लोकसभा निर्वाचनमा अन्तिम चरणको मतदान अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी तपस्या गर्न केदारनाथ पुगेका छन् । शनिबार केदारनाथ मन्दिरको गुफामा तपस्यामा बसेका हुन् । बिहान उनी देहरादुन गएका थिए, जहाँबाट हेलिकोप्टर लिएर केदारनाथ पुगेका हुन् ।

बिहान केदारनाग पुगेपछि उनले त्यहाँ पूजा गरेका थिए । पूजापछि उनले केदारनाथ क्षेत्र विकासको गुरुयोजनाबारे जानकारी लिएका थिए । यसपछि उनी तपस्यामा बसेका हुन् ।

 

शुक्रबार लोकसभा चुनावको प्रचारप्रसार सकिएपछि उनी शनिबार बिहानै उत्तरखण्डमा पुगेका थिए । तीर्थस्थल केदारनाथको दर्शन गरिसकेपछि उनी ध्यान गर्नका लागि एक पवित्र गुफामा पसेका हुन् । प्रधानमन्त्री भएपछि मोदीको यो चौथो केदारनाथ भ्रमण हो ।

उनको तस्बिर भारतीय सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि विभिन्न टिक्काटिप्पणीहरु आइरहेका छन्। ‘ध्यान कुटिया’ नाम गरेको उक्त गुफामा मोदी शनिबार रातभर बस्ने र आइतबार बद्रीनाथको दर्शनका लागि जाने ‘द हिन्दुस्तान टाइम्स’ले उल्लेख गरेको छ। भारतीय लोकसभाको मतगणना मे २३ तारिखबाट सुरु हुँदै छ।

शुक्रबार मोदीले प्रधानमन्त्री भएपछि पहिलोपटक पत्रकार सम्मेलनसमेत गरेका थिए। पत्रकार सम्मेलन गरेपनि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ नदिएको भन्दै उनको आलोचना भइरहेको छ।