इटहरी– रुँदै अचानक घर फर्किएकी जेठी छोरी अस्मितालाई हनहन्ती ज्वरो आयो। ज्वरो नथामिएपछि बाआमाले सुरुमा धामीझाँक्री देखाए। पार नलागेपछि अस्पताल पनि पुर्‍याए। आँखाको सामान्य औषधि दिएर डाक्टरले घर फर्काइदिए। तर अस्मिताको बिराम बिसेक भएन। दिनदिनै अवस्था बिग्रँदै गयो।

 

केही दिनमा ज्वरो त थामियो तर बिस्तारै मानसिक समस्या देखा पर्न थाल्यो। ‘त्यसपछि एक्कासि ढल्ने, आँखा बटार्ने, मुर्छा पर्ने, कसैले भनेको नटेर्ने, बाटोमा मनपरी बोल्दै हिँड्न थाली,’ आमा मनमाया तामाङ भन्छिन्। उनका अनुसार सुरुमा अस्मितालाई आँखा चिलाउने र जिउ दुख्ने समस्या देखिएको थियो।

 

धामीझाँक्रीले ठिक नपारेपछि काठमाडौंको वीर अस्पताल पुर्‍याएको मनमायाको भनाइ छ। वीरका डाक्टरले सामान्य भने पनि रोग झनै बढ्न थाल्यो। त्यसपछि भारतका विभिन्न अस्पतालमा पुर्‍याउँदा पनि बिसेक भएन। ‘कुनै अस्पताल पुर्‍याउँदा पनि रोग पत्ता नलागेपछि घरैमा ल्याएर राखेका हौं,’ मनमाया भन्छिन्, ‘भएभरका धामीझाँक्री र सुने/देखेजति डाक्टरलाई देखाउँदा समेत निको भएन।’

 

इटहरी-२ का लक्ष्मण र मनमायाका छोरी अस्मिता मात्र होइन चारै सन्तान अपांगताबाट गुज्रिइरहेका छन्। तीन जना चटपटाउनसमेत सक्दैनन्। कान्छो छोरालाई पनि अब त समस्याले गाँजिसकेको छ।
‘दैव निष्ठुरी भएपछि!’

 

सुरुमा सबै सन्तान स्वस्थ जन्मिएका थिए। १५/१७ वर्ष पुगेपछि सबै भटाभट थला पर्न थाले। ‘पहिला सबै राम्रै जन्मिएका हुन्। स्वास्थ्य पनि राम्रै थियो। तर, अहिले सबै नानीहरू ओछ्यानमा छन्। खै, केले गर्दा हो एउटा नानी पनि राम्रो हुन सकेन,’ मनमाया सुस्केरा काढ्छिन्।

सुरुमा जेठी छोरी अस्मिताबाट सुरु भएको रोगले एकपछि अर्को गर्दै अहिले सबैलाई ग्रसित बनाएको छ। ‘रोग के हो र कसरी उपचार हुन्छ भन्ने नै पत्ता लागेन,’ मनमायाका पति लक्ष्मण बिलौना गर्छन्।

 

अस्मितापछि भाइ सरोज अनि त्यसपछिकी सुस्मितालाई पनि उस्तै रोग देखापर्‍यो। अहिले तीनैजना ‘कोमा’मा छन्। सबै सन्तान अपांग बनेपछि तामाङ परिवारमा न चाडबाडले छुन्छ, न त कुनै उत्सवले।

कान्छो छोरा त स्वस्थ थिए। हिजोआज उनी पनि राम्ररी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन्। उनको आँखा पूरै बन्द भएको छ। शरीर मोटाएर आफैंले थाम्न नसक्ने भएको छ। कक्षा ६ मा पढ्दै गर्दा एक्कासि ज्वरो आउने र आँखा नदेख्ने रोग लागेपछि उनी अहिले घरमै दिन काट्छन्।

 

अस्मितालाई रोगले च्यापेको केही वर्षमै उनका भाइ सरोजलाई पनि त्यही लक्षण देखापर्‍यो। सरोजलाई पनि उसैगरी धेरै अस्पताल पुर्‍याएको तामाङ दम्पती बताउँछन्। उनले पनि दिदी जस्तै चिच्याउने, कराउने र असामान्य व्यवहार देखाउन थाले।
समस्या दिदी-भाइमा मात्र होइन।

 

उनीपछि त्यसपछि जन्मिएकी सुस्मितामा पनि त्यही रोगले च्याप्यो। स्कुलबाट घर फर्किएलगत्तै उनमा ज्वरो आउने र आँखा पोल्ने समस्या देखिएको मनमाया बताउँछिन्। ‘कतै उनलाई चाहिँ ठिक भइहाल्छ कि भन्दै हतार गरेर अस्पताल पुर्‍यायौं,’ मनमाया भन्छिन्, ‘तर दैव निष्ठुरी भएपछि कसैको केही लाग्दैन भन्थे हो रहेछ। कान्छी छोरीलाई पनि रोगबाट निकाल्न सकिएन।’

 

छोराछोरीको स्याहारमै बित्छ दिन
तामाङ दम्पतीका तीन सन्तान यतिबेला एउटै कोठामा कुँजिएर बसेका छन्। सिधा परेको हात खुम्चिँदैन। खुम्चिएको खुट्टा पनि सिधा हुँदैन। उनीहरु बोल्नसमेत सक्दैनन्। कान सुन्दैनन्।
खान पनि दुई वटा सिरानी थाक लगाएर दुःखले खुवाउनुपर्छ। कहिलेकाहीँ त एक थोपा पानी पनि खाँदैनन्।

 

उठ्नबस्न नसक्ने भएपछि सुतेकै ठाउँमा दिसापिसाब गर्छन्।
१५ वर्षदेखि मनमायाको दैनिकीको रुटिन एउटै ‘फ्रेम’मा बाँधिएको छ। बिहानदेखि साँझसम्म छोराछोरीको स्याहारमै बित्छ। अरु काम गर्न उनलाई फुर्सद हुन्न।

 

लक्ष्मण नेपाली सेनाका रिटायर्ड सिपाही हुन्। पेन्सनबाट आएको रकमले जेनतेन परिवार चलेको छ। छोराछोरीको लागि उनले अतिरिक्त आम्दानीको बाटो रोजेका छन्। हाल उनी एक सहकारीमा बजार प्रतिनिधिको रुपमा काम गर्छन्। उही कामबाट खानेकुरा र औषधिको बन्दोबस्ती मिलाउँछन्।

 

सहयोगीले दिएको रकम बैंकमा राखेका छन्। त्यसबाट आएको ब्याजले केही टेवा त दिएको छ। तर, अहिलेसम्म यत्तिका अस्पताल घुमाउँदासमेत रोग पत्ता नलाग्दा छोराछोरीको जीवन यत्तिकै बित्ला कि भन्ने चिन्ताले उनलाई सताएको छ।

‘कम्तीमा एउटा मात्र राम्रो भइदिएको भए वंश त जोगिने थियो,’ उनी सुँकसुकाउँछन्, ‘दैवले साथ नदिएपछि मान्छेको केही लाग्दो रहेनछ।’

भिडियो