लोकप्रिय गायक कुलेन्द्र बि.क र गायिका पुर्नकला बि.सिको “परदेशैमा” बोलको मार्मिक लोक दोहोरी गीत सार्वजनिक भएको छ । नबराज महराको शब्द रहेको उक्त गीतमा भद्र ओलीको संगीत रहेको छ । सबैको माया पाउन सफल लोकप्रिय गायक कुलेन्द्र बि.क र गायिका पुर्नकला बि.सिको उक्त गीतमा दुई माया गर्ने प्रेमीको बिछोडको भाव समावेश गरिएको छ ।

सगुन शाही र गणेशको अभिनय रहेको उक्त गीतको भिडियो बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् । उक्त गीतको भिडियोमा दुई प्रेमीको बिछोडको पिडालाई देखाइएको छ । असोक बि.कको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अनिल राणाले संपादन गरेका हुन् ।

 

विश्वकर्मासँगको कुराकानी :

सालको पातको टपरी…बोलको गीतले युट्युबमा सबैभन्दा बढी हेरिएको लोकदोहोरी गीतको कीर्तिमान राखेको छ । १ असोजमा अपलोड गरिएको यो गीत १७ पुससम्म १ करोड ७५ लाखभन्दा बढीले हेरिसकेका छन् । कीर्तिमानधारी गीतका एक गायक कुलेन्द्र विश्वकर्मासँगको कुराकानी :

 

यो गीत गाउनुअघिको कुलेन्द्र र अहिलेको कुलेन्द्रलाई मानिसले कसरी लिएका छन् ?
अहिले म गीतको भिडियोमा देखिएको छु । बाटोमा हिँड्दा पहिले मानिसले अन्दाज लगाउँथे । अहिले ठ्याक्कै चिन्छन् ।

 

यो गीत हिट हुनुको कारण ?
नवराज पन्तको राम्रो लेखनमा वसन्त थापाले उत्कृष्ट संगीत संयोजन गरिदिनुभयो । गीतका सबै अंग बलिया भएकोले जतिचोटि सुन्दा पनि झन्झटिलो छैन । स्टेजमा मैले कम्तीमा ५/६ चोटि गाउनैपर्छ ।

 

यसले नेपाली लोगदोहोरीको क्षेत्रमा कस्तो योगदान दियो जस्तो लाग्छ ?
५/६ वर्ष अघि मेरा गीतले एक खालको धार समातेको थियो । बीचको केही समय उत्ताउला दोहोरी आए । दोहोरी कुन धारमा जाने हो भन्ने निराशा थियो । सालको पातको… गीत दोहोरी यस्तो हुनुपर्छ भन्ने उदाहरण बन्यो ।

 

गीतमा तात्विक फरकपन के छ ?
अन्त्यानुप्रास मीठो भएको थेगो लेखनशैली फरक छ । हे बरै… थेगो वा शैलीलाई मेलोडीमा ढालिएको छ ।

यसको जरो ठेटपन हो ?
ठेनपनलाई टिनेजरहरुले समेत मन पराउने गरी आधुनिक शैलीमा ढालिएको मात्र हो । ठेटपन सबैको रुचि हो भन्ने उदाहरण चल्तीका नेपाली फिल्म हुन् ।

 

कसरी ?
जतिपनि हिट फिल्म छन् ती सबैमा लोक भाकाका गीत छन् । यसलाई गर्वका साथ स्विकार्नुपर्छ ।

धेरै दोहोरी छिटो चर्चामा आउँछन् र बिलाउँछन् । यसको कारण के हो ?
गीतहरु पन बोकेर आउनुपर्छ । पनलाई नै बिर्सियो भने त क्षणिक राम्रो देखिएला त र पानको पात, वारी जमुना पारी जमुनाजस्तो कालजायी हुँदैनन् ।

 

दोहोरी वा लोक गीतको उत्पति गाउँघर हो । तर अहिले कुना कन्दरा पुगेर गीत संकलन नगरी लेखिन्छ । यसले लोक संगीतको गुणस्तरलाई असर गरेको छैन ?
प्रविधिको विकाससँगै सर्जकहरुको सिर्जनाशैलीमा परिवर्तन आउँछ नै । मानौं पर्वतको संस्कृतिबारे बुझ्नुपर्‍यो भने कसैले भिडियो पठाउन सक्छ । त्यसलाई हेरेर आइडिया बनाउन सकिन्छ ।

 

तर यो कत्तिको जीवन्त होला ?
यसले आधारभूत ज्ञान चाहिँ दिन्छ । अब कत्तिको गहिराईमा पुग्ने हो त्यो त सर्जकको कुरा हो । यति हो प्रविधिको उपयोग गरेर ज्ञान लिन सकिन्छ ।

तपाइँ आफू पनि यही गर्नुहुन्छ ?
धेरथोर सबैले यही गर्ने हो । सिर्जना गर्ने व्यक्ति प्रविधिमा उपलब्ध चीजमा भावनामा डुब्यो भने त्यसले उत्कृष्ट कृति जन्मिन सक्छ । भावनाले बहकाएर सिर्जना गर्ने त हो नि आखिर ।

 

गायक, कलाकारलाई आर्थिक रुपमा धेरै सहज हुँदै गएको हो ?
एकदमै सहज हुँदैछ । मैले १६/१७वर्षदेखि गीत गाएरै जीवन चलाएको छु । अहिले म जति खुशी कोही छैनजस्तो लाग्छ ।

यति राम्रा गीत कुलेन्द्रले कसरी छान्छन् ?
राम्रो गीत लेखेपछि कसले गाउँछ भनेर खोज्दा कुलेन्द्रको नाम पहिले आउँछ ।

 

कमजोर आर्थिक पृष्ठभूमिबाट यहाँसम्मआइपुग्दाको बिसर्न नसक्ने क्षण ?
१२/१३ वर्षअघि बालाजुको झरना संगीत क्यासेट सेन्टरमा गीत गाउँदा रत्न बानियाँबाट ५ सय रुपैयाँ पाएँ, जतिबेला मसँग ५ रुपैयाँ पनि थिएन । त्यो नोट हप्दादिनसम्म साटिनँ, माया लागेर । नेपाल साप्ताहिक संगको कुराकानी ।

भिडियो हेर्नुहोस