नेपाली युवा स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल)मा शानदार शुरुआत् गरेका छन् । दिल्ली क्यापिटल्सका सन्दीपले आफ्नो चार ओभरमा २९ रन लिदैं एक विकेट लिए । र, अर्को रन आउटमा योगदान दिए ।
सन्दीपले आफ्नो दोस्रो र खेलको ३.४ ओभरमा कोलकता नाइट राइडर्सका प्रारम्भिक ब्याट्समेन निखिल नायकलाई एलबीडब्लूको शिकार बनाए । आफ्नो तेस्रो र खेलको ९.१ ओभरमा सन्दीपको बलमा चौका प्रहार गर्ने क्रममा शुभम गिल रनआउट भए । बाउन्ड्रीमा कगिसो राबडाले उत्कृष्ट फिल्डिङ गर्दै अक्षर पटेललाई बल दिएपछि पटेलको बललाई सन्दीपले नै स्टम्प चुमाएका थिए ।
आफ्नो चौथो ओभरमा भने सन्दीप महँगो सावित भए । उनले दुई छक्का र एक चौकासँगै १७ रन दिए। सन्दीप शनिबार पहिलोपटक दिल्ली क्यापिटल्सको टिममा परेका थिए । आइपीएलको यसअघिका दुई खेलमा दिल्लीले एकमा जीत र एकमा हार बेहोरेको छ । सन्दीप टिममा परेसँगै नेपाली दर्शकमा उत्साह छाएको थियो । अघिल्ला दुई खेलमा सन्दीपलाई टिममा समावेश नगरिएकोमा क्रिकेट पण्डितहरुले समेत आश्चर्य प्रकट गरेका थिए ।
चेन्नाइसँगको खेलको समीक्षाका क्रममा अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज पनि दिल्लीले प्लेइङ ११ टोलीमा सन्दीपलाई नखेलाएको आफू छक्क परेको बताएका थिए । “सन्दीपले चेन्नईका मध्यक्रमका ब्याट्समेनको लय तोडन सक्छन्”, क्रिकइन्फोसँगको अन्तर्वार्तामा हजले भनेका थिए । अन्ततः मध्यक्रमको ब्याट्समेनकै साझेदारीले चेन्नईले जित हासिल गरेको थियो ।
प्रकाशित मिति २०७५ चैत १६ गते शनिवार ०४:३२