काठमाडौ – नेपालमा हुनसक्ने विमान दुर्घटनाका घटनामा उद्धारकार्यलाई चुस्त र दुरुस्त बनाउने उद्देश्यले उद्धारमा जुट्ने सुरक्षाकर्मीहरुलाई काभेको धुलिखेलमा नमुना अभ्यास गराइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना भइहालेमा जतिसक्दो छिटो उद्धार गर्नका लागि नमुना अभ्यास गराएका हुन् ।

 

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित देवीथान डाँडामा गरिएको अभ्यासकाक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले विमान दुर्घटनाको घटनास्थल पहिचान गरी उद्धार टोली खटाइ उद्धार गरेका थिए ।

 

अभ्यासकै क्रममा अन्तराष्ट्रिय विमानस्थलको रेस्क्यु कोर्डिनेसन सेन्टरले विमान हराएको सूचना प्राप्त गरेपछि दुर्घटनास्थलको सम्बन्धित क्षेत्र अनुमान गरी सो क्षेत्रका जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सम्बन्धित निकायलाई सूचना प्रवाह गरेको थियो ।

 

त्यस्तै, दुर्घटनामा ज्यान गुमाएकाहरुको शव संकलन गर्ने र घाइतेहरुको उद्धारको पनि अभ्यास गरिएको थियो ।घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी नजिकको अस्पताल पुर्‍याइएको थियो ।

 

अन्तर्राष्ट्रिय अभ्यासअन्तर्गत् नेपालले पनि हरेक दुई वर्षमा यस प्रकारको नमुना अभ्यास गर्ने गरिएको र यसले उद्धार टोलीलाई कुनैपनि दुर्घटना हुनेबित्तिकै द्रुतगतिमा उद्धारकार्य गर्न सहज हुने र क्षति न्यूनीकरणमा सहयोग पुग्ने नेपाली सेनाका प्रमुख सेनानी सुवास खड्काको भनाइ छ ।

 

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले यस प्रकारको नमुना अभ्यासले सम्बन्धित निकायका व्यक्तिहरु बढी चनाखो हुने धारणा व्यक्त गरे । नमुना अभ्यासलाई स्थानीयले भने फरक तरिकाले पनि बुझेको पाइयो । एक बालक नेपाली सेनाको हेलिकोप्टरले राहत वितरण गरेको भन्दै अभ्यासस्थल आइपुगेका थिए ।

 

विमान दुर्घटनाको अभ्यासमा जे देखियो
बुधबार काभ्रेको धुलीखेल नगरपालिका देवीथानस्थान डाँडामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका उद्दारकर्ताहरु दौडधुपमा थिए ।

 

विमान दुर्घटनापछि आगो निभाउने, घाइतेको उद्दार गरेर अस्पताल पठाउन, मृतकको पहिचान गर्न उनीहरुलाई भ्याई नभ्याई थियो । करिब आधा घण्टासम्म उनीहरुले घाइतेलाई स्ट्रेचरमा बोकेर हेलिकोप्टरसम्म पुर्‍याउने, गाडीमा राखेर अस्पताल लैजाने, घाइते र मृतक पहिचान गर्ने र आगो निभाउने काममा खटिए ।

 

काल्पनिक दुर्घटनाबारे संक्षिप्त जारी
‘तुम्लिङटारबाट काठमाडौं आउँदै गरेको ट्वीनअटर ९ एन इको १०० इको विमान दुर्घटना भएको छ । जसमा १४ जना यात्रु र तीनजना चालकदल गरी १७ जना थिए । त्यसमध्ये १० जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । एकजना गम्भीर घाइतेलाई हेलीबाट काठमाडौं पठाइएको छ । ६ जनालाई धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको छ ।’

तर, यो सत्य घटनामा आधारित थिएन । दुर्घटनापछिको उद्दारको पूर्वअभ्यास थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले हरेक दुई वर्षमा यस्तो पूर्वाभ्यास गर्दै आएको छ ।

 

भिडियो हेर्नुहोस