चितवन, २३ वैशाख -एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काइ पुनः अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए ।

 

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिशुको मृत्यु भएको भनी परिवारजनले देवघाटमा अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा स्थानीयवासीले जीवितै देखेपछि शिशुलाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए ।

 

त्यसको लगत्तै शिशुको हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता रेग्मीले बताउनुभयो । शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अविवाहित युवती भएकाले उनको नाम र ठेगना गोप्य राखिएको उहाँको भनाइ थियोे । उक्त शिशुको सोमबार अपरान्ह १२ः३०मा निधन भएको अस्पताल स्रोतले जनायो । रासस

 

४ कक्षामा पढ्दै ५४ बर्षिय गोमा पराजुली

 

भनिन्छ नि जहाँ इच्छा त्यहा उपाय । सँगै नेपाली अर्को उखान पनि छ खाने मुखलाई जुंगाले छेक्दैन । हो यी उखानलाई पोखराकी ५४ वर्षिया गोमा पराजुलीले साबित गर्नुभएको छ । कास्कीको हंसपुरमा जन्मिनुभएकी गोमा सानोमा पढ्न पाउनुभएन । पढ्ने इच्छा भएपनि पारिवारिक वा समाजका कारण उहाँको त्यो इच्छा पुरा हुन नसकेको थिएन । बिहे भएर पोखरामा आउदा उहाँ पढ्न नपाएको त्यो भोक आफ्ना सन्तानलाई पुरा गराउन गोमाले आफ्ना सन्तानलाई पढाउनुभयो ।

 

गोमाका २ छोराहरु अहिले अमेरीकामा छन् । गोमाका श्रीमानको निधन भइसकेको छ । अहिले गोमा पोखरा १७ मा रहेको एक सरकारी विद्यालयमा कक्षा ४ मा पढ्नुहुन्छ । आफ्ना नाती–नातिनाको उमेरका केटाकेटीहरु संगै बसेर उहाँ दैनिक रुपमा स्कुल जाने आउने गर्नुहुन्छ । उहाँको त्यो पढ्ने इच्छा आफैले पुरा गर्न गोमा स्कुल जाने आउने गरेको बताउनुहुन्छ ।

 

गोमा भन्नुहुन्छ – “छोराहरुलाई पढाएर आफ्ना खुट्टामा टेक्न सक्ने बनाए, उहाँको पनि निधन भयो, छोराहरुले अमेरीका बोलाउछन्, मलाई जान मन लाग्दैन । समाजमा यतिकै बस्नुभन्दा दैनिक स्कुल आउछु । आफ्नो सानै देखि पढ्न नपाएको इच्छा पुरा हुदा गोमाको मुहारमा खुसीको बहार आउने गर्दछ ।” “सँगै पढ्ने केटाकेटीलाई गोमा साथी भनेर बोलाउनुहुन्छ”, उनिहरुले पनि गोमालाई साथी भनेर बोलाउछन् ।

 

सुरुमा उहाँ स्कुलमा भर्ना हुन जादाँ त्यहाँका शिक्षक र विद्यार्थीहरु पनि अचम्ममा परे । आफ्नो उमेर भन्दा झण्डै दोब्बर उमेरकी गोमा पराजुलीलाई पढाउन शुरुमा शिक्षकहरुलाई पनि अप्ठ्यारो लाग्यो । पछि बिस्तारै सहज हुदै गयो ।