नेपाल घर नुवाकोट भएका सफ्टवेयर इन्जिनियर क्षितिजराज लोहनीले एक वर्ष अघि सामाजिक सञ्जाल लिंकडिनमा लेखे, ‘एप्पलमा भर्खर काम सुरु गरेँ। हे मेरा भगवान ! म, मेरो कम्पनी, टिम र मेरो जिम्मेवारीलाई माया गर्छु।’

 

‘एप्पलको छनौट प्रक्रिया अति सुक्ष्म र वैज्ञानिक छ। पाँच चरण पार गरेर म छानिएको हुँ’, उनी भन्छन्, ‘अहिले आइफोन विभागको जिम्मेवारीमा छु।’ यति कठिन छनौट प्रक्रिया पार गरेर एप्पल नै किन जाने त ? यसमा व्यक्तिपिच्छे आ–आफ्नै अनुभव आधारित धारणा हुन सक्लान्। बष्टनको नर्थ इष्टर्न युनिभर्सिटीबाट चार वर्षअघि कम्प्युटर साइन्समा स्नातक गरेका क्षितिज एप्पल जानुअघि भुक्तानीसम्बन्धी अर्को टेक कम्पनी पेपलमा थिए। त्योभन्दा अगाडि उनले गोल्डम्यान स्याक्समा काम गरेका थिए।

 

सुनिल खनाल एप्पलमा काम गर्ने अर्का नेपाली हुन्। उनी तपाइँ हाम्रो साथमा रहने आइफोन, म्याबुक अकाउन्टको सुरक्षा हेर्छन्। मसिन लर्निङ इन्जिनियर उनी सिनियर डाटा साइन्टिस्टको भूमिकामा छन्। एप्पलका अनलाइन अकाउण्ट ह्याक गर्न विश्वका खुँखार ह्याकरहरु प्रयत्नशील रहन्छन्। खनालसहितको टोली त्यस्ता ह्याकरको प्रयास विफल पार्न ड्युटीमा हुन्छ।

 

‘जोखिमलाई पहिचान गरेपछि त्यस्ता ह्याकरका प्रयासलाई मेसिन लर्निङको सहायताले ब्लक गर्ने काम हुन्छ। यो एउटा प्रविधिक कुरा हो तर मलाई रोमाञ्चक लाग्छ’, उनी सुनाउँछन्। सुनिल विश्व विख्यात स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक र कोलम्बियाबाट स्नातकोत्तर हुन्। नेपालमा उनले बुढानिलकण्ठ स्कूल पढेका थिए।

 

एप्पलसँग कूल कर्मचारी १ लाख ३२ हजार छन्। ती मध्ये अर्की एक हुन्, नयाँ वानेश्वर काठमाडौं घर भएकी अदिती अधिकारी। अदिती मेसिन लर्निङ इन्जिनियर हुन्। उनी एप्पल म्याप्समा कार्यरत छिन्। विद्यालयमा छँदा दन्त चिकित्सक बन्ने रहर साँचेकी उनको मन पछि डेटा साइन्स, कोडिङ र डेटा माइनिङतिर लाग्यो। त्यसपछि उनको करिअर कम्प्युटरतर्फ मोडियो। सन् २०१७ मा युनिभर्सिटी अफ इलिनोइबाट स्नातक सकेपछि इन्टर्नसीपका लागि उनी एप्पल छिरेकी थिइन्।

 

‘इन्टर्नसीप नसकिँदै मलाई जागिरको अफर आयो। त्यतिबेला मैले एप्पलबाट जागिरको अपेक्षा गरेकै थिइनँ’, उनी सुनाउँछिन्। त्यसो त एप्पल जानुअघि अदितीले सिंगापुरको एउटा रिसर्च कम्पनीका लागि काम गरिन्। त्योभन्दा अगाडि नेपालमै सबैभन्दा धेरै आइटी इन्जिनियरलाई रोजगारी दिने डा. रुद्रराज पाण्डेको डियर वाकमा इन्टर्नसीप गरेकी थिइन्।

 

कति हुन्छ कमाइ?
पेशाकर्मीहरुको तलब अनुमान गर्ने र नयाँ भ्याकेन्सी प्रकासित गर्ने वेबसाइट ग्लासडोरअनुसार एप्पलमा काम गर्ने इन्जिनियरको तलब वार्षिक ७५ हजार डलरदेखि १ लाख ७२ हजार डलरसम्म हुन्छ। बोनस र अन्य सुविधासहित एप्पलका इन्जिनियरले वर्षको १ लाख ३० हजार डलरसम्म बुझ्छन्। अमेरिकी मापदण्डमा यो निकै आकर्षक तलब सुविधा हो।

(यो समाचार नेपालखबरका लागि सान्फ्रान्सिस्को बाट दिनेश कार्कीले लेख्नुभएको हो । हामिले केही भाग मात्र लिएका हौ, लेखकले नेपालखबरका लागि बिस्तृतमा लेख्नुभएको छ ।)