नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद तथा नेता याेगेश भट्टराईले शब्दको पछाडि लागेर राष्ट्रपतिजस्तो सम्माननीय संस्थालाई अनावश्यक विवादमा ल्याउन नहुने जनाएका छन ।

 

उनले सरकारकाे नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुकाे अर्थ सार्वभौम नेपालीको अभिव्यक्ति भएकाे बताएका छन् । उनले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रपति संस्थाको नभई सार्वभाैम नेपालीकाे भएकाे बताउँदै यस्ताे बताएका हुन् ।

 

उनले भने, ‘सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्नुहुन्छ । प्रधानमन्त्रीको सरकार भन्ने अर्थ हो । शब्दको पछाडि लागेर राष्ट्रपतिजस्तो सम्माननीय संस्थालाई अनावश्यक विवादमा ल्याउनुहुन्न । शाब्दिक कुरामा अल्झिएर नीति तथा कार्यक्रमलाई ओझेलमा पार्नुहुन्न ।’

 

आर्थिक बर्ष २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक-पटक ‘मेराे सरकार’ भनेर सम्बाेधन गरेका थिए । साेही विषयलाइ लिएर चर्चा भइरहँदा भट्टराईले राष्ट्रपतिले बाेलेकाे बारेमा गलत अर्थ नलगाउन बताएका हुन् ।