आँखामा खुर्सानीको धुलो छर्किएर कुटपिट गरी लुटपाट गर्ने तीन युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

भूमे गाउँपालिका–६ का डम्बर बुढा र उहाँकी श्रीमती सीता घर्तीलाई आँखामा खुर्सानीको धुलो छर्किएर कुटपिट गरी नगद एक लाख रूपैयाँ लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका–१ रोकाजाका २० वर्षीय टेकबहादुर बुढा, सोही ठाउँका १९ वर्षीय प्रकाश बुढा र २२ वर्षीय कर्णबहादुर बुढा रहेका छन् ।

पक्राउ परेकामध्ये टेकबहादुरले बुढा दम्पतीबाट गतवर्ष साउनमा रातो च्याउ उपलब्ध गराउने भन्दै ८५ हजार लिएको प्रहरीले जनाएको छ ।

पटक–पटक पैसा माग्दा च्याउ पनि नपाएको र रकमसमेत फिर्ता नपाएपछि बुढा दम्पती यार्साको व्यापारका लागि आठबीसकोट हुँदै डोल्पा जाने क्रममा टेकबहादुरले आफूले लिएको पैसा फिर्ता दिन्छु भन्दै लगेर आठबीसकोट–६ ढाटथल भन्ने ठाउँमा योजनाबद्ध रुपमा आक्रमण गरी पैसा लुटेको प्रहरीको भनाइ छ ।

टेकबहादुर र उनका साथीले ज्यान मार्ने उद्देश्यले नै बुढा दम्पतीमाथि आक्रमण गरेको तर उनीहरु चिच्याएपछि स्थानीयवासीले थाहा पाउँदा उनीहरु नगद लिएर भागेका प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।(रासस)

 

आजका पत्रपत्रिकामा लेखिएका समाचारहरु

३२ वर्षमा अपराध, ६० वर्षमा पक्राउ
जिल्लामा एक फरार प्रतिवादी २८ वर्षपछि पक्राउ परेका छन्।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रुकुमले विसं २०४८ वैशाख ९ गते नौ वर्ष सात महीना सात दिन कैद सजाय सुनाएका ६० वर्षीय मनवीर कामीलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको हो।

सानीभेरी गाउँपालिका–४ गरायलाका कामीलाई आठबीसकोट नगरपालिका–१४ घेत्मामा परिचय लुकाइ बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

कामीलाई अहिले हिरासतमा राखिएको र सजाय कार्यान्वयनका लागि जिल्ला कारागार पठाइने बताइएको छ।

 

अञ्जना हत्या प्रकरणमा ट्वीस्ट : भाइबुहारीसँग असन्तुष्ट थिए उज्वल

ललितपुरको ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनामा ट्वीस्ट आएको छ ।
पारिवारिक पक्षबाट उज्वल मानसिक रोगी भएको दाबी सार्वजनिक भइरहँदा प्रहरी अनुसन्धानले वेग्लै विषय उजागर गरेको हो ।

चापागाउँ प्रहरीका एक अनुसन्धान अधिकारी भन्छन्, ‘हामीलाई बयान दिने क्रममा उनले बुहारीसँग पहिल्यैदेखि असन्तुष्ट रहेको स्वीकारेका छन् ।’

हत्या गरेलगत्तै आफैं प्रहरीलाई खबर गर्न लगाएका उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । अनलाइन खबरमा लेखिएको छ ।

 

किन पढ्दैनन केटाकेटी
ए पढ् खै पढेको ? धेरै जसो अभिभावकले आफ्ना सन्तानलाई भन्ने वाक्य हो यो । अझ कोही त तैंले यति ग्रेड ल्याइस् भने जे भन्छस् त्यही किनिदिउँला भनेर छोराछोरीलाई फुर्क्याउन खोज्छन् । शिक्षकको गुनासो उस्तै छ : आजभोलि विद्यार्थी मरे पढ्दैनन् । ग्रेडिङ सिस्टमले त विद्यार्थी खत्तमै पार्‍यो ।

विद्यार्थीको आफ्नै गुनासो छ : घरमा पनि किचकिच, स्कुलमा पनि किचकिच । जति पढे पनि यस्तै हो । विद्यालय शिक्षाको समस्याको चुरो यहीँनेर छ र समाधान पनि । समस्या के हो त ? समस्या को हो त ? अभिभावक, विद्यार्थी, शिक्षक, सरकार कि व्यवस्थापन ? समस्या सबैको हो र सबैसँग छ पनि ।

