पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो। उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको स्थानीय बताउँछन्। वि.सं. २०५० मा भएको सो घटना ‘टिम्बुरे हत्याकाण्ड’को रुपमा चर्चित छ। उक्त घटनामा टिम्बुरेस्थित एक दुलाल परिवारमा पाँच जनाको ज्यान गएको थियो।

२६ वर्ष अघि साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो। टिम्बुरे हत्याकण्डमा कुवेर दुलाल, कुवेरकी श्रीमती सरसस्वती रिजाल, छोरी कृष्ण दुलाल, छोरा उमेश र उद्वव दुलालको ज्यान गएको थियो।

 

 

उक्त घटनामा छोरी ज्ञानु र मनु बाँचेका थिए। मनुको भने विसं २०७३ मा अमेरिकामा हृदयघातका कारण निधन भएको छ। ज्ञानु अहिले अमेरिकामै छिन्। बाबुआमा र भाइबहिनीको हत्या हुँदा मनु नाँगीनको पिपलबोटे उच्च माविमा पढ्दै थिइन् भने ज्ञानु इटहरीस्थित आफन्तको घर गएकी थिइन्। दुलाल परिवारको पनि खुकुरीले काटेर हत्या गरिएको थियो।

परिवारभित्रै आपसी लेनदेन र राजनीतिक विषयमा विवाद हुँदा उक्त हत्याकाण्ड भएको प्रहरीको भनाई छ।

आरुबोटे हत्याकाण्ड
आरुबोटे हत्याकाण्डमा दुई परिवारको सोमबार राति खुकुरीले धेरै पटक हानेर विभत्स हत्या भएको छ। पाँचथर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार दुई परिवारका आठ वर्षीया बालिकादेखि ७५ वर्षीया वृद्धसम्मको हत्या भएको हो।

१. ७५ वर्षीय बमबहादुर फियाकको घरमा,
२. निजकै श्रीमती ७५ वर्षीया पुर्चीमाया फियाक,
३. छोरी वर्ष ३५ की मनकुमारी फियाक,
४. मृतक बमबहादुर फियाककी नातिनी वर्ष १० की आसिकाकुमारी खजुम

५. सोही स्थान बस्ने ३४ वर्षीय धनराज शेर्माको घरमा,
६. निजकी श्रीमती वर्ष ३५ की जस्मिता फियाक शेर्मा,
७. छोरी १२ वर्षीया युहाना शेर्मा,
८. १० वर्षीया मुना शेर्मा
९. ६ वर्षीया इच्छा शेर्मासमेतको हत्या भएको हो।

घटनाको प्रकृती
धनराज सेर्माको परिवारका सबै सदस्यको क्षतविक्षत शरीर घरभित्रै थुनिएका थिए । बमबहादुरको भने घरकै सिकुवामा र परिवारका अन्य ३ जनाको घरभित्र शव थियो । दुई घरबीचको दूरी करिब एक किमि छ । दुवै घर एकान्तमा रहेकाले घटना हुँदा कसैले पनि थाहा पाएनन् । प्रदेश प्रहरी कार्यालय विराटनगरबाट साँझ पुगेको टोलीले मृतकको शव रहेको स्थानको प्रकृति मुचुल्का तयार गरेको थियो ।

बाच्न सफल बालिकाको भनाई
घटनामा भागेर बचेकी १२ वर्षीया सीता खाजुमले मास्क लगाएको एकजनालाई मात्र देखेको बताएकी थिइन् ।बमबहादुरकी १२ वर्षीया नातिनी सीता खजुमले भने भागेर ज्यान बचाएकी छन् । बमबहादुरकै घरमा रहेकी सीता अभिभावकमाथि खुकुरी प्रहार हुन थालेपछि भागेकी थिइन् । मुख छोपेर आएका एक व्यक्तिले सबैलाई खुकुरी हान्न थालेपछि भाग्दै गर्दा आफूलाई पनि लखेटेको र भाग्ने क्रममा लडेपछि बोजु पर्नेको घरभित्र लुकेको सीताले बताएकि छिन ।सीतालाई हतियार प्रहार गरिएको छैन । भाग्ने क्रममा लडेर हातमा चोट लागेको छ ।