नेपालखबर-लुक्ला विमानस्थलमा आइतबार ३ जनाको ज्यान जानेगरी भएको दुर्घटनामा समिट एयरको जहाज र मनाङ एयरको हेलिकोप्टर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्।

नेपाल नागरिक उड्यन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा जहाज र हेलिकोप्टर दुवै ‘पूर्ण क्षतिग्रस्त’ भएको जनाएको हो।

 

 

‘दुर्घटनामा समिट एयरको विमान र मनाङ एयरको हेलिकोप्टर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्’, विमानस्थलद्वारा विज्ञप्तिमा भनिएको छ। दुर्घटनामा श्री एयरलाइन्सको हेलिकोप्टर ९एन एलकेमा सामान्य क्षति पुगेको उड्डयन प्राधिकरणले जनाएको छ।

रामेछापको मन्थली उड्न लागेको ९ एनएमएच कल साइन भएको समिटको जहाजले ९एन–एएलसी कल साइनको पार्किङमा रहेको हेलिकोप्टरलाई ठक्कर दिएको थियो।

 

 

 

सगरमाथाको प्रवेशद्वारको रूपमा रहेको सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतबार बिहान समिटको जहाज धावनमार्गमा चिप्लिँदा दुर्घटना भएको हो। दुर्घटनामा समिटका सहचालक एस. ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ। अर्का एक सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको हो।

 

 

 

दुर्घटनामा घाइते भएका अन्य तीन जनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये मनाङ एयरका क्याप्टेन चेतवहादुर गुरुङ, मनाङ एयरकै कर्मचारी लाक्पा शेर्पा र समिट एयरका क्याप्टेन रविन्द्रवहादुर रोकाय खतरामुक्त रहेको ग्राण्डी अस्पतालका हेलिकप्टर इन्चार्ज माधव शर्माले नेपालखबरलाइ जानकारी दिए। दुर्घटनामा समिट एयरमा रहेका ४ यात्रु सकुशल छन्।

समिट एयरको कल साइन ९ एन एएमएच जहाज रनवेमा चिप्लिएर सुरूमा मनाङ एयरकाे हेलिकाेप्टर र त्यसपछि श्री एयरकाे हेलिकाेप्टरसँग ठाेक्किएकाे थियो।