नेपाली राष्ट्रिय टोलीकी सदस्य सावित्रा भण्डारीले ह्याट्रिकसहित चार गोल गरेपछि सेमिफाइनलमा एसएसबी सेन्ट्रल महिला फुटबल टिमलाई पराजित गर्दै सेथु फुटबल क्लबले भारतीय महिला लिगको फाइनलमा स्थान बनाएको छ।

सेथुले एसएसबीलाई ८–१ गोलअन्तरले पराजित गरेको हो। सावित्राले ४१, ५९ र ६५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यस्तै ९० औं मिनेटमा एक गोल थप्दै उनले चार गोल पूरा गरिन्।

 

 

यस्तै सेथुका लागि ग्रेसले १३, ४८, ५२ औं मिनेटमा गोल गर्दै अर्को ह्याट्रिक गरिन् भने रतनबालाले ७१ औं मिनेटमा एक गोल थपिन्।

सावित्राको भारतीय लिगमा १४ गोल गरिसकेकी छिन्। यसअघि उनले दुई ह्याट्रिक समेत गरेकी थिइन्। उनले यसअघि कोल्हापुर सिटी र मणिपुर पुलिस स्पोर्टिङ एकेडेमीविरुद्ध ह्याटिङक गरेकी थिइन्।

यस्तै सेथुबाट नै खेलिरहेकी अर्की नेपाली खेलाडी अनिता बस्नेत भने सेमिफाइनल खेलमा बेन्चमै रहिन्। गत फागुनमा नेपालमै भएको दक्षिण एसियाली महिला फुटबलमा उत्कृष्ट प्रदर्शन गरेसँगै सेथुले नेपाली खेलाडीद्वय सावित्रा र अनितालाई अनुबन्ध गरेको हो।

कुनैपनि नेपाली महिला फुटबल खेलाडीलाई विदेशी व्यवसायिक क्लबले अनुबन्ध गरेको यो पहिलो पटक हो। उनीहरुलाई क्लबले यस सिजनका लागि अनुबन्ध गरेको हो।