काठमाडौं – दिउसै जंगलमा भुत देखिएपछि गाउँलेहरुमा तनाव सृजना भएको छ । जंगलमा काम गर्न गएका वेला रुखले नै हिर्काउन थालेपछि गाउँलेहरुमा त्रास उत्पन्न भएको छ । यो रियल नभएर चर्चित हास्य टेलिसिरियल भद्रगोलमा भएको हो । नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हाँस्य सिरियल भद्रगोल यो हप्ता अली फरक कथा बस्तुुमा निर्माण भएको छ ।

 

मिडिया हवको उत्पादनमा प्रसारण हुँदै आएको उक्त कार्यक्रममा घुमाउरो पारामा भुतको कथालाई प्रस्तुत गरिएको छ । यो कथा बस्तुलाई धेरै दर्शकले रुचाएका छन । युट्युवको चर्चित पाँचमा परेको यो कार्यक्रममा बनमा अनाबश्यक भुत भएको प्रचार गर्ने र त्यहीबाट काठ तस्करी गर्ने प्रबृतिलाई जस्ताको तस्तै देखाउन खोजिएको छ । भिडियो तल हेर्नुहोस

 

 

(जिग्री-भद्रगोल) कुराकानी
मानिसका आ–आफ्नै दु:ख छन् । कसैलाई नभएर दु:ख, कसैलाई भएर, कसैलाई नपुगेर दु:ख, कसैलाई पुगेर । हास्य टेलिश्रृंखलाबाट परिचित कुमार कट्टेल अर्थात् जिग्री ब्रोले नाम र दाम दुवै कमाएका छन् । उनका फ्यान फलोईङ टन्नै छ । उनलाई के–को दु:ख होला ? कुमार कट्टेल यसै साता रामजी ज्ञवालीसँग गफिए ।

 

दिनहरू कसरी बिताउँदै हुनुहुन्छ ?
बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म विभिन्न काममा व्यस्त हुन्छु । हिजो भद्रगोल मात्र थियो, अहिले चारखालमा यो रेस्टुराँ चलाउन थालेका छौं । चाँडै क्रिकेट स्टेडियमको काम पनि सुरु हुँदैछ । मैले कल्पना गरेको क्रिकेट स्टेडियमको काम धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत अघि बढ्दैछ । त्यसबाहेक मेरा दाजुभाउजूले निर्माण गर्न लागेको चलचित्रको स्क्रिप्टको काम पनि हेरिरहेको छु ।

 

भनेपछि दु:खै रहेछ ?
यति दु:ख नगरे त सुख कहाँ पाइन्छ र ?
भद्रगोल टिमले चलचित्र निर्माणमा पनि हात हाल्दैछ भन्ने कुरा सही हो ?
सही हो । हामी चाँडै चलचित्र घोषणा गरी छायांकनमा जाने तयारीमा छौं ।
त्यो कस्तो चलचित्र हुनेछ ?
सामाजिक कमेडी ।

 

बजारमा यस्ता चलचित्र चलेका आधारमा त्यस्तै विषय छान्नुभएको हो ?
किन ढाँट्नु ? अहिले हास्य चलचित्रको बजार राम्रो छ । त्यही भएर यता हात हाल्न लागेको हो ।
माघ लाग्दैछ, विवाह गर्ने बेला भएन ?
तपाईंले भनेको कुरा ठीकै हो, तर कहिले हुन्छ ठ्याक्कै भन्न सक्दिनँ ।
फेला त पार्नुभएको होला ?
भेटिएकी छैनन् । भेटिइन् भने जानकारी गराइहाल्छु ।

 

तपाईंकी ड्रिम गर्ल कस्ती छिन् ?
मसँग जिन्दगी बिताउन सक्नुपर्‍यो । मेरो पारिवारिक एवं व्यवसायिक सबै जिम्मेवारीमा एडजस्ट हुनुपर्‍यो । त्यति भए, भैगो नि, अरू के चाहियो र ?
बिहान कति बेला उठ्नुहुन्छ ?
ढिलो सुत्ने बानी छ । सधैं जसो १–२ बजे सुत्छु । त्यसैले उठ्न ढिलो हुन्छ । अझ यो जाडोमा त बिहान १० बजेसम्म सुतिन्छ ।खाना घरमै खानुहुन्छ कि बाहिर ?
मन पर्ने खाना त घरकै हो । आमाले बनाएको खानाको त वर्णन नै गर्न सक्दिनँ । यद्यपि कामका कारण प्राय: बाहिरकै खाना खानुपर्छ ।

