काठमाडौं – विष्णु माझीको आवाजमा नयाँ गीत बजारमा आएको छ । ‘छिपछिपे पानीमा लेऊ’ बोलको गीतमा बिष्णु माझिलाई पिताम्बर जीसीको आवाजमा साथ दिएको छन । एकनारायण भण्डारीको शब्द संगीत रहेको छ यो गीतको भिडियोमा सुरक्षा पन्त र दिलिप रायमाझीको अभिनय रहेको छन ।

 

‘छिपछिपे पानीमा लेऊ’ बोलको गीतमा आशिस अविरलको संगीत संयोजन रहेको छ भने प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन गरेका छन । यो गीतलाई सालको पात टपरि हुने बोलको गीत जसरी चर्चित हुने अपेक्षा गरिएको छ । (छिपछिपे पानीमा लेउ, माया के हो पाईन भेउ, कहाँ टुप्पो कहाँ छेउ, सिपालु मायाले सप्पै सिकाईदेउ) भिडियो हेर्नुहोस ।

 

दिलिप रायमाझीको फिल्मी यात्रा कसरी भयो ?

बाल्यकालमा निकै चुलबुले थिए दिलीप। पढाइमा मध्यम दिलीपलाई नाच्न खुबै मनपर्थ्यो। कतै गीत बजेको सुनै हुँदैनथ्यो दौडेर नाच्न पुग्थे। सम्झिन्छन्, ‘बाजागाजा बजेको त सुन्नै हुन्नथ्यो, म नाच्न थालिहाल्थेँ।‘ विद्यालयमा पनि सरस्वती पूजा, अभिभावक दिवस वा अन्य कार्यक्रमहरू उनका लागि विशेष बन्थे किनकि उनी त्यहाँ नाच्न पाउँथे। आफ्नो प्रस्तुति दिन पाउँथे। उनलाई नाच्न पाउने हरेक कार्यक्रमहरू विशेष लाग्थे। देउसीभैलो पनि उनको रोजाइ थियो। त्यसबेला पनि आफ्नो प्रस्तुति हेरेर धेरैले प्रशंसा गर्ने गरेको दिलीप बताउँछन्।

 

भन्छन्, ‘मैले नाचेको हेरेर धेरैले मलाई पैसा दिनुहुन्थ्यो।‘ कक्षा १० सम्मको पढाइ सकेपछि उनलाई नृत्य सिक्ने मन लाग्यो। पुतलीसडकमा रहेको डान्स इन्ष्टिच्युटमा उनी नृत्य सिक्न भर्ना भए। त्यहाँ राजु शाहले नृत्य सिकाउँथे। उनी त्यहाँ सिक्दै गए। उनलाई डान्स सिक्दै जादाँ झनै आफ्नो डान्स बिग्रिएको आभास हुन थाल्यो। दाइहरूले पनि ‘पहिला त खुबै राम्रो नाच्थिस्, अहिले सिकेको भनेर त झनै बिग्रिइछस्’ भनेपछि उनलाई बिझ्यो। दिलीप पहिला आफ्नौ सुरमा नाच्थे। कुनै स्टेप थिएन तर डान्स सिकेपछि उनी आफ्नो नृत्यलाई एउटा कम्पोजिसनमा ढाल्न थाले।

 

एउटा सीमामा रहेर नाच्ने भए, जुन कुरालाई अरूले मन पराइदिएनन्। तर दिलीप आफूमा विश्वास गर्थे ‘म केही राम्रो काम गर्दै छु। पक्का एक दिन सफल हुनेछु‘ भनेर। नृत्य सिकिरहँदा उनलाई फिल्ममा नाच्ने ठूलो रहर पलाउँदै गएको थियो। उनका नृत्य गुरु राजु शाहले ‘सडक’ फिल्ममा नृत्य निर्देशन गर्दै रहेछन्। दिलीप अनि उनको टिमलाई राजुले कोरसमा नाच्न लगे। फिल्ममा नाच्न पाउने भएपछि खुसीको सीमा थिएन दिलीपमा। तर, विडम्बना! उनले नाच्दा उनको अनुहार देखिँदैनथ्यो। उनले कोरसमा नाच्दा पनि पछाडि फर्किएर नाच्नुपर्ने भयो। तर पनि खुसी नै थिए दिलीप। ‘आखिर फिल्ममा त नाचियो नि!’, उनले भने।

