काठमाडौं – सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेकले काठमाडौंमा `सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा´ माघ १५ देखि २० गतेसम्म ६ दिन आयोजना गर्ने भएको छ ।

यस्तै, प्रदेश अनुसार प्रादेशिक महोत्सव गर्दैछ । प्रदेश १ को विराटनगरमा पुस १९ देखि २३ सम्म सन्चालन भईसकेको छ । प्रदेश २ को वीरगन्जमा पुस २७ देखि ३० सम्म सन्चालन भईरहेको छ । प्रदेश ३ को चितवनमा माघ २५ देखि २९, गण्डकी प्रदेशको पोखरामा फागुन २४ देखि २८, प्रदेश ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ सम्म सन्चालन हुदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यानले जनाएको छ। मेलालाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । यसपटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास गरिएको क्यान महासचिव रञ्जितकुमार पोदारले जानकारी दिए। 
क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ-नयाँ स्किमहरु ल्याइएको छ । मेलामा प्रत्येक तीन-तीन घण्टामा चिठ्ठामार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर र एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गरिने क्यानले जनाएको छ ।

सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषय अध्ययनरत विद्यार्थीले मेलास्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आईटी कम्पनीहरुमा पठाइदिनेछ र रोजगारीका लागि आवश्यक सहजीकरण गरिदिने क्यानको दावी छ ।