नौ महिनासम्म मलाई गर्भमा राखेर आफुले आधा मलाई आधा खुवाएर जन्म दिने मेरी ममताकी आमा । मेरो जीवनको डायरी कोर्दै हिडेका मेरा बाबा, म यहॉ कुशल छु, कुशलताको कामना गर्दछु… ।

 

आज केही समयको अन्तरालपछि समयको झोलीबाट सुटुक्क चोरेर तपाईहरुकै सम्झनाका कोसेलीहरू यो चिहानपारिको बस्तीबाट हजुरहरुलाई नै पठाउदैछु सायद अचम्म मान्दै हुनुहुन्छ होला । यो पत्र कुनै वियोगान्तको हुने छैन, मात्र हजुरहरुको सम्झनाको ।

 

म गर्भमा छदा कसरी उक्लियौ होली आमा जीवनको त्यो उकाली । एक गॉस र एक बासको लागी कति ठॉउ ठोक्कियौ हौली । तिमीले पेटभरि खाएको एक छाक भात मैले आधा खाइदिदा तिमी कसरी हिड्यौ होली भारी बोकेर…? अनि आफु मृत्युसैयामा छटपटीदै गर्दा, अनि म यो धर्तीमा जन्मिएको बेला कसरी छरिए होलान् है खुसीका रङ्गहरू । मेरो जीवन फुल झै फुलाउनको लागी पसिनासंगै मुस्कुराउदै गरेका मेरा बाबा यति बेला कुनै सम्झनाका शब्दहरू छैनन् म संग ।

मलाई पनि त मन थियो । रहर थियो तपाईहरूसंगै उफ्री उफ्री नाच्न । म ठुलो भएपछि सजाउन मन थियो हजुरहरुकै सुन्दर जीवन । यो देशको लागि आफ्नै हड्डी खियाउन मन थियो । तर भगवानले मलाइ रहन दिएनन् यो धर्तीमा । जताततै बॉझै बॉझा रहेका खाली जमिनहरुमा पनि मेरो लागी दुई खुट्टा टेक्ने जमिन पनि भएन । महलै महल ठडिएका चौरासी ब्यञ्जनको भोजन गरिरहेका यी मान्छेहरुको भीडमा मेरो लागी एउटा सिटामोल पनि भएन ।

 

राक्षस, दानव, हत्याराहरुलाई संरक्षण गरेर राखिन्छन् ती सरकारी महलहरुमा । तर मेरो शरिरलाई त्यो भेलले घेरिरहदा पनि म बस्ने एक इन्च खुला आकाश पनि भएन । मैले पनि अरुले जस्तै त्यो खुला आकाशमा खेल्न पाएको भए संसारका केही खेलहरू जित्ने थिए होला । तर अहिले मेरा अनुहारका रङ्गहरू वायुमण्डलमा लुकिसकेका छन् ।

 

हो आमा अबदेखि तिमीले माया, ममता, स्नेहको माला उनेर नपठाउनु । तिमीले टॉसेर पठाएको ममता त्यही उर्लेर आएको पानीको छालमा त्यही बगरमा सजाएर राखेको छु । आमा तिमीसंगको बिछोडमा छुटेदेखि अहिले जताततै यही भेलसंगको परिचयमा छु । खै कसरी पठाऊं र माया यो भेलबाट…?

 

बाबा, बुढेसकालमा तिम्रो सहाराको लौरो बन्ने आशामा जन्मिएको म नियतिको बिडम्बना भोको पेटमा विवशताको थाली बजाउदै मेरो लास गाड्ने एक इन्चसम्म जमिन नभेटाएर, समाएर प्रेम पूर्वक, मेरो लासमा खसाएर विवशताका दुई थोपा ऑशु कपाएर हात बगाइदियौ त्यही भेलमै । अनि हिड्यौ बिदाइको हात हल्लाउदै । लागेको थियो त्यो क्षण तिम्रो हातबाट नछुटेर तिम्रै अंगालोमा बेरिरहुं । तर मेरा सजीव नसाहरू तिमीबाट छुटिसकेका थिए । मेरो एक मुठी प्राण कतै उडिसकेको थियो । तिमीले मलाई अगॉलोमा बेर्नुभन्दा पहिल्यै त्यही बगरमा मृत्युको हस्ताक्षर गरिसकेको थिए मैले ।

मेरो जीवनका सुन्दर फुल फुलाउन चाहने, आफ्नो पसिना बेचेर मलाई हुर्काउन चाहने – मेरा बाबा-आमा, तपाईहरूसंग यतिवेला मेरो कुनै गुनासो छैन । निर्दोष प्रकृतिसंग पनि कुनै आक्रोस छैन । बेहोसी र बेमतलवी सजीव प्राणीहरुलाई त झन के नै भनौ र…? उनीहरू सजीव भए पनि निर्जीव जस्तै भएका हुन्छन् सधै । ठिकै छ तिनीहरू पनि सधै सजीव भएर नै बॉच्न पनि त कहॉ सम्भव छ र…? जनताको जीवनसंग खेलबाड गरेर महलमा रमाउन चाहने ती निर्जीव प्राणी पनि एक दिन त निर्जीव हुन्छन् नै ढलेको मुढो जस्तै । लगेर के नै जान्छन् र उही हो जनताको गाली, अपमान कुम्लो पारेर लाने त हुन । तिनीहरुले पनि सजाए त पाउछन् नै ।

 

दोष कसैलाई दिन्न मेरा बाबा, आमा मेरो नियतिको खेल नै यस्तै रहेछ । विधिको विधान र कर्मको लेखान मेटेर मेटिदैन भन्थे । न तिमीहरुले मेटाउन सक्यौ न मैले । र अन्त्यमा यो चिहानपारिको बस्तीबाटै के भन्न चाहन्छु भने मेरो देशमा मेरो जस्तै मृत्यु अब आउने दिनहरुमा कसैको नहोस । यदि मृत्यु भए पनि जताततै बॉझा नै बॉझा भएका खाली खाली जमिनहरुमा एउटा लास गाड्ने जमिन गरिब र दुखिका लागी होस् ।

 

राक्षस दानव हत्याराहरुलाई संरक्षण गरेर राख्ने सरकारी महलहरुमा गरिबी र विपतमा परेकाहरुको लागी एउटा खरले छाएको सानो झुपडी बनोस्, यही चाहन्छु । अबका आउने दिनहरुमा जस्तै विपतमा पनि आफ्नो रक्षा आफैले गर्नु, अरुको भर नपर्नु !
फेरि पनि सम्झनाका लहरहरू यही दुषित हावासंग पठाउदै बिदा हुन्छु ।
उही चिहानपारीको बस्तीबाट…