 

अब उनलाई फिल्ममा अनुहार देखाएर नाच्ने मन भयो। धेरै फिल्ममा कोरस नाचिसकेका उनलाई त्यो शोख पूरा गर्न झन्डै एक वर्ष लाग्यो। भन्छन्, ‘लगभग एक वर्षपछि फिल्म ‘परिभाषा’मा काम गर्दा अनुहार देखाएर नाच्ने अवसर पाएको थिएँ।‘ कुरा २०५२ सालको हो। उनले एउटा ‘एनटिभी नाइट’मा नाच्ने अवसर पाए। त्यहाँ उनले दिएको प्रस्तुतिबाट धेरै नेपालीले उनलाई चिनिसकेका थिए। धेरैले उनलाई राम्रो डान्सर भनेर नोटिस गरिसकेका बताउँछन् दिलीप ।

 

लगत्तै उनले ‘मोसन पिक्चर्स अवार्ड’मा नाच्ने अवसर पाए, जहाँ फिल्म क्षेत्रका हस्तीहरू उपस्थित थिए। उनले त्यहाँ दिएको प्रस्तुतिबाट उपस्थित सबै प्रभावित भए। वरिष्ठ निर्देशकहरू तुलसी घिमिरे, यादव खरेल, शिव रेग्मी, नारायण पुरी पनि उनको नृत्यको फ्यान भए। उनीहरूले दिलीपलाई फिल्ममा खेलाउन चाहे। तर, दिलीपले त्यो कुरा पत्तै पाएनन्। उनले त्यहाँ प्रस्तुति दिए अनि आफ्नो बाटो लागे। त्यसबेला फोन थिएन। दिलीपसँग सिधा सम्पर्क गर्न कसैले सकेनन्। को हो दिलीप? कहाँ बस्छ? कसैलाई थाहा थिएन।

 

यसै क्रममा एक दिन फिल्म क्षेत्रमै काम गरिरहेका कमल राईसँग दिलीपको भेट भयो। कमलले दिलीपलाई देख्नेवित्तिकै भने, ‘ओई तिमीलाई फिल्म खेलाउन भनेर निर्देशकहरू खोजिरहेका छन्। कता हराएको तिमी?’ दिलीप झस्किएका थिए, ‘हुम्! मलाई फिल्म खेलाउने रे!’ आखिर यो सत्य थियो। उनलाई फिल्ममा खेलाउन जोसुकै निर्देशक पनि तयार थिए। दिलीप हिट हुँदै गर्दा फिल्म क्षेत्रमा राजेश हमालको दबदबा थियो।

 

जताततै राजेशकै फिल्म आउँथे तर दिलीप हिट भएसँगै राजेश हमाललाई पनि हम्मेहम्मे पर्‍यो। दिलीप भन्छन्, ‘कुनै समय मैले राजेश दाइलाई गाह्रो पक्कै पारेको थिएँ।’ त्यसबेला दिलीपलाई तुलसी घिमिरे मनपर्थ्यो। उनैलाई भेट्न गए। ‘अब हिरो नै लिन लागेको भनेपछि त अलिक फुर्ती देखाएर जानुपर्‍यो’, भेट्न जादाँको रमाइलो किस्सा सम्झिए, ‘तुलसी दाइलाई भेट्न जाँदा एउटा दाइको बाइक मागेर लिएर गएँ।‘

 

फिल्म खेल्ने पक्का भयो। निर्देशक घिमिरेले उनका लागि भनेर ‘दर्पणछाया’को कथा लेख्न थाले। उनले फिल्म दर्पणछाया छायांकन नहुँदै ‘भानुभक्त’मा काम गरे। यस फिल्मलाई यादव खरेलले निर्देशन गरेका थिए। सुरुमा यस फिल्ममा हरिवंश आचार्यले खेल्ने कुरा थियो तर पछि हरिवंशले गर्न नसक्ने भएपछि दिलीपलाई यो फिल्म खेल्नका लागि हरिवशंले नै सुझाएका रहेछन्।

 