कस्तो खाना मन पर्छ ?
टिपिकल दाल, भात, तरकारीसँगै थोरै चटनी ।
चिया–कफी के पिउनुहुन्छ ?
कालो चिया पिउने बानी छ ।
जाडो मौसम छ, गर्मी मन पर्छ कि जाडो ?
गर्मीमा जाडो मन पर्छ, जाडोमा गर्मी, तर दुवैलाई दाँज्ने हो भने जाडोनै मन पर्छ ।

 

तपाईंले बोल्ने थेगो सक्किगो नि निकै हिट भयो, यसको आइडिया कसरी आयो ?
भद्रगोलको सुटिङ भैरहेको थियो । सुटिङ सकिनै लाग्दा अन्तिममा अन द स्पट सक्किगो नि भन्दिएछु, सबैले दामी भो भन्नुभयो । त्यो दृश्य जस्ताको तस्तै प्रसारण भयो । मिस्टेकमा बोलिएको त्यो शब्द यति हिट भयो कि, अचम्मै लाग्यो । त्यसपछि सक्किगो निको (साप्ताहिक संगको कुराकानी)

 

अभिनयको भोकले पासपोर्ट च्यातिदिए “बले-भद्रगोल”
हास्य टेलिशृंखला ‘भद्रगोल’को १८ भागमा देखापरेका कलाकर हुन् ‘बले’ अर्थात् सागर लम्साल। त्यसअघि नेपाली चलचित्र ‘लोफर’, ‘लज्जा’मा देखिएका उनी भद्रगोलमार्फत् सानो पर्दामा देखापरे। भद्रगोलमा १८ भाग प्रसारण भइसकेपछि उनको अभिनय र बोल्ने शैलीको सर्वत्र चर्चा हुन थाल्यो तर उनी हराए। २४औँ भागमा उनी ‘साङ्लो बोरो तपाईंको कपालचाहिँ हो के’ भन्ने डायलग लिएर पुन: भद्रगोलमा देखापरे। त्यसबाट उनी चर्चित पनि बने। लगातार उनी प्रत्येक भागमा काम गर्दै गए। चर्चाको उचाइ बढ्दै गयो।

 

अभिनयको भोकले जन्माएको एउटा कलाकारलाई २७औँ भागमा पुग्दा क्यानडाबाट भिसा आयो। स्नातकको पढाइ सकेर फुर्सदको समयमा मास्टर पढ्न क्यानडा एप्लाई गरेका थिए भने उता भद्रगोलमा काम गर्ने अवसर पनि पाएका थिए उनले। उनी भन्छन्, ‘यता दर्शकको वाहवाही छ, उता क्यानडाले बोलाएको छ। त्यो भन्दा तनाव केही हुँदोरहेनछ।’

 

उनी द्विधामा परे। घरमा छोरो क्यानडा गएर भविष्य सुनिश्चित गरिदिए हुन्थ्यो भन्ने सबैको कामना थियो। भद्रगोलका साथीहरूले ‘पाँच वर्षको मिहिनेत खेर जान्छ। पहिले यहीँ मिहिनेत गर्नुहोस्। केही उपाय नलागे क्यानडा अवसर छँदै छ’ भन्ने कुरा गरेपछि उनले आफूले अभिनयका लागि खर्चेको पाँच वर्ष र त्यसले सिकाएको पाठ सम्झिए। फलस्वरूप परिवारको इच्छाविपरीत उनले आफ्नो पासपोर्ट च्यातिदिए। देशमा बसेर आफ्नो सुन्दर भविष्यको कल्पना गर्न सकिने वातावरण तत्कालीन अवस्थामा थिएन। त्यो अवस्था अहिले पनि यथावत छ। उनी भन्छन्, ‘पासपोर्ट च्यात्दाखेरी आफूले ठूलै जोखिम लिएको जस्तो लागेको थियो। आफ्नै देशमा बस्न पनि यस्तो सम्झिनुपर्ने बाध्यता छ।’

 

सागर लम्साल भद्रगोलबाट ‘बले’ बने। हुनत यो पात्र ‘लोफर’ फिल्मको पात्र हो तर फिल्मले चर्चा कमाउन नसकेपछि यो पात्र पनि छायामा परेको थियो। यद्यपि, उनको अभिनयलाई भने दर्शकले मनपराएका थिए।

ठूलो पर्दाबाट सानो पर्दामा यसरी आइपुगे
‘लोफर’ फिल्म भद्रगोलका जिग्री, पाँडे र कक्रोजले हेरेका रहेछन्। बले पात्र मनपरेपछि उनीहरूले भद्रगोलमा अफर गरेको लम्साल बताउँछन्। उनी भन्छन्, ‘ठूलो पर्दामा काम गरेको हुनाले मनमा एक किसिमको दम्भ पनि थियो। ठूलो होस् या सानो, अभिनय नै मुख्य कुरा हो भन्ने लाग्यो पनि।’

