दिल्ली क्यापिटल्सका नेपाली स्टार सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग(आइपीएल)मा पुन: चम्किएका छन्।

शनिबार जारी किंग्स एलेभेन पन्जाबविरुद्धको खेलमा सन्दीपले क्रिस गेलको सहित तीन विकेट लिएका छन्।

सन्दीपले दिल्लीलाई सुरुवाती सफलता दिलाउँने क्रममा टोलीको दोस्रो तथा आफ्नो पहिलो ओभरमा पन्जाबका ओपनर केएल राहुलको विकेट लिएका थिए।

 

 

दिल्लीको पछिल्ला ३ खेलमा सुरुवाती ११ मा नपरेका सन्दीपले राहुललाई १२ रनमा खेलिरहँदा विकेट किपर ऋशब पन्तको हातबाट क्याच गराएका हुन्।

राहुलले सन्दीपको पहिलो बलमा छक्का र तेस्रो बलमा चौका प्रहार गरेका थिए। चौथो बलमा भने उनको विकेट लिदैँ सन्दीपले बदला लिएका थिए।

व्यक्तिगत दोस्रो ओभरमा भने सन्दीप महँगा भए। क्रिस गेलले उनका चार बलमा चौका प्रहार गरेका थिए।

 

 

टोलीका लागि चौथो ओभरमा आफ्नो दोस्रो ओभर लिएर आएका सन्दीपको पहिलो, तेस्रो, पाँचौं र छैटौं बलमा गेलले चौका प्रहार गर्दै सो ओभरबाट १६ रन बटुले।

१३औं ओभरमा दिल्लीले सन्दीपलाई व्यक्तिगत तेस्रो ओभर दियो। उक्त ओभरमा सन्दीपले क्रिस गेल र साम कुर्रानको विकेट लिदैँ सनसनी मच्चाए। पहिलो बलमा सन्दीपलाई क्रिस गेलले छक्का हिर्काएका थिए।

दोस्रो बलमा भने गेललाई सन्दीपले अक्सर पटेलको हातबाट क्याच गराउँदै पवेलिएन फर्काइदिए। ३७ बल खेलेका गेलले ४ चौका र ५ छक्का प्रहार गरे।

 

 

यस्तै सोही ओभरको अन्तिम बलमा सन्दीपले कुर्रानलाई खाता नै खोल्न नदिइ कट एण्ड बोल्ड पारे।

समग्रमा ४ ओभर बलिङ गर्दै ४० रन खर्चेका सन्दीपले ३ विकेट लिएका हुन्। अन्तिम ओभरमा भने सन्दीपले कुनै विकेट पाएनन्।

योसँगै यो यस सिजनको आइपीएलमा ५ खेलमा खेल्दै सन्दीपले ८ विकेट लिएका छन्।

 

भिडियो हेर्नुहोस