“खाने मुख ले पो भात खाला नखाने ले के खाला” साँच्चिकै बुढा पाका ले जानेरै बनाएका होलान यो उखान। पोइ भनाउँदो ले गाउँ कै भाउजू पर्ने टिपेर पातालिए पछि कान्तीमाया को अनुहार को कान्ति नै हराएको थियो। मेलापात ढिकी जाँतो गरेर पेट भर्ने मेसो त भएकै थियो तर बलिष्ट बाहु को खाँचो सजिलै पुरा कहाँ हुन्थ्यो र।

एक मन त ” त्यो मुर्दा* ले मात्र पाउँछ र मेरो पनि रुप छ,जवानी छ ।मैले पनि पाइहाल्छु नि” भनेर नसोचेकी पनि हैनन।तर काखे बालखा को बिचल्ली होला भनेर त्यो कदम चाल्न सकेकी थिइनन कान्तीमाया ले।

 

“आमा आमा हाम्लो बाबा खोइ नि कहिले आम्नु हुन्छ?” छोरा को प्रश्न ले उनको मन एकतमास को बन्थ्यो। ढाँटेरै भनिदिन्थिन ” बाबू को बाबा पापा ल्याउन बिदेश जानू भाको छ।तिमी ज्ञानी भएर आमा लाई दुख दिएनौ भने मात्र आउने अरे”।

हेल्थपोस्ट मा नयाँ अहेब आएको थियो ।मधेस मुल को कालै भए पनि हँसिलो,पठ्ठो। एकदिन बिरामी भएर ओखती लिन जाँदा भेट भएको थियो उनिहरु दुई जना को।
” बेला बेला उपचार गर्न आइराख्नु है”। अहेब ले मुसुक्क हाँस्दै भनेको थियो।

 

“हजुर नै आउनुस न घरतिरै सुइ बोकेर फुर्सद को बेला मा”। कान्तीमाया पनि जिस्किदै बोलेकी थिइन्।

दिउँसो, बेलुका जति बेला गाउँले को आँखा छल्न सकिन्छ। अहेब सर उपचार गर्न खुसुक्क कान्ति माया को घर धाउन थालेका थिए। दिन दिनै जसो उपचार पाउँदा कान्तीमाया को अनुहार को तेज धपक्क बल्न थालेको थियो।

 

“दिउँसै त नआउनु न क्या।अरु ले देखे भने शङ्का गर्छन।” कान्तीमाया को मन भित्र को डर बोल्थ्यो। त्यसो भनेको दिन देखि उपचार राती मा मात्र सुरु हुन थालेको थियो। गाइँ गुइँ गाउँ मा हल्ला चलेको थियो।तर पनि उनिहरु लाई कसैको मतलब थिएन।

” तिमी किन दुनिया को चिन्ता लिन्छौ।म कान्छी बनाएर लैजान्छु तिमी लाई”। अहेब ढाडस दिने गर्थ्यो। कान्तीमाया झनै खुसी हुन्थी यस्ता कुरा ले।

 

” अब देखि तिमी मेरो घर मा नआउनु।राती मा त झनै आउँदै नआउनु”। कान्तीमाया को यस्ता कुरा सुनेर अचम्म मानेको थियो अहेब ले।

” किन के भयो र, समाज मा कुरा काटे भनेर डर लाग्या हो तिमी लाई।”

 

” यो समाज ले त राम्रो कहिले देख्या छ र। पोइ ले अर्कि टिपेर हिड्दा पनि मैले नै श्रीमान सन्तुष्ट पार्न नसकेर अर्कि लिएर हिडेको भनेर मेरै खोइरो खनेको थियो। हिजो बिहानै छोरो उठेर आमा आमा हिजो राती बाबा आउनु भाको हो।मेरो मिठाई पापा कता राख्या छ।बाबा खोइ त भनेर न्याउरो मुख लगायो।मलाई आफ्नो शरीर सुमर्ने मान्छे भन्दा पनि छोरा को बाउ चाहिएको छ। के तिमी सक्छौ यसको बाउ बन्न???”

 

यदि तपाईं हरु संग कुनै गजल, कबिता, लेख, रचनाहरु छन भने हामिलाई पठाउन नभुल्नुहोला ।