शनिबार र आइतबार धरानका एक नवविवाहित जोडी एकाएक अनलाइन मिडिया र सामाजिक सञ्जालमा भाइरल भयो। कारण थियो दलित समुदायकी बेहुली र गैर दलित समुदायका बेहुलाबीच भएको मागी विवाह।

 

बेहुला हुन् धरान १३ का नवीन राई। बेहुली धरान १५ की सुष्मा कालिकोटे (विश्वकर्मा) । यो खबर आजको नागरिक दैनिकमा धरानबाट रोहित राईले लेखेका छन्। नवीन र सुष्माले आधा दशक लामो चिनजान र प्रेमलाई सहज रुपमा विवाहमा परिणत गरेका हन्। उनीहरुको निर्णयलाई दुबैका परिवारले सहर्ष स्वीकार गरेका छन्।

 

नवीनको परिवारले शुक्रबार साँझ सुष्माको घरमा पुगेर रितअनुसार ‘चोरको सोर’ (भगाएर बिहे गरेपछि रीत बुझाउने चलन) बुझाएको छ। दुबै पक्षले नवीन र सुष्माको निर्णयलाई स्वीकार गरी अनुमोदन गरेपछि शनिबार साँझ केटा पक्षले टिकाटालो गरेर आफन्त र साथीभाइलाई पार्टी दिएको छ।