काठमाडौं, पुस २७, विवेकशील साझा पार्टी एकता भएको डेढ वर्ष नपुग्दै विभाजित भएको छ । लामो विवादपछि २७ पुसमा विवेकशील साझा पार्टी विभाजित भएको छ। पार्टीका एक संयोजक उज्वल थापाको नेतृत्वमा १६ केन्द्रीय सदस्यहरू अलग भएका हुन्।


४२ प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निवेदन दिइएको दाबी गरिएको छ । विवेकशील साझा पार्टीका दुई सहसंयोजकमध्ये उज्ज्वल थापाले ‘विवेकशील नेपाली दल’ नामको नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।


विवेकशील साझाको केन्द्रीय समिति ३७ सदस्यीय थियो। विभाजित केन्द्रीय सदस्यहरूले ‘विवेकशील नेपाली दल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। नयाँ दलमा प्रदेश-३ का दुई सांसदहरू रमेश पौडेल र विराज भट्ट पनि सामेल भएका छन्। काठमाडौं महानगरमा मेयरको उम्मेदवार बनेकी रञ्जु दर्शना पनि नयाँ पार्टीमा सामेल भएकी छन् ।


हस्ताक्षर प्रमाणित गरेर दल दर्ता प्रक्रिया अघि बढाउने निर्वाचन आयोगले जनाएको छ । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरू रमेश पौडेल, विराट भट्ट, रञ्जु दर्शना, डा. अनुषा थापा, सुबुना बस्नेत, गोविन्द नारायण, पुकार बम, अर्जुनसिंह ठकुरी, साधना राई, शक्तिबिक्रम कार्की, अजिता राई, जीवन श्रेष्ठ, आशुतोष तिवारी, ज्ञानेन्द्र निरौला र मिलन पाण्डेले नयाँ दल दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर गरेका छन्।