पाठेघर खस्ने समस्याले धेरै नेपाली महिला पीडित छन्। यसलाई बोलीचालीको भाषामा आङ खस्ने पनि भनिन्छ।पाठेघर खस्न नदिन गर्भवती अवस्थाको अन्तिम तीन महिना आराम गर्नुपर्छ। सात महिना पार गरेपछि सावधानी अपनाउनुपर्छ। प्रसूतिपछि कम्तीमा डेढ महिना आराम गर्नुपर्छ। यस अवधिमा पेट कसिलो बनाउने सामान्य व्यायाम गर्नुपर्छ।

पाठेघर खस्ने भनेको के हो ?
पाठेघर आफ्नो स्थानमा हुन्छ। यसलाई एक प्रकारको तन्तुले अड्याएको हुन्छ। कुनै कारणले तन्तु तन्किएर या च्यातिएर पाठेघर अडिन सकेन र आफ्नो स्थानबाट केही तल वा पूरै तल खसेको अवस्थालाई ‘पाठेघर खस्ने’ भनिन्छ।

पाठघेर अडिनका लागि के–को सहयोग चाहिन्छ ?
शरीरका सबै अंगहरू हड्डी तथा तन्तुले अडिएका हुन्छन्। त्यसैगरी पाठेघर पनि तन्तुको भरमा अडिएको हुन्छ। पाठेघरदेखि तलको भागसम्म रहेको यो तन्तु बच्चा जन्मिने बेला तन्किन्छ।  राम्रोसित प्रसूति नभएमा, बच्चा धेरै ठूलो भएमा, शल्यक्रिया नगरी बच्चा जन्माएमा, बच्चा जन्माउँदा लामो समय व्यथा लागेमा पाठेघर अड्याउने तन्तु कमजोर हुन्छ। बच्चा जन्मिसकेपछि पनि पहिलाका तन्तुहरू विस्तारै आफ्नो पुरानै अवस्थामा फर्किन्छन्। यसका लागि सुत्केरीले आराम गर्ने, गह्रौं काम नगर्ने तथा पौष्टिक खाना खाने गर्नुपर्छ।  

यसो नगरी सुत्केरीकै बेला जथाभाबी काम गर्ने, पौष्टिक आहार नखाने गरियो भने तन्केको त्यो तन्तु सामान्य अवस्थामा फर्किन सक्दैन। बरु अझ कमजोर भएर उल्टै पाठेघर झर्न थाल्छ। त्यसमा पनि सुत्केरीलाई कुपोषण छ भने त झरेको झर्‍यै हुन्छ। अझ वर्षैपिच्छे बच्चा पाएमा तन्तुमा भार थपिएर यो झन्–झन् कमजोर बन्दै जान्छ।
गर्भवती भएका बेला यसै पनि शरीरका सबै तन्तु नरम भएका हुन्छन्। पटक–पटक र छिटो–छिटो असुरक्षित तरिकाले बच्चा पाउँदा पाठेघर खस्छ। प्रसूति सेवाप्रदायक छैनन् र स्वास्थ्य संस्थामा नगइकन सुत्केरी भएमा पाठेघर खस्ने जोखिम धेरै हुन्छ। यसलाई असुरक्षित प्रसूति भनिन्छ। बच्चा पाउनु नै पाठेघरका लागि आफैँमा जोखिमको कुरा हो।

गर्भपतन गराउँदा पाठेघर खस्ने समस्या हुन्छ कि हुँदैन ?
चिकित्सकले तोकेको अवधि भित्रको गर्भपतन गराएमा सामान्यतया पाठेघर खस्ने समस्या आउँदैन। २२ हप्ताभन्दा मुनिका गर्भ, पतन गराएमा सामान्यतया यो समस्या हुँदैन। तर तोकेको अवधिभन्दा बढीको गर्भ पतन गराएमा, अदक्ष स्वास्थ्यकर्मीले जबर्जस्ती पाठेघर तानेमा पाठेघर खस्ने जोखिम हुन्छ।

पाठेघर खस्ने समस्या भएकाहरू कुन उमेरका छन् ?
धेरैजसो ४५ देखि ५० वर्षसम्मका छन्। यद्यपि ४० देखि ६० वर्षसम्मकै महिलामा यो समस्या देखिन्छ। गाउँमा भएका स्वास्थ्य शिविरहरूमा जाँदा उक्त उमेरभन्दा कमका महिलामा पनि पाठेघर खस्ने समस्या पाइएको छ। गाउँतिर ३० वर्षकै उमेरमा पनि पाठेघर खस्ने समस्या भएको पाइन्छ।कारण के हो भने त्यहाँ यही उमेरभित्र तीनवटासम्म बच्चा पाइसकेका हुन्छन्। यसकारण पाठेघर खस्ने समस्या पनि सानै उमेरमा भएको हो।

