सामान्यतया मानिसहरुले धनसम्पति कमाउनु, नोकर चाकर राख्नु र अरुलाई आफ्नो पक्ष र वशमा राख्नुलाई सफलता ठान्दछन । तर सफलता यो भन्दा धेरै भिन्न कुरा हो । माथी इड्विन सी. ब्लिसले भनेझै सफलता भनेको लडाईमा विजय पाउनु मात्र होइन, सिङ्गो युद्ध जित्नु हो ।

यहाँ हामीलाई लडाई र युद्धमा के फरक छ भन्ने कुरामा अलमल नहोस भनेर यी दुई बीचको फरक छुट्याउन आवश्यक ठान्दछु ।

युद्ध भनेको दुई वा दुईभन्दा बढि विशाल मतभेदबीचको द्धन्द्ध हो । अर्थात दुई परस्पर विरोधी विचारबीचको टकराब हो भने लडाई भनेको यस्ता मतभेद र परस्पर विरोधी विचारबीच कुन सहि र गलत हो भनेर छुट्याउन गरिने ससाना घटनाक्रम हो । जुन निर्णायक हुदैन । जस्तो किः महाभारतको कथामा पाण्डव र कौरवबीचमा सत्य र असत्यबीचमा ठुलो युद्ध भयो ।

 

 

ऊनीहरुबीच धेरै मतभेदहरु थिए । दुवैले आफ्नो कुरा सत्य सावित गर्न धेरै वादबिवाद, लडाई र झगडा गरे । एक अर्काको खुब खण्डन गरे, विभिन्न हत्कण्ठाहरु अपनाए । लाखौ करोडौँ मारिए । यसरी कयौ पटकका तर्क बितर्क, बादविबाद, झगडा, लडाई र आन्दोलनले अन्तत द्धन्द्धको समाप्ति भयो । र समग्र युद्धको हार जीतको छिनोफानो भयो ।

यहाँनेर बुझ्नु पर्ने कुरा के छ भने त्यो लामो र विशाल युद्धमा थुप्रै पटकका तर्क बितर्क, बादविबाद, झगडा, लडाई र आन्दोलनमा कौरवहरुले पनि जितेको थिए । पाण्डवहरुलाई बाच्न र टिक्न पनि धौ – धौ पारेका थिए । कौरबहरुले अब संसार हाम्रोमात्र हो भन्ठानेर विजय उत्सव मनाएका थिए ।

तर कौरबहरुले कयौ पटक जित्ता जित्तै पनि अन्ततः समग्र युद्ध ऊनीहरुले हारे र पाण्डबहरुले जिते । अनि कौरबहरुको अस्तित्व बिलाएर गयो र पाण्डबहरु आजसम्म पनि सत्यको जितको प्रतिक बनेर रहिरहेका छन ।

हो यो घटनाबाट यो प्रष्ट हुन्छ कि लडाई भनेको एउटा अंश वा टुक्रा हो भने युद्ध भनेको पुर्ण भाग हो । भन्नुको मतलव के हो भने हामी मानिस पनि आफ्नो जीवनका स-साना प्राप्तिलाई नै सफलता ठान्छौ र त्यहि साना कुराको पछि लागिरहन्छौ । जस्तो कि हामीलाई जीवनमा पैसा कमाउनु , घर बनाउनु , जागिर खानु र मान्छेलाई आफ्नो पक्ष र वशमा पार्नुलाई नै

जीवनको सफलता ठान्छौ र त्यहि पाउनलाई जस्ता सुकै हर्कत पनि गर्छौ र साम, दाम, दण्डभेद सबै गरेर भए पनि त्यो कुरा पाउन मरिहत्ते गर्छौ । तर अन्ततः हामी ती सबै कुरा पाएर पनि चिन्तित हुन्छौ, दुःखि हुन्छौ, राति सुत्न सक्दैनौ, मन भतभति पोल्छ र सारा जिन्दगी बर्बाद बनाउछौ ।

हो हामीले जीवनमा पैसा कमाउनु , घर बनाउनु , जागिर खानु मात्र सफलता होइन । यी त जीवनका स-साना पाप्ति हुन । यसरी हामीले चाहे जस्ता धेरै प्राप्ति पाएर पनि हामी बास्तविक सफल हुन सक्दैनौ । किनकि माथि भनेझै सफलता भनेको लडाई जित्नु मात्र होइन युद्ध जित्नु हो ।

त्यसो भए के हो त सफलता ? अब हामी गम्भिरतापूर्वक मनन गरौ । माथिका सन्दर्भहरु नियालौ । जस्तो कि पाण्डबहरुले सारा सम्पति जुवाको नाममा गुमाउनु पर्यो, १२ बर्षसम्म बनवास र गुप्तबासको सामना गर्नु पर्यो । कहिले बिष त कहिले आगोको नियोजित सामना गर्नु पर्यो ।

