काठमाण्डौ – शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले परीक्षाअगावै प्रश्नपत्र बाहिरिनु निकै नै दुखद भएको र त्यसले गर्दा विद्यार्थीमाथि पर्न गएको असरले आफूलाई दुःखी बनाएको बताउनु भएको छ । शिक्षा मन्त्रालयमा शुक्रबार साँझ भएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले लाखौँ विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्ने काम आपराधिक काम भएकाले उनीहरुमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाउनु भएको छ ।
 
श्रृङ्खलाबद्ध रुपमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर दुईमा चैत २१ गतेसम्म सञ्चालित हुने सम्पूर्ण विषयका परीक्षाहरु स्थगित गरिएको पनि मन्त्री पोखरेलले बताउनुभयो । स्थगित विषयका अर्को परीक्षा तालिका यही महिनाभित्र प्रकाशित गरिने पनि उहाँले बताउनुभयो । २०७५ सालको चैत २२ गतेका लागि पुनः तय भएको विज्ञान विषयको परीक्षा तालिका भने यथावत नै रहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।