बेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनपिङले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज ग्रेट हल अफ् द पिपल परिसरमा स्वागत गर्नुभएको छ  । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा चीन सरकारले सोमबार दिउँसो बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा जनमुक्ति सेनाबाट परेडका साथ सलामी अर्पण गरेको हो । ग्रेट हलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । जनमुक्ति सेनाको सलामीपछि राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच द्वीपक्षीय कुराकानीसमेत भयो ।

 

 

त्यस अवसरमा राष्ट्रपति भण्डारीलाई चिनियाँ विदेश मामिला मन्त्रीका साथै उच्चपदस्थ अधिकारीको परिचय दिइएको थियो भने चिनियाँ राष्ट्रपति सीलाई नेपाली भ्रमण दलका सदस्यको परिचय दिइएको थियो । त्यस्तै दुवै देशको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति भण्डारीका सम्मानमा तोपको सलामी  पनि दिइएको थियो ।  राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ सेनाले सम्मान गारद ‘गार्ड अफ् अनर’ प्रस्तुत गरेको थियो ।  उहाँले सेनाको एक समूहको अवलोकन पनि गर्नुभयो । सैनिक सम्मानपछि चिनियाँ बालबालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको सहभागिता थियो ।

 

 

पारवहन प्रोटोकोलमा हस्ताक्षर
यो भ्रमणका क्रममा चीन र नेपालवीच विभिन्न ७ वटा समझदारीपत्रहरुमा हस्ताक्षर भएको छ । यस क्रममा बहुप्रतिक्षित पारवाहन यातायातसम्बन्धी पारवहन सम्झौताको प्रोटोकोलमा समेत हस्ताक्षर भएको छ । यसमा दुबै देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका छन् ।
पारवहन प्रोटोकोल लगायत हस्ताक्षर भएका सहमति यस्ता छन्-
१. पारवहन यातायातसम्वन्धि सम्झौता कार्यान्वयनको प्रोटोकल
२. चीनको सहायतामा निर्माणाधिन परियोजनाहरुको सम्भार तथा सुदृढीकरणका लागि अनुदान-सहायता हस्तान्तरण प्रमाणपत्र ।
३. आर्थिक तथा प्राविधिक सहकार्य सम्झौता ।
४. नेपालको उत्तरी क्षेत्रमा जिविकोपार्जनका क्षेत्रमा सहायता अभिवृद्धिसम्वन्धी दस्तावेज ।
५. भन्सार मामलामा सहकार्य र पारस्परिक प्रशासनिक सहायतासम्वन्धी सम्झौता ।
६. नेपालको गुणस्तर तथा मापदण्ड विभाग र चीनको गुणस्तर प्रशासन सहकार्यसम्वन्धी समझदारीपत्र ।
७. नेपालबाट चीनमा सांस्कृतिक सम्पदाको अवैध ओसार-पसार एवं चोरी-निकासी रोक्ने सम्झौता ।