पब्जी मोबाइल खेलको बारेमा  थाहा नपाउने कमै होलान् । पब्जी (प्लेयर अन्नोन ब्याटलग्राउण्ड) खेल अहिले निकै लोकप्रिय भैरहेको छ ।  पब्जीकै कारण भारतसम्म अहिलेसम्म १० भन्दा बढी घटना घटिसकेको छ । त्यसैगरी १६ जनालाई गिरफ्तार गरिएको छ । गुजरातमा प्रतिबन्धपछि पनि पब्जी खेलेका कारण १६ जनालाई गिरफ्तार गरिएको थियो ।

अहिले फेरि गुजरातमै पब्जीको लत लागेकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद चाहेकी छिन् । पब्जीकै कारण कसैको सम्बन्ध विच्छेद हुन लागेको यो पहिलो पटक हो । अहमदाबादमा रहने १९ वर्षीया महिलाले पतिसँग सम्बन्ध विच्छेद चाहेकी हुन् । उनको एक वर्षभन्दा कम उमेरकी एउटी छोरी पनि छिन् ।

ती महिलाले राज्यको महिला हेल्पलाइन (१८१) मा फोन गरेकी थिइन् । उनले पतिसँग सम्बन्ध विच्छेदको चाहना गर्दै पब्जी खेल्ने साथीसँग रहने इच्छा व्यक्त गरेकी छिन् । रिपोर्टका अनुसार, ती महिला एक प्रतिष्ठित परिवारसँग सम्बन्धित छिन् ।

उनी आफ्नो फैसलाप्रति अडिग छिन् र यो फैसलाका पछाडि घरेलु विवाद नरहेको पनि उनले बताएकी छिन् । ‘१८ वर्षको उमेरमा उनको एक निर्माण व्यवसायीसँग विवाह भएको थियो र उनी चाँडै नै एउटी बालिकाको आमा बनिन्’ काउन्सलरले भने ।

पब्जी खेल्ने क्रममा अहमदाबाद शहरकै एक युवकसँग प्रेममा परेको र केही समय अघिदेखि उसँगै मिलेर पब्जी खेल्दै आएको ती महिलाले बताएकी छिन् । काउन्सलरले ती महिलालाई हुर्कँदै गरेकी छोरीको भविष्यको ख्याल गर्दै आफ्नो फैसलामा पुनर्विचार गर्न भनेका छन् । एजेन्सीको सहयोगमा उज्यालो अनलाईन ।

 

दुईवटा बस आपसमा ठोक्किँदा एकको मृत्यु, ३० जना घाइते

हेटौंडा, जेठ ४ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको हेटौंडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

आज काठमाडौंबाट जनकपुर जाँदै गरेको ना७ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौं आउँदै गरेको ना७ख २०५७ नम्बरको अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा काठमाडौं आउँदै गरेको बसका चालक उदयपुर वरही गाउँपालिकाका ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आफ्नै साइडबाट गइरहेको बसलाई विपरीत दिशाबाट उछिन्ने गरी आएको अर्को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

दुर्घटनामा सख्त घाइते ४० वर्षीय मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।

अर्का बसको चालक भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते तीन जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य घाइतेको हेटौँडामै उपचार भइरहेको र सामान्य घाइते प्राथमिक उपचारपछि घर फर्किएको जनाइएको छ । (रासस)