काठमाडौं  : केही दिन अघि जापानको मन्त्रिपरिषद्ले मापदण्ड लागू गरि बिदेशी कामदार लैजान पारित गरेपछी नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानी राजदूत मासामिची सेइगोबीच भेटवार्ता भएको थियो । रोजगारीका लागि जापान जान ईच्छुक ब्यक्तिले जापानी भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीका अनुसार जापानबाट एक प्राविधिक समूह छिट्टै नेपाल आउने भएको छ। यस भन्दा अघि कोरियन सरकारले कोरिएन भाषा परिक्षा लिई पास भएका (ई.पि.एस.कोटा) नेपाली कामदारहरुलाई कोरिया लैजादै आएको छ ।

जापानले नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्ति जस्ता १४ वटा क्षेत्रमा नेपाल, चीन, इण्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायत देशबाट पाँच वर्षको अवधिमा तिन लाख ४५ हजार कामदार लैजाने तयारी गरेको छ ।

मन्त्री विष्टले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई पारदर्शी र भरपर्दो बनाउने, योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिशस्पर्धाका आधारमा नेपाली कामदार छनोट गरी जापान पठाइने बताए ।

रोजगारीका नाममा केही म्यानपावर व्यवसायीले पत्रिकामै विज्ञापन गरी राहदानी संकलन र पैसा लिग्ने गरेका छन तर अब जापानले दलालले चलखेल गर्न नसक्ने खालको प्रावधानसहित कडा छनोट प्रक्रिया प्रस्ताव गरेको छ ।