अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने कार्यक्रम शुक्रबार अपरान्हका लागि निर्धारित थियो। सो कार्यक्रममा प्रमुख अतिथि संघीय सरकारका कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाल थिए ।

नेपालका गाउँगाउँमा २ वर्षका लागि खटिन लागेका स्वयंसेवकहरुलाई उनले काठमाडौं बाहिरका जिल्लाहरुमा स्वास्थ्य, शिक्षा, पोषणको स्थिति राम्रो नभएको सुनाए। अमेरिकी स्वयंसेवकहरुको उपस्थितिले ती क्षेत्रमा सकारात्मक योगदान पुग्ने उनको विश्वास थियो।

 

 

 

सम्बोधन क्रममा उनले धेरै नेपालीजस्तै आफ्नो पनि अंग्रेजी भाषा राम्रो नभएको सुनाए। भाषाको प्रसंग जोड्दै उनले पिसकोर स्वयंसेवकहरुलाई भने, ‘आगामी दुई वर्षमा तपाइँहरु सालको पात टपरी हुने बोलको गीत सिकेर आउनुहोस्’, नेपालीमा उनले भने, ‘त्यतिबेलासम्म म पनि एउटा इंग्लिस गीत सिकेर गाउन सक्ने हुम्ला।’

कार्यक्रमको सुरुमा अमेरिकी स्वयंसेवकहरुले बुद्धि परियारको पुरानो गीत रेसम फिरिरि… गाएर सुनाएका थिए। सो गीत पुरानो भएको र वसन्त थापाको ‘सालको पात टपरी हुने…’ हिजोआज चर्चित रहेको उनले बताए।

 

 

 

कार्यक्रममा नेपालका ग्रामीण भेगमा परिचालन हुन लागेका ४९ पिसकोर स्वयंसेवकहरुलाई मन, वचन र कर्मले नेपालको सेवा गर्न राजदूत बेरीले सपथ गराएका थिए। ग्रामीण भेग जाने उनीहरुले अमेरिकाबारे नेपालीको बुझाइमा ठूलो अर्थ राख्ने जनाए।

सन् १९६२ देखि पिसकोर नेपालका ग्रामीण भेगमा स्वयंसेवक पठाउँदै आएको छ। अहिलेको कार्यक्रममा आएकाहरु बाहेक पिसकोरमार्फत् ३ हजार ८ सय अमेरिकी नागरिकले नेपालमा स्वयंसेवा गरिसकेका छन्।