निर्देशक खरेललाई भनेर हरिवंशले दिलीपलाई फोन गरेर उक्त फिल्म खेल्न भनेका थिए। हरिवंश र दिलीपले यसअघि सँगै एक गाईजात्रामा काम गरेका रहेछन्। सानैदेखि हरिवंशका फ्यान दिलीपले हरिवंशले भनेको कुरा नाई भन्नै सकेनन्। भनुभक्तमा काम गरे। भानुभक्तपछि उनले लगातार ‘दर्पणछाया’, ‘दोमन’, ‘आफ्नो मान्छे’, ‘लक्ष्मण रेखा’, ‘जिन्दगानी’, ‘नातेदार’लगायत ९ वटा फिल्ममा अभिनय गरिसकेका थिए। तर, उनको एउटा पनि फिल्म रिलिज भएको थिएन। उनको पहिलो फिल्मका रूपमा ‘भनुभक्त’ रिलिज भयो।

 

भनुभक्तले व्यावसायिक सफलता हासिल गर्न सकेन। त्यसपश्चात उनको दोस्रो फिल्म ‘लक्ष्मण रेखा’ प्रदर्शनमा आयो। उनी आफैँ उक्त फिल्म हेर्न हलमा गए। आफैँले आफ्नो फिल्म हेर्न सकेनन्। दिलीप भन्छन्, ‘मैले मेरो फिल्म हेर्दा आफैँलाई यति झुर लाग्यो कि म आफूले त्यो फिल्म नै पूरै हेर्न सकिनँ।‘ दिलीपले जहाँ पनि आफ्नो कमजोरी मात्र देख्थे । उनले आफूलाई अनुभूत गर्न थाले ‘ओहो! म त फिल्मको लागि हैन रहेछु। यत्तिका झुर देखिन्छु भने के फिल्म खेल्नु र?’

 

उनलाई फिल्ममा अभिनय गर्ने कुराबाट मन मरिसकेको थियो। ‘अब म फिल्म खेल्दिनँ बरु नृत्य निर्देशक बन्छु‘ भनेर उनले फिल्ममा अभिनय गर्न पनि छोडेको सुनाए। केही समयपछि उनी अभिनित फिल्म ‘दर्पणछाया’ प्रदर्शनमा आयो। तुलसी घिमिरे, उत्तम प्रधान, निरुता सिंहसँगै उनी पनि फिल्म रिलिजको लागि धरान पुगे। उनीहरू त्यहाँ पुग्दा पनि हलमा दर्शकको उल्लेखनीय साथ रहेन। त्यसबेला फिल्ममा फाइटका सिनहरू बढी रुचाइन्थ्यो। जतिले फिल्म हेरे, फिल्ममा फाइटका सिनहरू खोजे। भन्थे, ‘यो फिल्ममा फाइट भएको भएचाहिँ राम्रो हुन्थ्यो।

 

‘ केही दिन धरान बसेर उनीहरू काठमाडौं फर्किए। दिलीपमा झन फ्रस्टेसन बढ्न थाल्यो। त्यही क्रममा दिलीप अभिनित फिल्म ‘जिन्दगानी’ काठमाडौंमा रिलिज भयो। उनी आफ्नो फिल्म हेर्न जानै सकेनन्। भन्छन्, ‘मैले पहिला आफ्नो फिल्म लक्ष्मण रेखा हेरिसकेको थिएँ, जसबाट म आफैँलाई छ्या भन्ने जस्तो भएको थियो। त्यही भएर पनि मैले आफ्नो कुनै फिल्म हेर्न आँटै गरिरहेको थिइनँ।‘ ‘जिन्दगानी’मा दिलीपसँगै राजेश हमालको पनि मुख्य भूमिका थियो। जिन्दगानी पनि सफल भयो। दिलीपको कामलाई धेरैले मनपराए। धेरैले उनको कामको प्रशंसा पनि गरे।

 

