अनलाइन खबर-मोबाइल गेम पब्जीका कारण विदेशमा किशोरकिशोरीले आत्महत्या गरेको समाचार वेलावेला आइराख्छन् । छिमेकी मुलुक भारतको गुजरातमै यो गेममाथि प्रतिबन्ध लागिसकेको छ भने अन्य विभिन्न शहरमा पनि प्रतिबन्ध लगाउने पर्ने माग उठ्न थालेको छ । भारतकै मध्यप्रदेशका एक युवकले पब्जी खेल्ने क्रममा पानी भनेर एसिड पिएका थिए । उनलाई उपचारका लागि अस्पताल त लगियो तर, अस्पतालमा पनि उनले खेल्न छाडेनन् ।
यो समस्या अहिले नेपालमा पनि उत्तिकै रुपमा चर्किएको छ । यहाँ कुनै अपि्रय घटना त भएको छैन तर, यही अवस्था रहिरहेका आफ्ना सन्तानको भविष्य अन्धकार हुने बताउँदै अभिभावकले प्रहरी गुहार्न थालेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार पछिल्लो समय विभिन्न विद्यालयका पि्रन्सिपल र अभिभावकहरुले प्रहरीलाई यो गेममाथि नियन्त्रण लगाउन आग्रह गर्न थालेका छन् ।
‘तर, हामीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा जानकारी गराएर प्रहरीमा पनि लिखित निवेदन दिन भनेका छौं’, सिंहले अनलाइनखबरसँग भने, ‘शिक्षकहरुले प्याब्सनमा कुरा उठाएर संस्थागत रुपमै निवेदन दिने बताउनु भएको छ ।’
यो गेमका कारण पढाइ प्रभावित भएको अभिभावकहरुको गुनासो छ । पब्जी खेल्ने व्यक्तिहरु अर्कै दुनियाँमा पुगेका हुन्छन् । त्यसैले उनीहरुलाई आफू कस्तो छु भन्ने होस पनि हुँदैन । उनीहरु अनलाइनमार्फत समूह यो खेल खेल्छन् । खेलकै क्रममा उनीहरुले साथीहरुसँग कुराकानी पनि गर्नसक्छन् । र, उनीहरुको मद्दत पनि लिन सक्छन् । एसएसपी सिंह पब्जीमाथि के गर्न सकिन्छ भनेर बुझ्ने काम भइरहेको बताउँछन् ।
प्रकाशित मिति २०७५ चैत २४ गते आईतबार ०२:३२