यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । यो समाचार आजको नयाँ पत्रिकामा लेखिएको छ ।

तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् ।

 

 

महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ ।

‘यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी राम्ररी लाउन पाएनन् । त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको छ,’ उनले भने, ‘भारतबाट आयात हुने तरकारी पनि मूल्य बढेर आएको छ ।’

काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय ५० टनसम्म तरकारी भित्रिने गर्छ । तर, पछिल्लो १० दिनयता दैनिक छ सय टनसम्म मात्र आयात भइरहेको घिमिरेले जानकारी दिए । ‘एकातिर उत्पादन घट्यो, अर्कोतिर आयात हुने तरकारीको भाउ नै बढेर आएको छ,’ उनले भने, ‘त्यसैले भाउ बढेको हो ।’

अहिले बजारमा सबैभन्दा बढी गोलभेडाको भाउ आकासिएको छ । महिनादिनअघि ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको गोलभेडा कालिमाटी बजारमा शनिबार एक सय १० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । त्यही गोलभेडाको दाम काठमाडौंका साना बजार र किराना पसलमा एक सय २० रुपैयाँ प्रतिकिलोसम्म पर्छ ।

त्यस्तै, स्थानीय काउली कालिमाटी बजारमै ८५ रुपैयाँ प्रतिकिलो पुगेको छ । एक महिनाअघि यसको मूल्य ५५ रुपैयाँ थियो । भेन्टा, मटरकोसा, हरियो फर्सी, साग, निउरो, ब्रोकाउली, धनियाँलगायतका ताजा तरकारी तथा फलफूलको भाउ ह्वात्तै बढेको छ ।

उपत्यकाको बजारलाई नैकाप, थानकोट, रामकोट, मुलपानी, छम्पीलगायतका क्षेत्रमा टनेल बनाएर गरिने गोलभेडाले माग धान्दै आएको छ । तर, यसपटक यी क्षेत्रमा असिनापानीका कारण उत्पादन घटेको छ । भारतबाट हुने गोलभेडा आयात ३० प्रतिशतले घटेको छ ।

यतिबेला पाँचखालबाट थोरै गोलभेडा कालीमाटी आइरहेको छ । व्यवसायीका अनुसार टनेलमा लगाएको गोलभेडा बजार आइपुग्न करिब एक महिना लाग्न सक्छ । ‘प्रत्येक भान्सामा पाक्ने गोलभेडा मागअनुसार नपाएपछि बजार भाउ बढेको हो । तर, अहिले विस्तारै आपूर्ति बढ्न थालेकाले भाउ पनि घट्न थालेको छ,’ व्यवसायी घिमिरेले भने ।

खसीको मासुमा किलोकै २०० वृद्धि
खसीको मासुको भाउ प्रतिकिलो दुई सय रुपैयाँ बढेको छ । चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले भारतबाट नियमित खसी ल्याउन नपाउँदा उपत्यकामा मागअनुसार आपूर्ति गर्न नसकिएको बताए ।

‘भन्सार नाकाबाट भारतीय खसी ल्याउन सकिएको छैन । उपत्यकाको मागलाई धान्न व्यवसायीहरू गाउँगाउँ गएर खसी ल्याउँदैछन् । त्यसैले केही लागत बढ्न गएको देखिन्छ,’ उनले भने ।

जिउँदो खसीको भाउ प्रतिकिलो छ सयबाट बढेर छ सय ५० रुपैयाँसम्म पुगेको उनले बताए । तर, एक महिनाअघि एक हजार ५० रुपैयाँ प्रतिकिलोसम्म रहेको खसीको मासुको भाउ अहिले एक हजार दुई सय ५० पुगिसकेको छ ।

तेल–दाल प्रतिकिलो १०, चामल ५० रुपैयाँ वृद्धि
चामल, दाल, तेललगायत खाद्यपदार्थको मूल्य पनि बढेको छ । थोक व्यवसायी देभेन्द्रभक्त प्रधानका अनुसार भारतबाटै चामलको भाउ बढेर आएको छ । ‘अहिले २५ किलो चामलको भाउ ५० रुपैयाँले बढेको छ,’ उनले भने ।

दाल प्रतिकिलो १० रुपैयाँसम्म वृद्धि भएको छ । दाल आयात हुने प्रमुख देश बर्माबाटै मूल्य बढेर आएको उनको दाबी छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो समय किराना पसलबाट बढी बिक्री हुने चामल, दाल, चिनी, तेललगायतको मूल्य आकासिन थालेको छ ।

उनका अनुसार ९० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो दाल एक सय पुगेको छ । मासको दाल एक सय १० बाट एक सय २० र ठूलो खालको मासको दाल र रहर दाल एक सय ३० बाट १४० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

मूल्यबृद्धि हुनुका मुख्य तीन कारण

असिनापानी र हावाहुरीले उत्पादन कम, मूल्य बढी
वर्षे तरकारी लगाउने समयमा निरन्तर असिनापानी र भारी वर्षात हुँदा किसानले तरकारी लगाउन पाएनन् । अहिले तरकारीको मागभन्दा आपूर्ति करिब ३०% कम छ । आपूर्ति कम भएकाले मूल्य बढेको छ ।

आपूर्ति घट्यो, आएकोमा पनि मूल्यवृद्धि
भारतबाट आयात भइरहेको तरकारी पनि महँगिएको छ । व्यवसायीका अनुसार भारतमा चुनावका कारण मूल्य बढेको छ । चुनावकै कारण केही दिनअघि एक सातासम्म भारतबाट तरकारी नै आउनेक्रम न्यून थियो ।

भारतबाट खसी आयातमा कडाइ, मागको ५०% मात्र उपलब्ध
खसीको मासुमा मुलुक ७५% भारतमा निर्भर छ । तर, नेपालले खसीको स्वास्थ्यको प्रमाणपत्र माग्न थालेकाले भारतबाट आयात रोकिएको छ ।

जसकारण उपत्यकामा मागको तुलनामा खसीको मासुको आपूर्ति करिब ५०% कम छ । यही वेलामा बर्डफ्लुको संक्रमण फैलिएकाले कुखुराको मासुको माग घटेको छ । त्यसैले पनि खसीको मासुको मूल्य बढेको छ ।