काठमाडौं: कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापना माग्दै हस्ताक्षर संकलन अभियान शुरु गरेको छ। राप्रपा अध्यक्ष कमल थापा अभियान शुरु गर्न मकवानपुर पुगेका थिए।
काठमाडौंमा भने वसन्तपुरमा राप्रपाका उपाध्यक्ष एवं जनसंघर्ष संयोजक बुद्धिमान तामाङले अभियानको थालनी गरे। ७७ वटै जिल्लामा आज अभियान सञ्चालन भएको राप्रपाले जनाएको छ।

 

 

 

८१ प्रतिशत हिन्दु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दबाब दिन देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरिएकाे राप्रपाले जनाएकाे छ। विश्वकै हिन्दुहरुको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनःस्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको पार्टीका नेता बुद्धिमान तामाङले जानकारी दिए।

 

 

संकलन गरिएको सो हस्ताक्षर यही चैत २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको योजना छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनस्थापनाका लागि दवाव दिन सरकारलाई ज्ञापन पत्र बुझाउनका लागि मेची–महाकाली अभियान पनि सञ्चालन गरेको थियो।