सिरहाको लहान नगरपालिका–१९ का वडाध्यक्ष मोहम्मद हकिम सहित ६ जनालाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिराहाले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट ६ थान हातमा लगाउने बाला र तीन थान सुनको बेरिएको पाता गरी १ किलो ७ सय ५७ दशमलव ७२ ग्राम काँचो सुन, ३४ हजार ५ सय रुपैयाँ नगद सहित ६ थान मोबाइल बरामद गरेको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहाको घुर्मीघाटबाट शनिवार बिहान मोहम्मद अमिरुल,मोहम्मद कैयुम राइन, मोहम्मद रहमान, सप्तरी खड्ग नगरपालिका-३ का मोहम्मद अफोज र गाडी चालक मोहम्मद रियाज राइनलाई पौने दुई के.जि. सुन सहित पक्राउ गरेको हो।


सशस्त्र प्रहरीले उनीहरू चढेर आएको बि.आर.३२ पी.ए. ४६४४ नम्बरको सेतो रङ्गको स्कोरपियो जीप समेत नियन्त्रणमा लिएको छ।

बरामद कच्चा सुन, नगद तथा जीप एक करोड २१ लाख ९३ हजार ४ सय ६४ रुपैयाँको मूल्याङ्कन गरी सुनसरीको इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको सीमा सुरक्षा कार्यालयले जनाएको छ।