तर दिलीपलाई उक्त कुरामा विश्वास नै थिएन। साथीहरूले उनको कामको प्रशंसा गरे पनि दिलीप त्यसलाई पत्याउँदैनथे। केहि दिनपछि दिलीपलाई तुलसी घिमिरेको फोन आयो। ‘भाइ, दर्पणछायाले ५१ दिन मनाउला जस्तो छ। जानुपर्छ है!‘ दिलीपलाई उक्त कुराको विश्वास नै थिएन। तर पनि जाउँ न त भनेर दिलीप तुलसी घिमिरेसँगै मोफसल गए। जे सोचेर दिलीप बाहिर गएका थिए, त्यसको ठीक उल्टो थियो। सम्झिन्छन्, ‘मलाई त लागेको थियो अब त फिल्म हेर्ने दर्शक २/४ जना बाँकी होलान् तर होइन रहेछ। दर्शकको चाप देखेर म नै छक्क परेको थिएँ।‘ दिलीपलाई देखेपछि फोटो खिच्ने, अटोग्राफ लिने दर्शकको भीड लाग्यो। दिलीप आफैँमा दंग परे।

 

‘बल्ल एउटा सपना पूरा भयो‘, उनको सन्तुष्टि आँखा र अनुहारमा एकै साथ चम्कियो। ‘जिन्दगानी’ले पनि ५१ दिन मनायो। उनमा झन फिल्म मोह बढ्यो। फिल्म खेल्नबाट हराइसकेको मन पुन: फिल्म खेल्नतिर फर्कियो। उनको फिल्म ‘आफ्नो मान्छे’ रिलिज भयो। उक्त फिल्मले पनि बम्पर हान्यो। दिलीपको क्रेज झनै बढ्दै गयो। जब उनका ३ फिल्म रिलिज भए, उनलाई फिल्ममा खेलाउनका लागि निर्माता/निर्देशकहरू लाइनमा थिए। दिलीप भन्छन्, ‘तीनवटा फिल्म सफल भइसकेपछि त फिल्मको अफर त कत्ति आए आए।‘

 

दिलीप लगातार फिल्ममा काम गर्दै गए। उनी दिनमा ७ वटा फिल्ममा समेत काम गर्थे। सम्झिन्छन्, ‘मैले वर्षौंसम्म दिनभर रातभर नसुती नसुती काम गरेको छु।’ उनी फिल्ममा काम गरेर बाँकी बचेको थोरै समय मात्र सुत्थे। कहिलेकाहीँ धेरै निद्रा अनि थकाइले गर्दा बाटैमा निदाउने गरेको दिलीप सुनाउँछन्। दिलीप हिट हुँदै गर्दा फिल्म क्षेत्रमा राजेश हमालको दबदबा थियो। जताततै राजेशकै फिल्म आउँथे तर दिलीप हिट भएसँगै राजेश हमाललाई पनि हम्मेहम्मे पर्‍यो।

 

दिलीप भन्छन्, ‘कुनै समय मैले राजेश दाइलाई गाह्रो पक्कै पारेको थिएँ।’ उनले धेरै फिल्ममा अभिनय गरिसकेका थिए। अब उनलाई फिल्म निर्माणमा चासो बढ्यो। उनले फिल्म ‘हामी साथीभाइ’ नामक फिल्म निर्माण गरे। तर यस फिल्मले उनलाई नराम्रोसँग डुबायो। त्यसयता उनले उक्त डुबेको रकम उठाउनका लागि भए पनि धेरै फिल्ममा अभिनय गरेको बताउँछन्।

 

‘हो, दिलीपले राम्रो फिल्ममा काम गरेन भन्ने धेरै कमेन्ट आउँथ्यो’, उनी भन्छन्, ‘जस्तो पनि फिल्म खेल्नु मेरो बाध्यता थियो।’ उनले फेरि ‘मिस यु’ फिल्म निर्माण गरे। उक्त फिल्मबाट भने दिलीपले त्यति घाटा व्यहोर्नुपरेन। दिलीपले अभिनय गरेको फिल्मको संख्या २०० बढी भइसकेको थियो। उनी फिल्मबाट बेक्र लिँदै अमेरिका पुगे। आफ्नो परिवारलाई व्यवस्थित गर्न उनी अमेरिका पुगेका थिए। छोरीको पढाइका लागि उनको परिवार अमेरिकामा छ। तर, धेरैले नेपाल आउनु, नेपालमै केही गर्नुपर्छ भन्ने कुरा सुझाएपछि दिलीप नेपाल फर्किएका छन्।- कन्काई न्युज