 

फिल्म र टेलिफिल्ममा अभिनय गर्ने अवसर यति सजिलै प्राप्त भएको होइन उनलाई। उनी कसरी कलाकारिताको दुनियाँमा आइपुगे भन्ने उनी यसरी सुनाउँछन्। नेपाल टेलिभिजनमा प्रसारण हुने ‘थोरै भए पुगीसरि’मा उनका दाजु पनि कलाकार थिए। उमेको दूरी धेरै भइसकेपछि दाजुले कोरेको बाटो नै भाइहरूले पछ्याउने उनको बुझाइ छ। उनी भन्छन्, ‘दाइको उद्देश्य जे रहन्छ, भाइको उद्देश्य पनि धेरथोर त्यही हुनेरहेछ।’

 

दाजु कलाकार बनिसकेपछि आफूमा पनि कलाकारको भोक जन्मेको उनी बताउँछन्। उनी कक्षा ५ मा पढ्दाताकाको कुरा हो। उनलाई उनका शिक्षकले सोधेछन्, ‘मिस्टर सागर व्हाट इज योर एम?’ जवाफमा उनले भनिदिए, ‘एम इज टु बी अ हिरो।’ उनको जवाफ सुनेर सरले भनिदिए, ‘द्‍याट्स नट एम, द‍्याट्स होब्बी’ अर्थात् हिरो बन्ने चाहना लक्ष्य होइन, रुचि मात्र हो।

 

त्यसबेला कलाकार बन्नुलाई लक्ष्य भन्दा पनि रुचिको रूपमा लिने गरिन्थ्यो। आज पनि आमसोचाइमा कलाकार बन्नुलाई लक्ष्यको रूपमा लिन नसकेको उनले बताए।

एक दिन बालाजु पार्कमा नायक राजेश हमाल र पूजा चन्दको फिल्म सुटिङ भइरहेको थियो। बले अर्थात् लम्साल पनि फिल्म सुटिङ हेर्न गए। उनले त्यो भीडबाट राजेश हमाल भनेर हुटिङ गरे। भीडबाट सानो फुच्चेले आफ्नो नाम लिएको सुनेर हमालले उनलाई बोलाए अनि उनको नाम सोधे। अन्तिममा उनले भने, ‘बाबू, ठूलो मान्छे बन्नुपर्छ।’ त्यसबेला उनलाई लाग्यो, ठूलो मान्छे भनेको राजेश हमाल हो र राजेश हमाल बन्नुपर्छ।

 

त्यस दिनदेखि बाल मस्तिष्कमा ठूलो मान्छे बन्नुपर्छ अर्थात् राजेश हमाल बन्नुपर्छ भन्ने उनलाई लागिरह्यो। पढाइ सँगसँगै राजेश हमाल बन्ने लक्ष्य राखे उनले। कक्षा ८ मा जाँदा एक दिन उनले एउटा विज्ञापन देखे, जहाँ लेखिएको थियो, ‘कलाकार र मोडल बन्न चाहने इच्छुकलाई सुनौलो अवसर।’ हिरो बन्ने लक्ष्य राखेका उनी पासपोर्ट साइजको फोटो बोकेर गए। त्यहाँ भएका व्यक्तिले ‘तिम्रो उमेर न बालकलाकार बन्ने छ, न त हिरो बन्ने नै। अहिले पढ, पछि आऊ’ भनेर फर्काइदिए।

 

उनले स्कुल लेभल सके। ‌प्लस टु सके र स्पेनका लागि एप्लाई गरे । स्पेनले भिसा रिजेक्ट गरिदियो। किशोरावस्थामा जे देख्यो, त्यो हुनुपर्ने। जे चाह्यो, त्यो पाउनुपर्ने चाह रहन्छ। नपाउँदा विक्षिप्त हुनु किशोरावस्थाको स्वभाव हो। यो स्वभाव उनमा पनि देखियो।

उनी सिए पढ्न भारत गए। बिहान कलेज, दिउँसो जागिर। नजिकका उनका अंकल भारतीय सेनामा आवद्ध थिए। अंकलले भेटमा हिन्दी लवजमा भनिरहन्थे, ‘बढा आदमी बन्ना चाहिए।’ अंकलले यो कुरा गरेपछि उनले बच्चामा राजेश हमालले, ‘बाबू, ठूलो मान्छे बन्नुपर्छ’ भनेको सम्झिए। त्यसपछि भारतमा मोडलिङ इन्ष्टिच्युट खोजे। भेटाएनन्। अंकलको ‘बढा आदमी बन्ना चाहिए’ र राजेश हमालको ‘ठूलो मान्छे बन्नुपर्छ’ भन्ने भनाइले उनलाई झस्काइरह्यो।