नेपालमा पाठेघर खस्ने समस्या देखिनाको मुख्य कारण,
हाम्रो देशमा अशिक्षा, भौगोलिक विकटता, स्वास्थ्यबारे जनचेतना अभाव, बालविवाह, दक्ष स्वास्थ्यकर्मीको कमीजस्ता कारणले पाठेघर खस्ने समस्या बढी भएको हो। सानै उमेरमा विवाह गर्दा लामो समयदेखि यौन सम्पर्क हुने भएकाले यौन रोगको जोखिम पनि बढी नै हुन्छ।  जसका कारण पछि गएर पाठेघरको मुखको क्यान्सर हुने सम्भावना पनि उत्तिकै हुन्छ।

पाठेघर खसेपछि देखापर्ने लक्षण,
योनीबाट केही निस्केजस्तो हुने, पानी बग्ने, कतिपयलाई छिटो–छिटो पिसाब लाग्ने, संक्रमण भएर पनि छिटो–छिटो पिसाब लाग्ने हुन्छ, कतिलाई पिसाब रोकिने समस्या पनि हुन्छ। पाठेघरसँगै दिसा गर्ने भाग पनि तल झर्ने हुनाले दिसा गर्न पनि समस्या हुन्छ। पिसाब फेर्दा एकै पटकमा सबै निस्कँदैन। पाठेघरभित्र पसाएपछि मात्र पिसाब निस्कन्छ।
पाठेघर धेरै झरेको छ भने यौन सम्पर्क गर्दा पनि अप्ठेरो हुन्छ। यस्तो समस्या लिएर पनि उपचारमा आउने गरेका छन्। पाठेघरसम्बन्धी समस्याकै कारण दुर्गम पहाडतिर पतिले अर्को विवाह गरेको पनि देखिन्छ। आफ्नो समस्याकै कारण पतिले अर्काे विवाह गरेको भनेर महिलाले पनि यसलाई स्वीकार गरेका हुन्छन्।

पाठेघर खसिहाल्यो भने थप बढ्न नदिने उपाय,
केही व्यायाम छन् जुन गरेपछि केही नियन्त्रण गर्न सकिन्छ। शरीरको तल्लो भागलाई माथि तानेजस्तो गरेर दिनको तीनपटक ६ महिनासम्म गरेमा केही नियन्त्रण हुन्छ। साथै योनीभित्र रिङ पनि राख्नुपर्छ। यो स्वास्थ्य संस्थाहरूमा उपलब्ध छन्। बजारमा दुई प्रकारका रिङ छन्। एउटा रबरको, अर्को सिलिकनको। यीमध्ये सिलिकनको रिङ स्वास्थ्यका लागि राम्रो मानिन्छ। रबरको तीन–तीन महिनामा फेर्नुपर्छ तर सिलिकनको रिङ सफा गरेर पुनः राख्न मिल्छ।

पाठेघर खस्नै नदिने उपाय,
गर्भवती अवस्थाको अन्तिम तीन महिना आराम गर्नुपर्छ। सात महिना पार गरेपछि सावधानी अपनाउनुपर्छ। प्रसूतिपछि कम्तीमा डेढ महिना आराम गर्नुपर्छ। यस अवधिमा पेट कसिलो बनाउने सामान्य व्यायाम मात्र गर्न सकिन्छ।
प्रसूतिपछि यौन अंगहरू सामान्य अवस्थामा फर्किन कम्तीमा ६ हप्ता लाग्छ। त्यसकारण यस अवधिमा नियमित पौष्टिक खानेकुरा खाने, आराम गर्ने र बच्चालाई दूध चुसाउने गर्नुपर्छ। यसपछि पनि यी अंगहरू सामान्य अवस्थामा फर्किसकेका हुँदैनन्। यसैकारण सरकारले १४ हप्ता सुत्केरी बिदा दिन थालेको हो।

सुत्केरीपछि पाठेघरका तन्तु पहिलेकै अवस्थामा फर्किन लाग्ने समय,
सबै तन्तु सामान्य अवस्थामा फर्किंदैनन्। जुन सामान्य अवस्थामा आउने तन्तुहरू हुन्छन् ती ६ हप्तामै आइसक्छन्। यौन अंगको नली केही ठूलो भएको हुन्छ। पछि यो केही सानो भएर आउँछ। पूरै पहिलेकै जस्तो चाहिँ हुँदैन। केही तन्तुहरू यस्ता छन् जुन जिन्दगीभर पहिलेको अवस्थामा आउँदैनन्।
खोक्दा पेटको तन्तुमा दबाब पर्छ गह्रौं भारी बोकेजस्तै। सबै भागलाई केही न केहीले अड्याएको हुन्छ। त्यसकारण जाडो मौसमका सुत्केरी खोकीबाट बच्न न्यानो बस्नुपर्छ।

पाठेघर तथा मलद्वारको उपचार,
पाठेघर खस्यो भने सपोर्टिभ भाग सिलाइन्छ। सिलाएर मात्र नहुने अवस्था छ भने पाठेघर नै निकालेर शल्यक्रिया गरिन्छ। शल्यक्रियामा सबैलाई पाठेघर नै फाल्नुपर्ने अवस्था आउँदैन। बच्चा पाउनै पर्नेको हकमा निस्केको पाठेघर माथि निकालेर पनि शल्यक्रिया गरिन्छ। तर बच्चा शल्यक्रिया गरेरै निकाल्नुपर्छ। अन्यथा पुनः भित्री भाग च्यातिन सक्छ।