जनकपुर – नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको छोरी अनिता यादवको विवाह सम्पन्न भएको छ। अनिताको विवाह रौतहटको विजयपुर नगरपालिका वडा नम्बर ७ स्थित फतुवा बस्ने ३३ वर्षीय इञ्जिनियर रमेश यादवसँग भएको हो ।

 

सोमबार राति हिन्दु परम्परा अनुसार जनकपुर स्थित होटेल राजदरवारमा अनिता र रमेशको विवाह सम्पन्न भएको थियो । सो अवसरमा रमेश र बेहुली अनिताले एकअर्कालाई बरमाला लगाए भने त्यसपछि औठी साटासाट गरे । सोही क्रममा पूर्वराष्ट्रपति यादवले छोरी र ज्वाईलाई रामायणको नेपाली र अंग्रेजी अनुवादको गरी २ थान जोडा किताब हस्तान्तरण गरेर सुखद दाम्पत्यको लागि आशिर्वाद दिएका थिए ।

 

विवाह राति साढे १० बजेदेखि हिन्दु परम्परा अनुसार सुरु भएको थियो । यस विवाहमा सरिक हुन करिब १ सय जना जन्ती आएका थिए। सोही विवाहमा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, जनकपुरधाम उपमहानगर पालिकाको मेयर लालकिशोर साह लगायतको पनि सहभागिता रहेको थियो । यस्तै समाजका भद्र भलादमीहरुले समेत बेहुला र बेहुलीलाई सुखद दाम्पत्यका लागि आर्शिवाद दिएका थिए ।