 

ठूलो मान्छे भनेको कलाकार हो भनेर उनी नेपाल फर्किए। सिए छाडेर पुन: उनी बिबिए भर्ना हुन कलेज गए तर उनका समकालीन साथीहरू माथिल्लो सेमेस्टरमा पुगेछन्। समकालीन साथीहरूको जुनियर बन्न उनको मनले मानेन। उनी बिबिएस पढ्न थाले- शंकरदेव क्याम्पसमा।

बिहान पढ्ने र दिउँसो लाजिम्पाटमा सेल्स ब्वायको काम गर्न थाले। एक दिन कलेजबाट काम गर्न जाने क्रममा बागबजारमा मोडलिङ इन्ष्टिच्युट देखे तर उनको मनमा कलाकार बन्ने जोस मरिसकेको थियो। उक्त बोर्डलाई नकार्दै उनी पुतलीसडकको बाटो हुँदै दरबारमार्ग पुगेका मात्र के थिए, मन मानेन। केके सिकाउँदोरहेछ, एकचोटि बुझ्छु भनेर उनी पुन: बागबजार आए।

 

छुटसहित मोडलिङ सिकाउने भएपछि उनले मोडलिङ सिक्ने भए तर घरमा कसरी भन्ने? घरमा उनले ढाँटे। ‘म पुन: आइएलटिएस पढ्छु’ भन्दै घरमा पैसा मागे र मोडलिङ क्लास ज्वाइन गरे। एक दिन आमाले कापी चेक गरिदिइन् र उनको झूट पर्दाफास भयो। त्यसपछि उनले सत्य बोले। छोराको इच्छाले जन्माएको झूटलाई आमाले माफी दिइन्।

 

मोडलिङ सिकेको १५ दिनपछि उनले जागिर छाडिदिए। मोडलिङमा मात्र केन्द्रित भए। मोडलिङ क्लासमा त्यस बेला नाट्यकर्मी तथा कलाकार वीरेन्द्र हमालका विद्यार्थीसँग उनको मित्रता बढ्यो। साथीहरूले एक्टर बन्न एक्टिङ सिक्नुपर्छ भनिदिए। त्यसका लागि हमालले छ महिना कोर्सको २५ हजार रुपैयाँ लिने बताइदिए। २५ हजार रुपैयाँ तिर्ने उनको हैसियत थिएन तत्कालीन अवस्थामा। उनले एमआर थिएटर खोज्दै गए। वीरेन्द्रसँग छुट पाउन उनले झूट बोले।

 

‘जहाँ गए पनि मलाई वीरेन्द्र हमालको विद्यार्थी भन्छन्। मलाई कुनै पनि हालतमा तपाईंले नाटक सिकाउनुपर्‍यो’, भने। हमालले ‘सिकाउँछु तर २५ हजार लाग्छ’ भनिदिए। आफ‍्ना बाबुआमा किसान भएको हुनाले २५ हजार रुपैयाँ तिर्ने आफ्नो हैसियत नभएको भन्दै उनले भावुकता प्रकट गरे। उनको भावुकतामा चिप्लिएरर हमालले पाँच हजार रुपैयाँमा सिकाउने बचन दिए। उनी भन्‍छन्, ‘सायद मैले झूट बोल्नुहुँदैनथ्यो। तत्कालीन अवस्थामा सरसँग झूट बोल्नु मेरो बाध्यता थियो। सरले ममाथि दया गर्नुभयो।’ यो झूट उनले आजसम्म पनि हमाललाई भनेका छैनन्।

 

अहिले उनको चर्चा सर्वत्र छ। यसको जस उनी भद्रगोल टिमलाई दिन्छन् भने वीरेन्द्र हमालप्रति कृतज्ञता प्रकट गर्छन्। उनीलगायत भद्रगोलको टिम अहिले अभिनय मात्र गर्दैन, टिमले अहिले रेस्टुरेन्ट पनि संचालन गर्छ। आफूलाई कलाकारको परिचयमा सीमित नराखेर एउटा ‘मोटिभेटेड पर्सन’ हुनुपर्छ भन्ने मान्यता राख्छन्।

 

अहिलेको पुस्तामा प्लस टु र व्याचलर सकेपछि विदेशिने क्रम जारी छ। यो क्रमलाई रोक्न जरुरी रहेको उनी बताउँछन्। यो टिमले फिल्म निर्माण, कृषि, उद्योग पनि संचालन गर्ने तयारी गरिरहेको छ। उनी भन्छन्, ‘यसका लागि थालनी हामी आफैँबाट गरेका गरेका छौँ। हामी कलाकार त हौँ नै, यो देशका नागरिक पनि हौँ। तुफान न्युज ।

भिडियो हेर्नुहोस