जनकपुर उपमहानगरपालिका-८ स्थित बिहार कुण्ड मन्दिरमा लुटपाट गर्ने उद्धेश्यका साथ आएका ८ जना भारतीयलाई विभिन्न हातहतियार सहित बुधबार राति ९ बजे प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय बिशेष व्युरो, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, संघिय प्रहरी ईकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

 

 

साथै नियन्त्रणमा लिने क्रममा प्रहरीलाई लक्षित गरी गोली फायर गर्दै भाग्न खोजे पश्वात प्रहरीले जवाफी फायर गर्दा रबि मल्लि घाइते भएका छन् । जवाफी कारवाहीमा दुवै तिघ्रा र दाँया खुट्टाको गोली गाँठोमा गोली लागेर घाइते भएका रबि मल्लिको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

भारतबाट नेपालमा आई होटेलमा बसेको र रातिको अँध्यारको फाइदा उठाउँदै चोरी गर्न लागेको विशेष सूचनाका आधारमै प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा भारत बिहार समस्तीपुरका २० वर्षीय साहिल रजक, २४ वर्षीय अजित कुमार सिंह, २७ वर्षीय सुजित कुमार राय, ३० वर्षीय अमित कुमार सिंह, २० वर्षीय अमित कुमार यादव, ३२ वर्षीय रञ्जित कुमार भगत र ३८ वर्षीय पप्पु भन्ने सञ्जय कुमार सुमन, २४ वर्षीय रवि मल्लि डोम रहेका छन्।

उनीहरुका साथबाट मेड इन युएसए १११०–७.६५ एमएम लेखिएको पेस्तोलर त्यसमा लोड भएको २ थान गोली र २ राउन्ड एसएलआरको गोली, एउटा कटुवा पेस्तोल, मोबाइल ३ थान फेला पारेको प्रहरीले जनाएको छ। त्यस्तै भारतीय नं. प्लेटको स्कुटर थान १ र मोटरसाईकल २ थान समेत बरामद भएको प्रहरीले जनाएको छ।