बागलुङ : जिल्लाको पश्चिम ताराखोला गाउँपालिका-४ मा आगो ताप्ने क्रममा मंगलबार आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ। यामबहादुर खत्रीको दुई तले खरको गोठमा आगलागी भएको थियो।

मृत्यु हुनेमा स्थानीय रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिलबहादुर घर्तीको ६ वर्षीय छोरी ऋतु रोका र ४ वर्षीय छोरा आयुष रोका रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
    
साँझपख लागेको आगो झण्डै तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो। ईलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।