रातोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनेको विषयलाई विवादमा तान्नु भनेको लोकतन्त्रको उपहास गरेको ठहर्ने बताएका छन् ।

 

सरकारी निवास बालुवाटारमा शनिबार बिहान विभिन्न संचारमाध्यमका सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा स्पष्ट पार्दै अन्तर्राष्ट्रिय अभ्यासलाई सबैले बुझ्नुपर्ने बताएका हुन् ।

 

उनले राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियतका साथ संसदबाट निर्वाचित हुने भन्दै अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको दाबी गरे ।

 

उनले प्रश्न गरे, “कसको सरकार भन्ने त राष्ट्रपतिले ? कि निबन्ध पढ्ने ? यो सरकारको नीति कार्यक्रमभन्दा खेरी अनि के फलानाको सरकार भनेर राष्ट्रपतिले भन्ने ? राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत भएर मात्रै पार्लियामेण्टमा आउँछन् । ”

 

प्रधानमन्त्री ओलीले मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तर्राष्ट्रिय अभ्यासको विरोध गर्नु भनेकोे आफैले स्थापना गरेको प्रणालीको गरिमालाई नबुझेको र उपहास गरेको ठहरिने दाबी गरे ।

 

उनले भने, “मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तर्राष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जामानामा हामी पुग्यौ भनेको यात हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौ या आफूले स्थापना गरेको प्रणाली र राष्ट्रप्रमुखको गरिमा चित्त नबुझेको हो ? ”

 

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि सम्बोधन गरेको विषयमा चौतर्फी विरोध भएको थियो । यसले पुरानै राज्यप्रणालीको झल्को दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा विरोध गरेको थियो ।