कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले काण्डैकाण्डले भरिएको ओली नेतृत्वको सरकार हरेक क्षेत्रमा विफल भएको बताएका छन् । बालुवाटार काण्ड, खुलामञ्च काण्ड, सुन काण्ड, निर्मला काण्ड, वाइडबडी काण्ड लगायत काण्डैकाण्डले ओली सरकार जनताको नजरबाट खस्केकाे बताए । रौतहटको राजपुर नगरपालिकामा शनिबार कांग्रेसले आयोजना गरेको आमसभामा पौडेलले प्रधानमन्त्री भएकै दिन सदनमा ओलीले समृद्ध नेपाल बनाउने प्रतिबद्धता गरे पनि ठिक विपरित काम गरेको अरोप लगाए ।

 

 

सरकारले भ्रष्टाचारी र बलात्कारीलाई संरक्षण दिएर मुलुकलाई भ्रष्टाचार एवं काण्डै काण्डको देश बनाएको उनले बताए । नेपाली जनता नभई नेकपाको केही नेता र कार्यकर्तालाई मात्र सरकारले सुखी बनाएको पौडेलको भनाइ थियो । नेपालमा पानी जहाज चलाउने उखानटुका भनेर जनतालाई मुर्ख बनाउने ओली सरकारबाट सबै सचेत हुन जरुरी रहेको उनले बताए । पौडेलले तराई मधेशमा खेती गर्ने किसानका लागि सिंचाइको व्यवस्था नगरेर पानीजहाज चलाउने गफ दिनु जनताको भावनामाथि खेलबाड भएको उनको आरोप थियो ।

 

 

एक पटक कम्युनिष्टलाई हेर्ने जनताको इच्छामाथि नेकपा खरो नउत्रिएको स्पष्ट पारे । विश्वमा हराउँदै गएका कम्युनिष्टहरु नेपालमा स्थापित हुन लागेकोमा चिन्ता व्यक्त गर्दै उनले नेपालबाट कम्युनिष्टलाई सधैको लागि अन्त्य गर्ने आँट जनताले देखाउनु पर्ने बताए । पार्टी महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसलाई संकट पर्दा मधेशका जनताहरुले साथ दिने गरेको बताए । कांग्रेससँग मधेशका जनताको सम्बन्ध रथको दुई पाँग्रा सरह रहेको उल्लेख गरे । राष्ट्रपति, प्रधानमन्त्री वा सभामुख तीनै पदमध्ये एक स्थानमा मधेशका जनतालाई स्थान सुनिश्चित गर्नु पर्नेमा उनले जोड दिए । पार्टीभित्रको गुट उपगुट समाप्त भएको खण्डमा कांग्रेसलाई कसैले चुनौती दिन नसक्ने बताए । यो खबर नयाँ पत्रीका दैनिकमा लेखिएको छ ।