सिकाइ विद्यार्थीसँग सम्बन्धित छ, तर त्यसलाई सहयोग गर्छन् शिक्षकले । शिक्षकप्रति विद्यार्थीको हेराइ जति सकारात्मक हुन्छ, त्यति सिकाइ सहज हुन्छ । ‘मलाई फलानो म्याम क्या मन पर्छ’ भन्छन् कुनै विद्यार्थी । त्यही म्यामको होम वर्क छुटाएकै हुन्नन्, अक्षर पनि राम्रो हुन्छ र परीक्षा पनि त्यही म्यामको विषयमा चाहिँ राम्रो गर्छन् ।

‘मलाई फलानो शिक्षक मन पर्दैन’ भन्ने विद्यार्थी त्यही शिक्षकको कक्षामा उच्छृंखल हुन्छ । त्यही शिक्षकको गृहकार्य गर्न पनि गाह्रो हुन्छ, शिक्षकले पढाएको पनि उसले राम्ररी बुझ्दैन । अब समस्या शिक्षकको कि विद्यार्थी को ? विद्यार्थीलाई विषय मन परे शिक्षक मन परेको कि शिक्षक मन परेर विषय मन परेको ? तर एउटा कुरा स्पष्ट छ : मन पर्नु र नपर्नुले सिकाइ र अध्ययनमा बलियो प्रभाव पार्छ ।

विश्वभरि नै विद्यालय शिक्षा हात्ती, बाँदर, सर्प, माछा सबैलाई रुख चढ्न सिकाउने खालको छ । गायक बन्ने सपना देखेको र मनभरि गीतसंगीत बोकेको विद्यार्थीले हिसाबका कठिन सूत्रमा मन कसरी लगाउन सक्ला ? नाच्नमा प्रथम हुने विद्यार्थी पढाइमा प्रथम हुनैपर्छ वा अब्बल हुनैपर्छ भनेर दबाव दिएपछि उसको नाता सिकाइ र पढाइसँग जोडिएला कि नजोडिएला ?

अभिभावकले सन्तान चिन्नुपर्छ । बाघले रुख चढ्न सक्यो भनेर माछालाई बिल्ला हाने के होला ? अन्तप्र्रेरणा र अन्तर्चेतनाले व्यक्ति बाटो तय गर्छ । विद्यार्थी पनि त्यस्तै हो । तर यी दुवै कुराको निर्माण कसरी हुन्छ त ? कसैले फुत्त हालिदिन सक्दैन । यो अभ्यास हो, साधना हो ।

बाहिरबाट कसैले केही हालिदिने र केही आफैले आफूभित्र विकास गराउने हो । यी दुवै तत्व अत्यन्त कोमल हुन्छन् । सानो हावाहुरीले पनि उखेलिदिन सक्छ, हाँगा भाँचिदिन सक्छ । त्यसलाई सबै मिलेर मलजल र गोडमेल गरिरहनुपर्छ ।

क्यान्सरकोषिका जस्तै बीचबीचमा अनावश्यक बानी, गलत सिकाइ सम्पर्क वा मित्रता पलाउन सक्छ । तिनलाई बेलैमा चिन्न सके हटाउन सके अन्तप्र्रेरणा र अन्तर्चेतना बानी बनेर बस्छ । यही बानी नै बलियोसँग बस्न सक्यो भने चरित्र बन्छ । यस्ता विद्यार्थीलाई पढ् भन्नुपर्दैन, शिक्षकले नपढाए पनि आफै खोजेर पढ्न थाल्छन् । ती जिज्ञासु हुन्छन्, आफैं खोज्छन्, बाटो तय गर्छन् ।

घर पहिलो विद्यालय हो अनि परिवार/अभिभावक पहिलो शिक्षक, खासगरी आमा । ऊ अर्तीले सिक्दैन नक्कल गरेर सिक्छ । अभिभावकले भनेको र गरेका कुरा हेर्दै ऊ आफ्नो धारणा बनाउँछ । अझ आमाको पेटमै बालकले आमाको घडक्नबाट केही सिक्छ भनिन्छ ।

छोराछोरीलाई पढ् पढ् भनेर कराउने बाबुआमाले पढ्ने बानी कसरी बसालिदिन सक्छन् त ? एकपटक मसँग एक जना अभिभावकले गुनासो गरे, ‘मेरो बच्चा पढ्दै पढ्दैन । कि मोबाइलमा कि त टिभीमा हुन्छ । पढ् भन्यो भने ढोका ठ्याम्म थुनेर बस्छ ।’ तपाईं चाहिँ कत्तिको पढ्नुहुन्छ नि ? मेरो प्रश्नमा अभिभावक जिल्ल !

