बा भत्किएका चीजहरू बनाउनुहुन्छ । भान्साको ढोकाको चुकुलको पेच कस्नुहन्छ । बिग्रिएको धाराको टुटी फेर्नुहुन्छ । भित्ते घडीको सुई चल्नै छाड्यो, तुरुन्त ब्याट्री किनेर ल्याउनुहुन्छ । टोल सुधार समितिको मिटिङमा आफ्ना राय प्रकट गर्न जाने पनि बा नै हो । फूलमा पानी हाल्ने पनि बा नै हो । कतै केही चुहिए टाल्ने पनि बा नै हो । बा बिजुलीको बिल तिर्न प्राधिकरण पनि जानुहुन्छ । घरको तिरो तिर्न हिँड्ने पनि उहाँ नै हो । एक महिनादेखि नधोइएको मेरो धुले मोटरबाइक मलाई थाहै नदिई सुटुक्क धोएर टिलिक्क पारिदिनुहुन्छ बा । बा भत्किएका चीज देख्नै सक्नुहुन्न । त्यसैले छोराछोरीका रहरहरू पनि भत्किन दिनुहुन्न । छोराछोरीका सपनाको पेचकीला उक्किन दिनुहुन्न ।

म सधैँ बाका अघिल्तिर ङिच्च परिरहन्छु । म बाजस्तो यताउता कहीँ जान्नँ । म बढीजसो आफैँमा सीमित रहन्छु । बा हरेक दिन बिहानै उठेर चिसो पानीले नुहाउनुहुन्छ । म उही जाडोकै बहाना गर्दै हप्तौँ बितिसक्दा पनि फोहोरीको फोहोरी नै बसिरहेको हुन्छु । बा हरेक दिन दाह्री काट्नुहुन्छ । मलाई मानौँ ब्लेडसित एलर्जी छ । त्यसैले म मैलो, कट्कटाउँदो देखिन्छु । बा भर्खरको भरभराउँदो देखिनुहुन्छ ।

अहँ, बालाई पटक्कै जाडो हुँदैन । बा खाना खाएपछि एक घण्टा घाम तापेर बस्नुहुन्छ । म दिउँसो पनि कोठाभित्र सिरक खापेर बस्छु ।

बा भन्नुहुन्छ, ‘जाडो त त्यस्ता व्यक्तिलाई हुन्छ, जो हरदम सिरकमै गुट्मुटिएर बसिरहन्छ । त्यस्तो व्यक्तिलाई हुन्छ जाडो, जो जाडो भो भन्दै भुट्भुटिएर बसिरहन्छ । जाडो तिनैलाई बढी हुन्छ जो जाडोसँग बढी भाग्छ, जो जाडोसँग डराउँछ । जो न जाडोको छेउमा जाने आँट गर्न सक्छ, न जाडोलाई आफ्नो छेउमा आउन दिने हिम्मत गर्न सक्छ ।’बा अक्सर भनिरहनुहुन्छ— ‘छोरा, जाडो त मान्छेको शरीरमा भन्दा पनि मनमा बढी हुन्छ ।’

भन्नलाई मात्र म बाभन्दा एक पुस्ता अगाडि, साँचो अर्थमा म बाभन्दा धेरै युग पछाडि ! बाको केश मात्र सेतो, हौसला साउनजस्तै हरियो छ । बाको आँखा मात्र कमजोर हो, इच्छाशक्ति कुनै पर्वतभन्दा होचो छैन । बाको हड्डी मात्र बूढो, जाँगर तन्नेरीको भन्दा कैयौँ गुना बढी छ । यही छ बा र मबीचको फरक । म अक्सर सिरकमा, बा अक्सर काममा । म सधैँको निकम्मा । बा केही भन्नुहुन्न धन्न !मानिसहरू भन्छन्, मेरा आँखा बाका जस्तै छन् रे । मेरो हिँडाइ पनि बाको जस्तै छ रे । मेरा हात–खुट्टा बाका हात–खुट्टाजस्तै छन् रे, तर मेरो जाँगर बाको एक चौथाइजति पनि छैन । कठै बाको जतिको हौसला र हिम्मत ममा कहाँ होला ? म बाजस्तो कहिले हुने होला ?

स्रोत: कान्तिपुर साप्ताहिक