैसा ? अनि दोस्रो कुरा, उपचारका लागि परिवारका सदस्यसहित बारम्बार विदेश जाँदा विदेशी मुद्रा कुन तरिकाबाट लगिरेहका छन् ? किनभने, नेपालबाट विदेशी मुद्रा बाहिर लैजाने कानुन कडा छ। प्रधानमन्त्री भइसकेका सत्तारुढ दलका नेतालाई यस्तो महत्वपूर्ण विषयमा प्रश्नै नसोधी देश बनाउने अपेक्षा राख्न सकिँदैन। माथिका प्रश्न अन्य नेताका हकमा पनि लागू हुन्छ।

पत्नी बिरामी भएको बेलामा यस्तो प्रश्न सोध्यो भनेर अब मलाई ‘अरिंगाल’ का झुण्डहरूले आक्रमण गर्नेछन्। भावहीन मान्छे भन्ने छन्। त्यो मलाई थाहा नभएको होइन। प्रचण्ड, र त्यो अर्थमा शेरबहादुर देउवा र केपी ओलीका अरिंगालहरूलाई पनि म निसंकोच भन्न चाहन्छु, यो देशमा लोकतन्त्र, समानता र समृद्धिका लागि लडेका सयौं नेता बिग्रनुमा तिनको जति दोष छ त्यो भन्दा बढी दोष तपाईंहरूको छ।

 

 

 

 

अनुहारमा मुस्कान र हातमा फूलको माला बोकेर प्रचण्डलाई बिदाइ गर्न जाँदा तपाईंको मनमा आएन, प्रचण्डले जे गरिरहेका छन् त्यो देशका गरिबहरूमाथिको व्यंग्य र अपराध हो भनेर ? कसैसँग आफ्नो वैध आर्थिक स्रोत छ र ऊ ‍सन्सारकै सबैभन्दा महँगो अस्पतालमा उपचार गर्न जान्छ भने पनि उसलाई केही भन्न सकिँदैन। तर, नियमित आम्दानीबाट घरखर्च पनि नचल्ने नेता सिंगापुर र अमेरिका उपचार गर्न जाँदा तपाईं फुलमाला लिएर बिदाइ गर्न जाने ? अनि देश बिग्रियो भनेर सामाजिक सञ्जालमा फलाक्ने?

पूरा पढ्नुहोस (अन्नपुर्ण पोष्टमा रबिन्द्र मिश्रको लेख)

प्रकाशित मिति २०७५ चैत १५ गते शुक्रबार ०३:४७
प्रतिक्रिया दिनुहोस