राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐन विपरित सुविधा लिँदै आएका छन्।

 

तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले लेखेका छन्। जब कि उनले संसद सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन्।

 

‘अध्यक्ष ज्यूको गाडि अधिकांश समय संसद सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन्। अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ। तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद सचिवालय श्रोतले भन्यो।

 

तिमिल्सिनाले २ हलुका सवारी चालकको प्रतिचालक मासिक १८ हजार तीन सय ४० र २ कार्यालय सहयोगीको प्रति कार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँ तलब बुझिरहेका छन् । चारजनाको कुल तलब मासिक ६९ हजार एक सय ४० रुपैयाँ बुझ्दै आएका छन्।

 

अध्यक्ष तिमल्सिनाको सचिवालयले भने घरमा खाना पकाउन बस्नेको त नागरिकता नभएको र चालक परिवर्तन भइरहने कारणले चार स्वकीयको खाता नखोलिएको दाबी गरेको छ।