बजारमा गाेलभेँडाकाे मुल्य बढेकाे छ । तरकारीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको आपूर्ति विभागकाको अनुगमनले जनाएकाे छ । विभागले गरेको अनुगमनमा सबैभन्दा बढी मूल्य आकासिने तरकारीमा गोलभेडा परेको छ। जसको मुल्य दोब्बर बढेको छ।

यसै बिच केदार घिमिरे (माग्ने बूढो)ले पनि तरकारीको मूल्य बृद्वि अच्मित हुदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्छन्:- गोलभेंडाको भाऊ सोध्दै थिएँ, यसो बिचार गरेको “गोलभेंडा त भाऊ घटेको बेलामा खाउंलानी” भनेर ४ आना जग्गा किनेर फर्कें ।अब त्यो जग्गामा गोलभेंडा रोप्ने हो ।

 

 

 

टमाटर दोब्बर, खसिको मासु २०० ले मुल्य वृद्धि, अन्य खाद्यान्नमा पनि मूल्य वृद्धि 

यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । यो समाचार आजको नयाँ पत्रिकामा लेखिएको छ ।

तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् ।

महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ । ‘यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी राम्ररी लाउन पाएनन् । त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको छ,’ उनले भने, ‘भारतबाट आयात हुने तरकारी पनि मूल्य बढेर आएको छ ।’

काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय ५० टनसम्म तरकारी भित्रिने गर्छ । तर, पछिल्लो १० दिनयता दैनिक छ सय टनसम्म मात्र आयात भइरहेको घिमिरेले जानकारी दिए । ‘एकातिर उत्पादन घट्यो, अर्कोतिर आयात हुने तरकारीको भाउ नै बढेर आएको छ,’ उनले भने, ‘त्यसैले भाउ बढेको हो ।’

अहिले बजारमा सबैभन्दा बढी गोलभेडाको भाउ आकासिएको छ । महिनादिनअघि ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको गोलभेडा कालिमाटी बजारमा शनिबार एक सय १० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । त्यही गोलभेडाको दाम काठमाडौंका साना बजार र किराना पसलमा एक सय २० रुपैयाँ प्रतिकिलोसम्म पर्छ ।

त्यस्तै, स्थानीय काउली कालिमाटी बजारमै ८५ रुपैयाँ प्रतिकिलो पुगेको छ । एक महिनाअघि यसको मूल्य ५५ रुपैयाँ थियो । भेन्टा, मटरकोसा, हरियो फर्सी, साग, निउरो, ब्रोकाउली, धनियाँलगायतका ताजा तरकारी तथा फलफूलको भाउ ह्वात्तै बढेको छ ।

उपत्यकाको बजारलाई नैकाप, थानकोट, रामकोट, मुलपानी, छम्पीलगायतका क्षेत्रमा टनेल बनाएर गरिने गोलभेडाले माग धान्दै आएको छ । तर, यसपटक यी क्षेत्रमा असिनापानीका कारण उत्पादन घटेको छ । भारतबाट हुने गोलभेडा आयात ३० प्रतिशतले घटेको छ ।

यतिबेला पाँचखालबाट थोरै गोलभेडा कालीमाटी आइरहेको छ । व्यवसायीका अनुसार टनेलमा लगाएको गोलभेडा बजार आइपुग्न करिब एक महिना लाग्न सक्छ । ‘प्रत्येक भान्सामा पाक्ने गोलभेडा मागअनुसार नपाएपछि बजार भाउ बढेको हो । तर, अहिले विस्तारै आपूर्ति बढ्न थालेकाले भाउ पनि घट्न थालेको छ,’ व्यवसायी घिमिरेले भने ।

खसीको मासुमा किलोकै २०० वृद्धि
खसीको मासुको भाउ प्रतिकिलो दुई सय रुपैयाँ बढेको छ । चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले भारतबाट नियमित खसी ल्याउन नपाउँदा उपत्यकामा मागअनुसार आपूर्ति गर्न नसकिएको बताए । ‘भन्सार नाकाबाट भारतीय खसी ल्याउन सकिएको छैन । उपत्यकाको मागलाई धान्न व्यवसायीहरू गाउँगाउँ गएर खसी ल्याउँदैछन् । त्यसैले केही लागत बढ्न गएको देखिन्छ,’ उनले भने ।

जिउँदो खसीको भाउ प्रतिकिलो छ सयबाट बढेर छ सय ५० रुपैयाँसम्म पुगेको उनले बताए । तर, एक महिनाअघि एक हजार ५० रुपैयाँ प्रतिकिलोसम्म रहेको खसीको मासुको भाउ अहिले एक हजार दुई सय ५० पुगिसकेको छ ।

तेल–दाल प्रतिकिलो १०, चामल ५० रुपैयाँ वृद्धि
चामल, दाल, तेललगायत खाद्यपदार्थको मूल्य पनि बढेको छ । थोक व्यवसायी देभेन्द्रभक्त प्रधानका अनुसार भारतबाटै चामलको भाउ बढेर आएको छ । ‘अहिले २५ किलो चामलको भाउ ५० रुपैयाँले बढेको छ,’ उनले भने ।

दाल प्रतिकिलो १० रुपैयाँसम्म वृद्धि भएको छ । दाल आयात हुने प्रमुख देश बर्माबाटै मूल्य बढेर आएको उनको दाबी छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो समय किराना पसलबाट बढी बिक्री हुने चामल, दाल, चिनी, तेललगायतको मूल्य आकासिन थालेको छ ।

उनका अनुसार ९० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो दाल एक सय पुगेको छ । मासको दाल एक सय १० बाट एक सय २० र ठूलो खालको मासको दाल र रहर दाल एक सय ३० बाट १४० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

मूल्यबृद्धि हुनुका मुख्य तीन कारण
असिनापानी र हावाहुरीले उत्पादन कम, मूल्य बढी
वर्षे तरकारी लगाउने समयमा निरन्तर असिनापानी र भारी वर्षात हुँदा किसानले तरकारी लगाउन पाएनन् । अहिले तरकारीको मागभन्दा आपूर्ति करिब ३०% कम छ । आपूर्ति कम भएकाले मूल्य बढेको छ ।

आपूर्ति घट्यो, आएकोमा पनि मूल्यवृद्धि
भारतबाट आयात भइरहेको तरकारी पनि महँगिएको छ । व्यवसायीका अनुसार भारतमा चुनावका कारण मूल्य बढेको छ । चुनावकै कारण केही दिनअघि एक सातासम्म भारतबाट तरकारी नै आउनेक्रम न्यून थियो ।

भारतबाट खसी आयातमा कडाइ, मागको ५०% मात्र उपलब्ध
खसीको मासुमा मुलुक ७५% भारतमा निर्भर छ । तर, नेपालले खसीको स्वास्थ्यको प्रमाणपत्र माग्न थालेकाले भारतबाट आयात रोकिएको छ ।

जसकारण उपत्यकामा मागको तुलनामा खसीको मासुको आपूर्ति करिब ५०% कम छ । यही वेलामा बर्डफ्लुको संक्रमण फैलिएकाले कुखुराको मासुको माग घटेको छ । त्यसैले पनि खसीको मासुको मूल्य बढेको छ ।