उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ माटे खोलाको शिरमा रहेको प्राकृतिक ताजमहलको आकृति भएको पहाड हेर्न आउनेको भिड लाग्न थालेको छ । शाही खोलाको किनारमा अवस्थित पहाडको भित्तामा प्राकृतिक रुपले ताज महलको आकृतिमा रहेको माटोको ढिस्कोलाई अवलोकन गर्न आउनेको भिड लाग्न थालेको छ ।

 

स्थानीयहरुले पहाडको भित्तामा रहेको उक्त सुन्दर आकृतिको महल जस्तो आकारलाई सामाजिक संजाल मार्फत पोस्ट गरेपछि सर्व साधारणको साथै शिक्षक, विद्यार्थी, समाज सेवी, व्यवपारी लगायतको पहाड हेर्न भिड लागेको छ। उदयपुरको साथै सिरहा, सप्तरी लगायतका जिल्लाबाट समेत सर्वसाधरण ताज महलको अवलोकन गर्न आउने गरेको प्राकृतिक ताज महल संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष राजकुमार दनुवारले बताए ।

 

उनका अनुसार विशेष गरेर त्रियुगा नगर पालिका लगायत सिरहा, सप्तरीको साथै काठमाण्डौं, विराटनगर जस्ता ठाउँमा रोजगारीको सिल सिलमा रहेका र दशैं मनाउन गाउँ आएकाहरु प्राकृतिक ताजमहल हेर्न आउने गरेको बताए । प्राकृतिक रुपमा ताज महलको आकृति भएको माटोमै महल बनेको सुन्दा गाईघाटबाट ६ जना अटो टेम्पू नै रिजर्भ गरेरै हेर्न आएको अन्दाजी ६० वर्षीया वृद्धा विन्दा दाहालले बताईन् ।

 

त्यस्तै विराटनगरबाट दशैंको टीका लगाउन आउनु भएका अन्जना काफ्ले पनि सामाजिक संजालमा उदयपुरमा ताज महलको आकृति भएको पहाड भेटियो भनेपछि सो ताज महलको स्वरुप हेर्न आएको वताईन् । गाईघाट असारीबाट प्राकृतिक ताजमहलको अलोकन गर्न आउनु भएकी सबिना राईले आफू फेसबुकबाट थाहा पाएर हेर्न आएको र यसलाई संरक्षण गर्न स्थानीयले सम्वनिधत निकायसंग माग गर्नु पर्ने समेत बताईन् ।

 

यस्तै त्रिनपा–७ चुहाडे स्थानीय कमल प्रसाद पोखरेलले संरक्षणको अभावमा यो सुन्दर संरचना लोप हुन सक्ने सम्भावना रहेको बताए । उनका अनुसार ताज महलको दृश्य हेर्न आउनु त ठिकै हो तर, ताज महलको माटोलाई नै खोस्रिन थालेपछि यसको चाँडै लोप हुने भएकोले यसको वरिपरि तारबार लगाएर संरक्षण गर्नु पर्ने बताए । तत्कालिन नेकपा एमालेका नेतृ तथा त्रियुगा नगरपालिकाका उपमेयरका उम्मेदबार गीता रेग्मी परिवार सहित ताज महल हेर्न पुगेका थिए ।

 

उनका अनुसार यो प्राकृतिक दृश्यले मोहित वनायो र यसको संरक्षणको लागि अन्य निकायबाट पहल गर्नु पर्ने बताईन् । माटे खोला र शाही खोलामा अवस्थित प्राकृतिक ताज महल संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष राजकुमार दनुवारले प्राकृतिक रुपमा बने को उक्त आकृति ३६ साल देखि नै उस्तै आकारमा अवस्थित रहेको बताए । यस ताजमहलको संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न संरक्षणको जरुरी रहेको बताए ।

 

उनले सिरहा, सप्तरी लगायतबाट ताज महल हेर्न मानिसहरु आए तर, यसै वडाका वडा ध्यक्ष अहिलेसम्म पनि अवलोकन गर्न नआएको गुनासो सुनाए । वडाध्यक्ष कमल कुमार राउतले आफूले उक्त प्रकृति प्रदत्त सुन्दर आकृतिलाई बाल्यकाल देखि नै हेर्दै आएको तर अहिले मात्रै प्रचार प्रसारमा आएकाले अब व्यवस्थित गर्ने योजना बनाउन लागि परेको वताए ।

 

भिडियो हेर्नुहोस