काठमाडौँ : १२ खेल लगातार जितेको मनाङ मर्स्याङ्दी क्लब फाईनल खेलमा भने हार्न बाध्य भएको छ । एन्फा कम्प्लेक्स मैदानमा भएको फा‌ईनल खेलमा फ्रेण्ड्स क्लबका विकास लामाले इन्जुरी टाइममा हेड मार्फत गोल गरेपछि मनाङको सबै खेल जितेर लिग जित्ने नयाँ कीर्तिमान बनाउने लक्ष्य अधुरै बन्यो।


मनाङले दुई खेल बाँकी हुदा नै शहिद स्मारक ए डिभिजन लिग २०७५ को उपाधि पक्का गरिसकेको थियो । तर अपराजित यात्रा भने टुन्गिएको छ ।
फ्रेण्ड्ससँग जित्नकै लागि खेले पनि, राम्रो प्रदर्शन गर्न चुक्यौ । ‘हामीले खेल हार्छौँ र बराबरी खेल्छौँ भनेर एक प्रतिशत पनि सोचेका थिएनौँ। तर राम्रो खेल्न नसक्दा अन्तिममा गएर पराजित भयौँ।’ मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भनेका छन ।


मनाङका कप्तान विराज महर्जनले कहिलेकाँही खेलमा यस्तो खालको नतिजा आउने बताए। ‘हारेर पनि धेरै कुरा सकिन्छ। हामीले अगाडी लिग जितिसकेका थियौँ। तर अन्तिम खेल हारेपछि लिगमा सबै खेल जित्ने नयाँ कीर्तिमान बनाउन सकेनौ ।
आठौँ पटक लिग जितेको मनाङले लिग ट्रफी र नगद ५० लाख हात पार्‍यो। यस्तै लिग विजेताको हैसियतमा मनाङले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने मौका समेत पाउनेछ।

सबैभन्दा कम सात गाेल खाएका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर र हेमन गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए । यस सिजन मनाङ मर्स्याङ्दी क्लबमा डेब्यु गरेका प्रशिक्षक सफल सुमन श्रेष्ठ लिगको उत्कृष्ट प्रशिक्षक घोषित भए। उनले डेब्युमा नै मनाङलाइ उपाधी दिलाउन सफल भए ।