यसरी सारा दुःख कष्ट र आपत्तिको बावजुत पनि थुप्रै पटक हार्दा हार्दै पनि समग्र युद्ध ऊनीहरुले नै जिते । हो यहि हो सफलता पनि । सफलता भनेको कुनै जादुगरि होइन । कुनै चिठ्ठा पर्नु पनि सफलता होइन, न त कुनै भाग्यकै उपज हो सफलता । बरु सफलता त निरन्तर गरिने सकारात्मक कामको परिणाम हो ।

जीवनमा सफलता हासिल गर्न गाह्रो पनि छैन र सजिलो पनि छैन । तपाई जीवनमा सफल बन्न चाहानुहुन्छ भने असल काम गर्दै जानुस । हरक्षण आफुलाई आफ्नो चेतनाले चलाउनुस । आफुमा बिस्वास र धैर्यता कायम राख्नुस । तपाई स्वतः सफल बन्नुहुनेछ । नेपालीमा एउटा उखान छ ‘ दुःख पछिको सुख राम्रो हुन्छ तर सुख पछिको दुःख राम्रो हुदैन ।

सफलता पनि यस्तै कुरा हो । लामो त्यागले तपाईलाई ठुलो सफलता दिलाउछ । तपाई साँचो रुपमा सफल हुन चाहिरहनु भएको छ तर तपाईको प्रयास असफल भयो भने चिन्ता नगर्नुहोस । किनकि तपाईलाई त्यहि असफलताले नै सफलता प्राप्त गर्न सिकाउँछ ।

तर वास्तबिक सफलताको वास्ता नगरि तपाई कुनै कुरा पाउनको वा जित्नको लागि गलत प्रयास गरिरहनु भएको छ र सबै कुरा तपाईले भने जस्तै भयो भने पनि तपाई अन्ततः असफल नै हुनुहुनेछ ।

तपाई पनि आफ्नो जीवनको आजै मूल्याङ्कन गर्नुहोस । तपाईका हर गतिबिधि र सारा प्रयासहरुले तपाईलाई सफल बनाउदै छ कि असफल ? थाहा पाउनुहोस । किनकि सफलता भनेको लडाई जित्नु मात्र होईन युद्ध जित्नु हो । तपाईलाई

लडाई जितेको भ्रमले युद्ध जितिन्छ भन्ने लागेको हुन सक्छ । तर कहिल्यै त्यस्तो हुदैन किनकि धेरै लडाई जितेर पनि युद्ध हार्न सकिन्छ तर युद्ध जितिने निश्चित छ भने लडाई हारेर पनि केहि हुदैन । त्यसैले युद्ध जितिने निश्चित हुने खालका प्रयास गर्नुहोस – सफलता तपाईकै हातमा हुनेछ ।

सफल कसरी बन्ने !
१. आफ्नो कामलाई माया गर्नुहोस् । यसो गर्दा जीवन सुखी र सहज हुन्छ ।
२. कामको शुरुआत सजिलोबाट गर्नुहोस् । यसो गर्दा विस्तारै गाह्रो काम सिक्ने समय मिल्छ ।

३. सानो कामबाट करियर सुरु गर्नुपर्दा नहिचकिचाउनुस् । त्यसलाई ठूलो आफ्नै परिश्रमले ठूलो बनाउने प्रयास गर्नुहोस् ।

४. गरेको काम आफूलाई मन परेको छैन भने पनि त्यो काम गर्नुपर्नाको कारणलाई सम्मान गर्नुस् । यसले उपलब्ध गराउने आर्थिक सहयोगले तपाईंको परिवार धानिरहेको हुन्छ । कम्तीमा परिवारको सुखका लागि भए पनि त्यसमा सन्तोष मान्नुस् । कामविहीन भएर बसिरहनुले मानसिक समस्या निम्त्याउन सक्छ ।

५. एउटै कामलाई कहिलेसम्म निरन्तरता दिने र कहिले छोड्ने भन्ने निर्णय गर्नु सबैभन्दा गाह्रो पक्ष हो । यसबारे कसैले तपाईंलाई सिकाउन सक्दैन । त्यसैले, उपयुक्त समय छनोटको जिम्मेवारी तपाईंको आफ्नै हो ।

६. कोही एक्लै सफल हुँदैनन् । सहयोग माग्न अप्ठ्यारो नमान्नुहोस् । सहयोग मिल्दा कृतज्ञ हुनुहोस् ।
७. सङ्गत सधैं राम्रो मानिसको गर्नुहोस् । राम्रो सङ्गतले काममा पनि राम्रै नतीजा दिन्छ ।
८. सबैको क्षमताको सम्मान गर्नुहोस् । यसो गर्दा एकको कमजोरीलाई अर्कोको सबल पक्षमार्फत मिलाउन सकिन्छ ।