कलेज जान छाडेपछि ती अभिभावकले कुनै किताब पढेकै रहेनछन् । तपाई आफै केही पढ्नुहुन्न अनि बच्चाले के सिक्छ त ? धेरै अभिभावकको सोचाइ पढ्नु भनेको पाठ्यपुस्तक पढ्नु, गृहकार्य गर्नु र परीक्षामा नम्बर ल्याउनुमात्रै हो भन्ने छ । त्यति गर्न त परीक्षामा आँखा घुमाए पनि सकिन्छ । पढ्नुको अर्थ नै सही नभएपछि पढ्न पो किन प¥यो र ? अभिभावकले पनि पढ्ने बानी गर्नुपर्छ । आफूले मन पराएको किताब÷लेखबारे केटाकेटीसँग बसेर कुरा गर्नुपर्छ ।

आमाबाबुले कुनै किताबको बारेमा चर्चा गरेपछि उसलाई पनि पढ्नुपर्छ भन्ने भोक जाग्न सक्छ । बच्चाको सोचाइ परिवेशले निर्धारण गर्छ । परिवेश अभिभावले बनाइदिनुपर्छ । आफू साथीभाइसँग रत्तिने, घरमा मोबाइलमा झुत्तिने अनि केटाकेटीले पढेनन् भनेर कराउने ? नपढ्ने बनाउने त अभिभावकले नै हुन् । अभियान डट कमको लागि सुमन कट्टेलले लेख्नुभएको छ ।

 

अब्बल बन्दै सामुदायिक बिद्यालय
केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे।

कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव र परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सामुदायिक विद्यालयप्रति आकर्षण कम थियो।

आफैंले पढाउने सामुदायिक विद्यालयले दिने शिक्षाप्रति विश्वास नभएर शिक्षकले पनि निजी विद्यालयमा छोराछोरी पढाउँथे।

तर केही वर्षयता सुदूरपश्चिम प्रदेशका केही सामुदायिक विद्यालयले गरेको गुणात्मक सुधारले पुरानो परिदृष्य बदलिएको छ।

सामुदायिक विद्यालयले शिक्षामा गरेको सुधारका कारण विद्यार्थी र अभिभावक दुवैको आकर्षण बढेको छ। सुदूरपश्चिम ब्यूरोले तयार गरेको यो खबर आजको नागरिक दैनिकले छापेको छ।

अस्थायी राजधानी धनगढीमा रहेको पन्चोदय उच्च माविले चालु शैक्षिक सत्रका लागि निजी विद्यालय छाडेर भर्ना हुन आएका सबै विद्यार्थीलाई भर्ना गर्न सकेन।

‘चालु शैक्षिक वर्षमा कक्षा १ देखि कक्षा ९ सम्म भर्ना हुन यति धेरै विद्यार्थी आए कि हामीले सबलाई स्थान दिन सकेनौं। प्रवेश परीक्षा लिएरमात्र भर्ना गर्नुप¥यो,’ पन्चोदय उच्च माविका प्राचार्य हरिश ओझाले भने।

पन्चोदयमा गत वर्षदेखि नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न थालिएको छ। विद्यार्थीको भर्ना चाप धेरै भएकाले कक्षा ९ मा नेपालीमा ३ र अंग्रेजीमा ३ गरेर ६ सेक्सन सञ्चालन गरिएको छ भने अन्य कक्षामा पनि अंग्रेजीमा २ र नेपालीमा २ गरेर ४ सेक्सन चलाउनुपरेको उनले बताए।

पन्चोदय उच्च माविमा राम्रो पठनपाठन हुन थालेपछि अभिभावकले निजी विद्यालयवाट छोराछोरी छुटाएर भर्ना गरेका छन। ‘मैले मेरा छोराछोरी दुवैलाई निजी विद्यालयबाट निकालेर पन्चोदयमा भर्ना गरेको छु,’ धनगढी–४ कि साधना सिंहले भनिन्।

उनले एलजी एकेडेमीमा पढ्ने छोरी अनिषा र अक्सफोर्ड बोर्डिङमा पढ्ने छोरा अनिशलाई छुटाएर पन्चोदयमा भर्ना गरेको बताइन्। ‘निजी विद्यालयमा भन्दा राम्रो पढाइ हुन्छ भन्ने सुनेर पन्चोदयमा ल्याएर भर्ना गरेकी हुँ’, उनले भनिन्, ‘कम खर्चमा राम्रो पठनपाठन हुने भएकाले हाम्रो टोलका धेरैले यही स्कुलमा भर्ना गरेका छन्।’

निजी स्कुलमा पढिरहेका धनगढी– ४ का शरद चौधरीलाई पनि उनका अभिभावकले पन्चोदयमा भर्ना गर्न खोजेका थिए। तर उनले भर्ना पाउन सकेनन्। ‘पन्चोदयमा भर्ना हुन प्रवेश परीक्षा दिएँ तर नाम निस्केन’, चौधरीले भने। नागरिक दैनिक