” ओहो, ईन्जिनियर सा’बले नि बाबुलाई यतै पढाउन लाग्नु भयो क्या हो?
स्कुलको गेट्मै भेटिएका छिमेकिले भने ।
” पढाउन त के पढाउने पठाउन चाहिँ खोज्या हो ।” फिस्स हास्दै भनेर म प्रीन्सिपलको कोठामा छिरे ।
औपचारिकताको अभिवादनसँगै प्रीन्सिपलले स्कुलको फी स्ट्रक्चर सुनाउन थालिहाले ।
” अन्नुअल फी, ड्रेस लगायत स्टेसनरी, खानाखाजा, हेल्थ क्याम्प, आउटिङ्ग/भिजिट ,भ्यान आदि गरेर सुरुमा थर्टी फोर जति पर्छ होला सर”

” ओहो, तीन वर्षको बच्चाको एड्मिसन फी चौतिस
हजार ” म झस्किए ।
” के गर्नु सर, हाम्रो स्कुल इन्टर्नेशनल स्ट्यार्न्र्डड प्राप्त हो , टिचरहरु वेल ट्रेन्ड छन, किचेन हाइजेनिक छ, बच्चाको प्लेयिन्ङ् म्याटेरिअल क्वालिटिको छ । सबै हेर्दा हाम्रो फी स्ट्रक्चर ठिकै छ सर ।” प्रीन्सिपल सँगै बसेकी अर्कि म्याडमले बेलि बिस्तार लगाईन ।
” हुन्छ, म घरसल्लाह गरेर भोलि बच्चासहित आउछु ।” यति भनेर म निस्किए ।

“ओहो सर, हजुरलेनि बाबू यहि हाल्न आट्नु भाको? ” घर नजिकैको पसलवाली दिदी भेट भइन ।
” आटेको दिदी, महँगो रैछ , के गर्ने गर्ने भयो ।” मैले आफ्नो चुरो कुरो राखे।
” बच्चा त पढाउन पर्यो नि सर , स्कुलनि त राम्रो छ नि । हामी जस्तो दोबाटो कुरेर बस्ने त आटिराछम, झन हजुरहरु त दुबै जना जागिरे, के को चिन्ता ।” दिदिले भनिन ।

म केही नबोली सरासर घर गए । बुढी अफिसबाट आइपुगेकी थिइनन, छोरालाई दूध तताएर खुवाए । भोलि देखि स्कुल जाने भनेर छोरो मख्ख थियो ।
” तेरि आमाले त कतिमा पढी मलाई थाहा छैन भाइ, तर तलाई दुइवर्ष पढाउने फी ले मैले इन्जिनियरिङ्ग सकेको थिए ।” छोराको अबोध अनुहार हेरेर मनमनै सोचे ।