९. हरेक व्यक्तिको सोचाइ फरक हुन्छ । सृजनशील सोचाइलाई कम्पनीको समग्र फाइदाका लागि प्रयोग गर्न सक्नुपर्छ ।
१०. कसैलाई पनि इच्छाविपरीतको काम गर्न दबाब दिनु हुँदैन । आफूलाई पनि दबाबमुक्त राख्नुहोस् ।
११. तपाईं जति माथि पुगे पनि वा जति सफल भए पनि तपाईंभन्दा माथि सधैं कोही पुगेकै हुनेछ ।

११. सफलता सबैको एकनास हुँदैन । कोही तपाईंभन्दा बढी सफल होलान्, कोही कम । सबैलाई सम्मानको दृष्टिले हेर्नुहोस् ।
१२. सकेसम्म आफूले जानेको, मनले खाने काममा मान्छे आनन्दित हुन्छ ।
१३. कमजोरीबाट हताश हुने होइन, त्यसमा सुधार ल्याउनुपर्छ ।

१४. नयाँ कामको थालनी गर्दा स्वाभाविक रूपमा गल्ती हुन्छ । यो यथार्थबाट नटाढिनुहोस् ।
१५. यथेष्ट स्रोतसाधन (समय, पैसा, जनशक्ति) सधैं जुटिरहन्छ भन्ने छैन । आफूसँग उपलब्ध स्रोतसाधनकै बलमा उत्कृष्ट कार्यसम्पादनको प्रयास गर्नुहोस् ।

१५. काममा जोखीम हुन्छ नै । तर, राम्ररी सम्झीबुझी जोखीम उठाउनु बुद्धिमानी हुन्छ ।
१६. कुनै पनि कम्पनी, करीअर वा परियोजनाको थालनी गर्दा शुरुआती अवस्थामा धेरै परिस्थितिलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । नत्र तपाईं आत्तिएर बीचैमा हताश हुने सम्भावना बढ्छ ।

१७. काममा नकारात्मक प्रतिक्रिया पनि सुन्नुपर्ने हुन्छ । यो आवश्यक पनि छ । ती प्रतिक्रियाभित्र लुकेका सत्य कुरालाई आत्मसात् गर्दै सुधारको प्रयास गर्नुपर्छ । भित्रभित्रै मन खियाएर बस्नु मूर्खता हो ।

१८. आफूले कुनै कामप्रति कमेण्ट गर्दा व्यक्तिमाथि आक्षेप हुने गरी प्रस्तुत नहुनुुहोस् ।
१९. ठूलो कुरा सोच्नुहोस्, ठूलै सपना देख्नुहोस्, तर जीवन सधैं साधारण रोज्नुहोस् ।
२०. आफ्ना सपनालाई लक्ष्यका रूपमा अघि बढाउनुहोस् ।

२१. नयाँ काममा अघि बढ्दा ‘हुन्छ’ भन्नेभन्दा ‘हुँदैन’ भन्ने बढी भेटिन्छन् । तर, हरेस कहिल्यै नखानुस्, किनभने निर्णय गर्ने अधिकार तपाईंसँग सुरक्षितै छ ।
२२. कुनै कुरा सृजना गर्न लाग्ने समयभन्दा त्यसको निर्माणपछिको नतीजाको मूल्यमा ध्यान राख्नुहोस् ।

२३. सफलताका लागि आफ्ना योजनाबारे भरपर्दा व्यक्तिसँग छलफल गर्नुपर्छ । यसले सहयोगी प्रतिक्रिया प्राप्त गर्न सघाउ मिल्छ ।
२४. आफ्नो सम्पर्कसञ्जाल वृद्धि गर्नुहोस् । नयाँ मानिस भेट्ने प्रयास गर्नुस् । साथै, पुराना मानिससँगको सम्पर्क पनि नटुटाउनुहोस् ।

२५. तपाईंको सृजनशीलता केवल उत्पादनमा मात्र केन्द्रित हुनुहुन्न । उत्पादनले ग्राहकको जीवनमा पार्ने सकारात्मक/नकारात्मक असरबारे पनि ध्यान दिनुपर्छ ।

२६. जीवनमा जतिसुकै सफलता पाए पनि कुनै पनि बेला असफलतासँग तपाईंको सामना हुन सक्छ । यसका लागि आफूलाई मानसिक रूपमा तयार गर्नुपर्दछ ।
२७. काम गर्दै जाँदा अप्ठ्यारो स्वभावका मानिस पनि भेट हुन्छन् । तिनलाई पनि सम्मान गर्नुहोस्, इमानदार व्यवहार गर्नुहोस् ।