पूर्वकुमारी मतिना शाक्य जिन्स प्यान्ट र टिसर्टमा छिन्। मोबाइल खेलाइरहन्छिन्। मस्को भ्रमणको अनुभव सुनाउन आतुर उनी घरि फोटो हेर्छिन्, घरि देखाउँछिन्। घरको दोस्रो तलामा बसेकी उनी केही बोल्ने कोसिसमा छिन्। अक्मकाउँदै उनको ओठबाट केही शब्द निस्कन्छन्, निकै सानो स्वरमा।

 

मतिना भर्खरै मस्को यात्राबाट फर्किएकी छन्। कुमारी पदबाट घर फिर्ती भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। या भनौं, जीवनकै पहिलो भ्रमण। नौ वर्षसम्म कुमारी बनेर सामान्य जीवनमा फर्किएपछि उनले लुम्बिनी भ्रमण गर्ने मौका पाएकी थिइन्। अन्य भ्रमणको अनुभव उनीसँग छैन। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सपना महर्जनले लेखेकी छन्।

 

मस्को भ्रमणका क्रममा जीवनमै पहिलो पटक उनले प्लेन चढिन्। त्यति बेला थोरै डर र धेरै उत्साहका साथ उनले रोमाञ्चक उडान भरेकी थिइन्। रुसको राजधानी मस्को पुगेपछि मतिनाले रसियाली जनमैत्री विश्वविद्यालयका बारेमा जान्ने मौका पाइन्। विश्वविद्यालयको पढाइ, अतिरिक्त क्रियाकलाप, संग्रहालय आदि अवलोकन गरिन्।

 

उनको साथमा बुवा प्रतापमान र आमा सुनिता शाक्यका साथै कुमारीघरका अभिभावक महेन्द्ररत्न शाक्य थिए। वरिपरि रुसी नागरिक, नेपाली विद्यार्थी, विश्वविद्यालयका प्राध्यापकहरूले उनी घेरिएकी थिइन्। अञ्जान मानिससँग बोल्न र घुलमिल हुन अप्ठ्यारो मान्ने मतिनाका लागि यो एक चुनौतीपूर्ण भ्रमण थियो।

 

भ्रमणकै क्रममा मतिनाले थाहा पाइन्— विश्वविद्यालयले उनका लागि छात्रवृत्ति दिने निर्णय गरेको रहेछ। द्यःमयजू (कुमारी) प्रति देखाएको सम्मानमा उनका बुवाआमा नतमस्तक थिए। तर मतिना भन्छिन्, ‘मस्कोमा गएर पढ्ने नपढ्ने पछि थाहा हुन्छ।’ सायद उनी पहिले नेपालमै आफ्नो पढाइ पूरा गर्न चाहन्छिन्।

 

उक्त विश्वविद्यालयको उद्देश्य मतिनालाई त्यहीँ पढाउनु थियो। जीवित देवी कुमारीको इतिहास, मौलिक परम्परा र उनीप्रति आममानिसको आस्थालाई पूरै विश्वले नजिकबाट नियाल्न खोजेको छ। चासो दिएको छ।

 

साताव्यापी मस्को भ्रमण उनका लागि विशेष रह्यो। नेपाली संस्कृतिका प्रशंसक तथा प्रचारक रवीन्द्र भट्टराईले मस्कोस्थित नेपाली राजदूतावासमा कुमारी पूजाको आयोजना गरेका रहेछन्।

 

बुवा प्रतापमान भन्छन्, ‘सभाकक्षका भित्तामा जताततै जीवित देवी कुमारीका तस्बिर झुन्डिएको थियो। नेपालको राष्ट्रिय झन्डा, पूजा सामग्री, नैवेद्य र फलफूल सजाएर राखिएको थियो। दायाँपट्टि वर्तमान कुमारी तृष्णा शाक्य र बायाँपट्टि मतिनालाई ससम्मान राख्ने व्यवस्था थियो।’

 

बुवा प्रतापमानले समारोहको फोटो देखाए। मतिना रातो कोट र रातै लेहेंगामा थिइन्। समारोहमा नेपालका लागि रुसका पूर्वराजदूत सेर्गेई भेलिच्कीले नेपालमा आफ्नो कार्यकाल सम्झँदै भने, ‘नेपाली संस्कृतिमा जीवित देवी कुमारीको पूजाआराधना विश्वमै अद्वितीय छ।

 

नेपाल फर्किएकी उनलाई भ्रमणले धेरै कुरा सिकाएको छ। जिज्ञासाका ढोका खोलिदिएको छ। संसारलाई आफ्नो ढंगले हेर्न सिकाइदिएको छ। जनमानसमा भ्रम छ— एक पटक कुमारी बनेपछि जीवनभर पारम्परिक बन्धनमा बाँधिनुपर्छ। उचित शिक्षा पाइँदैन। विवाह गर्न दिइँदैन। पूरै जीवन देवी बनेर स्वतन्त्रताको तिलाञ्जलि दिनुपर्छ। के वास्तवमै यस्तो हुन्छ त?

 

प्रतापमान भन्छन्, ‘त्यसो होइन। अहिलेसम्मका कुनै पनि कुमारी कोठाभित्र थुनिन बाध्य छैनन्। मतिना पनि छैनन्।’

उनी थप्छन्, ‘मतिनाका लागि मस्को भ्रमणको महत्त्वपूर्ण क्षण अन्तरिक्ष उडान भर्न सिकाउने तारानगरीमा प्रवेश गर्नु हो। ज्वेज्द्नी गोरोद नामक उक्त क्षेत्र अन्तरिक्षयात्री प्रशिक्षण केन्द्र हो। त्यहाँ पुगेपछि मतिनाले अन्तरिक्ष यात्री सलिजन खलिफपसँग फोटो खिचाइन्।

 

विज्ञानका नयाँ उपलब्धिबारे थाहा पाइन्। अन्तरिक्ष यात्रीसँग भेट्दा मतिनालाई पनि एस्ट्रोनट बनौँ बनौं लागेछ। उडेर आकाश छुने रहर जागेछ।’